ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१७ वर्ष अघिको अवस्थामा हस्पिटालिटी क्षेत्र

कतै बन्द त कतै स्वैच्छिक अवकाशमार्फत खर्च घटाइँदै, सम्झौता सकिएपछि उचित स्किमलाई सघाउने ट्रेड युनियनको तयारी

२०७७ पौष, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अर्थतन्त्रका अन्य क्षेत्र बिस्तारै पुनरुत्थान हुन थाले पनि सबैभन्दा बढी प्रभावित भएको हस्पिटालिटी क्षेत्र झनै थलिन थालेको छ । होटल क्षेत्र १७ वर्ष अघिको समस्यापूर्ण अवस्थामा पुग्न थालेको यस क्षेत्रका जानकार बताउँछन् ।

लगभग विदेशी पर्यटकमा आश्रित नेपालको पर्यटन क्षेत्र बाह्य पर्यटक नआउँदा र आम्दानीभन्दा खर्च अधिक हुन थालेपछि स्वैच्छिक अवकाश तथा व्यवसाय बन्द गर्ने विकल्पमा जान बाध्य भएका छन् । यसको शुरुआत ५५ वर्षदेखि व्यवसाय शुरू गरेको पुरानो होटेल अन्नपूर्ण र होटेल वज्रले शुरू गरिसकेका छन् ।

अक्टोबर र नोभेम्बरसम्ममा कोभिडविरुद्ध खोप आउने प्रक्षेपण गरिए पनि खोप नआएपछि विदेशी पर्यटक नेपाल आउन सकेनन् । फलतः होटेल व्यवसाय १७ वर्षपछिको अवस्थामा धकेकिने अधिक सम्भावना रहेको होटेलका लगानीकर्ता बताउँछन् ।

नेपालमा द्वन्द्वकालको अन्तिमतिर १७ वर्ष अघि अर्थात् २००४/५ मा काठमाडौंका ३ होटेल उडल्यान्ड, होटेल शेर्पा र ब्लु स्टार होटेल तथा ललितपुरस्थित होटेल नारायणी बन्द भएका थिए । त्यति बेला विदेशी पर्यटक आगमन ५० प्रतिशतले घट्दा ३५ वर्षदेखि सञ्चालित यी होटेल बन्द भएका थिए । ‘ठ्याक्कै अहिलेको जस्तो परिस्थिति हुँदा त्यतिबेला होटेलहरू बन्द भएका थिए,’ शाक्य एस होटल्स ग्रूप तथा एम्बेस्डर होटलका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले भने, ‘होटेल तथा यसमा रहेका रोजगारदाता बच्ने हो भने खर्च कटौतीको विकल्प छैन । होटेलको सबैभन्दा बढी अर्थात् ४० प्रतिशत खर्च नै पारिश्रमिक भुक्तानीमा हुने भएकाले यसैमा बढी कटौती गर्नुपर्ने बाध्यता हुन्छ ।’ बन्दाबन्दीदेखि मध्यपुस (डिसेम्बर)सम्म कर्मचारी तथा श्रमिकहरूलाई पाउने पारिश्रमिकको केही अंश दिँदै आएका होटेलहरू अहिले आफै व्यवसाय नै बन्द गर्ने विकल्पमा जान बाध्य बनेका हुन् । र्‍याडिसन होटेल व्यवस्थापनले पनि ६ देखि ८ महीनासम्म सेवा बन्द गर्ने कि भन्ने विकल्पमा छलफल शुरू गरेको छ । होटेल स्रोतका अनुसार अहिले कर्मचारीहरूलाई स्वैच्छिक अवकाशमा जानका लागि प्रोत्साहन गरिएको छ ।

उक्त होटेल यस्तो अवकाश स्किम रोज्ने कर्मचारीलाई १०० देखि २०० प्रतिशतसम्म थप रकम दिएर बिदा गर्ने योजनामा छ । यसअघि बन्दाबन्दीको अवधिमा पनि होटेलले लिएको यस्तै स्किमबाट ४० जना कर्मचारीले बिदा लिएका थिए । उक्त होटेलमा ३८० जना कर्मचारी तथा कामदार कार्यरत छन् । काठमाडौंको ठमेलमा सञ्चालितमध्ये झन्डै ५० प्रतिशत होटेल बन्द भएको एक व्यवसायीले बताए ।

काठमाडौंका होटेलहरूको रूम अकुपेन्सी लगभग शून्यमा झरेको छ भने ती होटेलका रेस्टुराँहरू पनि न्यूनमात्रामा चलेका छन् । यद्यपि होटेल हायात जस्ता केही होटेलहरूमा भने विवाह पार्टीका कारण केही मात्रामा भए पनि कारोबार भएको देखिन्छ । अहिले श्रमिकको मात्र समस्या नभएको रोजगारदाता पनि कसरी सर्भाइव गर्ने भन्ने अप्ठ्यारो परिस्थितिमा रहेको शाक्यले बताए ।

पुराना, भर्खर सञ्चालनमा आएका र साना तिनै खाले होटेल व्यवसाय अहिले आम्दानीभन्दा खर्च बढी हुने समस्यामा परेकाले बाध्य भएर कर्मचारी कटौती गर्ने वा व्यवसाय बन्द गर्ने मनस्थितिमा पुगेको अर्का एक होटेल व्यवसायीले बताए । उनका अनुसार होटेल सांग्रिला, सोल्टी, हायातलगायत केही होटेल व्यवसाय बन्द नै भन्दा पनि कर्मचारी तथा श्रमिकहरूलाई स्वैच्छिक अवकाश दिएर बिदा गर्ने तर १० प्रतिशतजति मर्मतसम्भार तथा रेस्टुराँका कर्मचारीलाई राखेर अगाडि बढ्ने विकल्पमा रहेका छन् ।

होटेल व्यवसायी तथा लगानीकर्ताले कर्मचारीलाई राख्न सक्दैनन् भने उचित स्किम ल्याएमा त्यसलाई सघाउने होटेल सम्बद्ध मजदूर युनियनहरूको भनाइ छ । अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदूर संघका केन्द्रीय महासचिव मुक्ति दाहालले त्यस्ता स्किम ल्याएमा समर्थन गर्ने बताए । उनले भने, ‘नियतवश होटेल बन्द गरेको पाइएमा पुनः होटेल सञ्चालन गराउन दबाब दिन्छौं । तर, समस्या नै परेको देखिए उनीहरूले ल्याएको स्किमलाई सघाउँछाैं ।’

अहिले नै विदेशी पर्यटक आएर व्यवसाय सहज हुने अवस्था नरहेकाले अब कर्मचारीलाई आलोपालो काममा लगाउने कि, बिदामा बसेकालाई ५ हजारदेखि १० हजारसम्म पारिश्रमिक दिने वा स्किममा जाने भन्ने विषयमा नेगोसिएशन भइरहेको उनको भनाइ छ । त्यसो त अहिले होटेलहरूले गत असार २८ गते भएको सम्झौताअनुसार पारिश्रमिक दिएका छन् । डिसेम्बर अन्तिमसम्म कार्यान्वयन हुने यो योजना सकिँदै गर्दा होटेल बन्द तथा कर्मचारीलाई स्किम दिएर बिदा गर्ने योजनामा व्यवसायी देखिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)