पुस ९, पर्वत । कृषकलाई व्यावसायिक तरकारी उत्पादनमा प्रेरित गर्दै फलेवास नगरपालिकाले ‘टनेल हाम्रो, उत्पादन तपाईंको’ कार्यक्रम शुरू गरेको छ ।
नगरपालिकाले तरकारी खेतीमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । किसानलाई सहुलियत दरमा माग अनुसार टनेल दिने र उत्पादन बढाउन प्रेरित गर्न उक्त शुरू गरेको नगरप्रमुख पदमपाणि शर्माले बताए।
ठाउँ अनुसार फरक फरक तरकारी उत्पादन गर्न किसानलाई अनुदानमा टनेल वितरण गर्न थालिएको जानकारी उनले दिए । ‘टनेल घर बनाएर त्यसको फोटो वडा कार्यालयमा बुझाएपछि टनेल दिने कार्यविधि बनाएका छौं,’ नगरप्रमुख शर्माले भने, ‘टनेलमा खेती गर्न किसानहरु आकर्षित भैरहेका छन् ।’
नगरपालिकाका ११ ओटै वडाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदानमूलक कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तर्गत नगरपालिकाले स्थानीय किसानलाई एक हजार ५०० बराबरको लागत साझेदारी गर्ने भएको छ । किसानले प्रतिटनेलमा एक हजार ५०० रुपैयाँ अनुदान पाउने व्यवस्था गरिएको नगरप्रमुख शर्माले जानकारी दिए । कृषि शाखाका प्रमुख सन्तोष सुबेदीले किसानहरु बाट टनेलको माग संकलनको काम शुरु भएको बताए ।
उनले बस्तीबस्तीमा पुगेर माटो परिक्षण र किसानहरुको रुची बुझेर माग संकलन भइरहेको जानकारी दिए । फलेवास नगरपालिका ३ बिरौटाका लक्ष्मीदत्त भुसालले टनेलमा तरकारी खेती गर्दा फाइदा हुने सुनाए । उनले नगरले टनेल दिने भएपछि किसानलाई उत्पादनमा लाग्न हौसला मिल्ने बताएका छन् । किसानलाई व्यावसायिक बनाउन टनेल संगै बजारीकरणमा पनि सहयोग गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रमबाट आर्थिक अभावमा लगानी गर्न नसकेर बेरोजगार बनेका र विदेशवाट फर्किएका युवायुवती प्रत्यक्ष रुपमा लाभान्विन हुने नगरपालिकाको विश्वास रहेको छ । नगरपालिकाले कृषि फार्म सञ्चालन गर्न इच्छुक किसान तथा पशु फार्म सञ्चालन गर्न इच्छुक किसानबाट आवेदन माग गरेको हो । फार्मका लागि यस वर्ष १० लाख रुपैयाँ विनियोजन भएको छ भने कृषि फार्मका लागि पनि १० लाख रुपैयाँ विनियोजन भएको छ ।
नगरपालिकाले हरेक फार्मका लागि ५० प्रतिशतसम्म लागत साझेदारी गर्ने जनाएको छ । फार्म सञ्चालन गर्नका लागि नगरपालिकाले निर्धारण गरेअनुसारको क्षेत्रफल वा संख्या अनुसारको फर्म स्थापना गर्नुपर्ने बताइएको छ । यो कार्यक्रममा किसान समूह, कृषि सहकारी र निजी फार्मसमेत सहभागी हुनेसक्ने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।