धनगढी । कैलालीमा १० हजार उद्योग दर्ता भएको पाइएको छ । जिल्लामा हरेक वर्ष उद्योग दर्ता क्रम बढ्दो छ । अधिकृत पूँजी रू. ५ करोडसम्म लगानी प्रस्ताव गरेर अहिलेसम्म विभिन्न प्रकृतिका गरी १० हजार उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय, धनगढीको तथ्यांकले देखाएको छ । दर्ता भएको उद्योगको लगानी प्रस्ताव रू. १४ अर्ब ७२ करोड रहेको कार्यालयका उद्योग अधिकृत नवराज भट्टले जानकारी गराए ।
जिल्लामा आर्थिक वर्ष (आव) २०७५/७६ मा १ हजार ८३४, २०७६/७७ मा १ हजार १७४ र चालू आवको मङ्सिर तेस्रो सातासम्ममा २ हजार उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये ९० प्रतिशत सञ्चालनमा रहेको पाइएको छ । ‘यी उद्योगहरूले नियमित नवीकरण र आन्तरिक राजस्व कार्यालयमा कर विवरण बुझाएको आधारमा ९० प्रतिशत उद्योग सञ्चालनमा रहेको बुझ्न सकिन्छ,’ उद्योग अधिकृत भट्टले भने । ६३ हजार ३४३ रोजगारी प्रस्ताव गरी कार्यालयमा उक्त संख्यामा उद्योग दर्ता भएको अभिलेख छ । दर्ता भएका उद्योगमा ९५ प्रतिशत स्वामित्व पुरुषको रहेको पाइएको छ । एकल वा साझेदारी विभिन्न प्रकृतिका उद्योगमा गरी २२ प्रतिशत महिला उद्योगका मालिक रहेको पाइएको उद्योग अधिकृत भट्टले बताए । गत आवमा ७६ ओटा उद्योगको दर्ता खारेजी गरिएको छ भने चालू आवको हालसम्म ५० ओटा उद्योगको दर्ता खारेजी गरिएको छ । स्वैच्छिक रूपमा आफ्नो उद्योगको दर्ता खारेजीको निवेदन दिएपछि कार्यालयले ती उद्योगको दर्ता खारेजी गर्दै आएको बताएको छ । घरेलु तथा साना उद्योग कार्यालयको पछिल्लो तथ्यांक अनुसार जिल्लाभित्र कृषि तथा वन पैदावारमा आधारित ४ हजार २२०, उत्पादनमूलक ३५८, पर्यटनसम्बन्धी २ हजार ५७८ र निर्माण उद्योग ६२ ओटा दर्ता भएका छन् ।