ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुंगा–नौबीसे सुरुङमार्गमा ‘ब्रेक्थ्रु’

२०७७ पौष, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाको सुरुङ (टनेल) खन्ने काममा ब्रेक्थ्रु भएको छ । मंगलवार आयोजनाले टनेल खन्ने काम शुरू गरेपछि १४ महीनाअघि शिलान्यास भएको सुरुङमार्गमा ब्रेक्थ्रु भएको हो । सुरुङमार्गका एप्रोच वेलगायत निर्माण भने यसअघि नै शुरू भइसकेको छ ।

सडक सञ्जालमा पहिलो मानिएको नागढुंगा–नौबीसे सुरुङमार्गको मुख्य काम शुरू भए पनि विभिन्न राष्ट्रिय राजमार्गहरूमा निर्माण गर्ने भनिएका तथा द्विपक्षीय सरकारबीच सहमति भएका अन्य सुरुङमार्ग आयोजनाहरू भने अध्ययनमा मात्रै सीमित देखिएका छन् । यो आयोजनाबाहेक सिद्धबाबा सुरुङमार्ग निर्माणको प्रक्रिया पनि केही अघि बढेको छ ।
सडक विभागका अनुसार हाल सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि बिडिङ–डकुमेन्ट स्वीकृतिका लागि सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) मा २ महीनाअघि पठाइएको छ । पीपीएमओबाट स्वीकृत नहुँदा टेन्डर आह्वान हुन सकेको छैन । विभागका प्रवक्ता शिवहरि सापकोटाले बिडिङ–डकुमेन्ट स्वीकृत भएपछि मात्रै टेन्डर आह्वान गरिने र चालू आर्थिक वर्षमै टेन्डर निस्कने सम्भावना रहेको बताए ।

यस सुरुङमार्गका लागि अर्थ मन्त्रालयले समेत स्रोत सुनिश्चित गरिसकेको छ । तर, अन्य राजमार्गहरूमा बनाउने भनिएका सुरुङमार्गका आयोजना भने सामान्य अध्ययन तथा सम्भाव्यता अध्ययनमै सीमित रहेका छन् ।

नागढुंगा–नौबीसे सुरुङमार्गमा काम शुरू भएकाले अन्य आयोजना अघि बढाउन प्रोत्साहित गरे पनि ठूलो लगानी आवश्यक पर्ने र अन्य पक्ष व्यवस्थापनमा चुनौती रहेको सापकोटाको भनाइ छ ।

सरकारले विभिन्न समयका नीति तथा कार्यक्रम र बजेट वक्तव्यमै सुरुङमार्ग निर्माणलाई उच्च प्राथमिकता दिँदै आएको देखिए पनि स्रोतको सुनिश्चितता नभएको र कार्यान्वयन पक्ष फितलो हुँदा अध्ययनमै सीमित देखिका छन् ।

आर्थिक वर्ष (आव) २०७५/७६ को ‘नीति तथा कार्यक्रम’ र बजेट कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ वर्षे रणनीति नै बनाएको थियो । सोही अनुसार आव २०७९/८० सम्ममा विभिन्न सात स्थानमा गरी कुल २० किलोमीटर (किमी) सुरुङमार्ग निर्माण शुरू गरिने लक्ष्य मन्त्रालयको थियो ।

रणनीतिअनुसार नागढुंगा–नौबीसे सुरुङमार्गले भने गति लिएको छ । टोखा–छहरे, कोटेश्वर–जडीबुटी, थानकोट–चित्लाङ, खुर्काेट–चियाबारी, सिद्धबाबा र खुट्टिया–दिपायल तथा नेपाल र चीन सरकारबीच सम्झौता भएका सुरुङमार्ग आयोजना भने अध्ययनमै सीमित छन् ।

प्राथमिकताप्राप्त, लगानी सुनिश्चित भएको, राम्रो डिजाइन र निर्माण कम्पनी, साइट क्लियरजस्ता समस्या कम भएकाले नागढुंगा–नौबीसे सुरुङमार्गले गति लिन सकेको आयोजना प्रमुख नरेशमान शाक्य बताउँछन् । उनले टनेल खन्ने काम अबको १४ महीनाभित्र सम्पन्न गरिने बताए ।

कुल ५ दशमलव ७ किलोमीटर (किमी) को एप्रोच मार्गसहितको सडकमा सुरुङमार्ग भने २ दशमलव ६८ किमी हुनेछ । उनका अनुसार अहिले नियमित रूपमा टनेल खन्ने काम गरिए पनि अंग्रेजी नयाँ वर्ष लगत्तै २४ घण्टा नै टनेल खनिनेछ । ‘यसअनुसार आयोजना स्थलमा कार्यरत श्रमिक तथा कर्मचारीलाई विभिन्न सिफ्टमा विभाजन गरेर २४ घण्टा नै काम गर्ने वातावरण बनाउँदै छौं,’ शाक्यले भने, ‘त्यस अवधिमा टनेल खन्ने काम सके पनि फिनिसिङ तथा अन्य सहायक काम सम्पन्न गर्न भने सम्झौता भएअनुसार नै ४२ महीना लाग्नेछ ।’

आयोजनाको कुल लागत रू. २२ अर्ब छ भने जापानले ऋण सहयोग दिएको छ । यो सुरुङमार्ग गतवर्ष कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)