ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रोकर कमिशन घटाउने तयारी

२०७७ पौष, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अबको १ साताभित्र ब्रोकर कमिशन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने भएको छ ।

बिहीवार बोर्डले आयोजना गरेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरूको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यी दुई विषय १ साताभित्र टुंग्याउने गरी काम भइरहेको जानकारी दिए । उनले अंग्रेजी नयाँ वर्ष २०२१ को शुरुआतसँगै ब्रोकर कमिशन घटाएर लैजाने तयारी भएको बताए ।

ब्रोकर कमिशनका विषयमा बोर्डले धेरै अध्ययन गरी एक मोडालिटी तयार गरिसकेको र अब दर मात्र तय गर्न बाँकी रहेको अध्यक्ष ढुंगानाको भनाइ छ । उनले भने, ‘हालको स्लाब घटाउने या बढाउने हो कि ? अहिले ब्रोकर कमिशनबाटै बजार सम्बद्ध निकायहरूले बाँडेर कमिशन लिइरहेका छन् । त्यसलाई छुट्टाछुट्टै बनाउने हो कि ? यस विषयमा विचार गरिनेछ ।’

शेयरबजारले पछिल्लो समय गति लिइरहेको छ । प्राथमिकसँगै दोस्रो बजारमा पनि लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा नियामकले सोचेर निर्णय गर्नुपर्ने उनको कथन छ ।

हाल धितोपत्र दोस्रो बजारमा कारोबार गर्दा शून्य दशमलव ४० प्रतिशतदेखि शून्य दशमलव ६० प्रतिशतसम्म कमिशन तिर्नुपर्छ । लगानीकर्ताहरूले रू. ५० हजारसम्मको शेयर किनबेच गर्दा शून्य दशमलव ६० प्रतिशत र रू. ५० हजारदेखि रू. ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ५५ प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै रू. ५ लाखदेखि रू. २० लाखसम्मको कारोबारमा शून्य दशमलव ५० प्रतिशत, रू. २० लाखदेखि रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा शून्य दशमलव ४० प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था छ । ब्रोकर कमिशनबाट नेप्सेले २० प्रतिशत लैजान्छ भने बोर्डलाई लगानीकर्ताहरूले थप शून्य दशमलव शून्य १५ प्रतिशत शुल्क तिर्नुपर्छ ।

लामो समयदेखि लाइसेन्सको पर्खाइमा रहेको नागरिक स्टक डिलरले पनि यसै महीनाभित्र लाइसेन्स पाउने भएको छ । बोर्डका अध्यक्ष ढुंगानाले स्टक डिलरले सबै संरचना तयार गरिसकेकाले यसै साताभित्र लाइसेन्स प्रदान गर्ने बताएका हुन् । पूँजीबजार विकास र विस्तारका लागि प्राविधिक सुधारदेखि नीतिगत सुधारलाई ध्यानमा राखी अघि बढेको बोर्डले बैंक इन्ट्रग्रेशन, ब्रोकरको टीएमएसको सुधार र कम्पनीहरूले बोर्डलाई रिपोर्टिङ गर्ने कागजी प्रक्रियाको अन्त्य गर्ने प्रयासस्वरूप इलेक्ट्रोनिक रिपोर्टिङ सिस्टमको विकास गरिसकेको समेत अध्यक्ष ढुंगानाले जानकारी दिए ।

बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा समेटिएका एक चौथाइ कार्यक्रम सम्पन्न गरिसकेको दाबी गर्दै अध्यक्ष ढुंगानाले लगानीकर्ताहरूले धेरै ठाउँमा केवाईसी भर्नुपर्ने झन्झटको अन्त्य गर्न ई–केवाईसीका लागि सीडीएससीलाई कार्यविधि बनाउन जिम्मा दिएको समेत बताए ।

बोर्डले ब्रोकर कमिशन घटाउने अन्तिम तयारी गरिरहँदा ब्रोकरहरूले भने विवादित नबन्ने गरी निर्णय गर्न भनेका छन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले ब्रोकरहरूको कमिशन पहिला छुट्ट्याउनुपर्ने बताए । कमिशन मात्र आम्दानीको स्रोत रहेको ब्रोकरहरूका लागि आम्दानीको अन्य विकल्प दिनुपर्ने पनि रानाभाटको माग छ । ब्रोकर कमिशनको विषयलाई लामो समय उठान गर्दा बजार प्रभावित बन्ने भन्दै उनले विवादित नहुने र सबैले स्वीकार्ने हिसाबमा टुंग्याउनुपर्ने उनको भनाइ छ ।

धितोपत्र बजार र लगानीकर्ताहरूबीच मध्यस्थकर्ताका रूपमा सेवा दिइरहेको ब्रोकरहरूले एडभाइजरी सर्भिसका साथै आप्mनै ब्रोकर कम्पनीबाट कारोबार गर्न पाउनुपर्ने व्यवस्था गर्न उनले माग गरे । ब्रोकरहरूको एकमात्र आम्दानीको स्रोत कमिशन घटाउने विषयमा आपूmहरूको सल्लाह र सुझाव प्रत्यक्ष रूपमा लिनुपर्ने मागसमेत उनको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)