ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओली समूहद्वारा प्रचण्डमाथि कारबाही

२०७७ पौष, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । पार्टी र सरकार सञ्चालनका विषयमा चरम विवाद भएर फुटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र एक पक्षले अर्को पक्षलाई कारबाही गर्न थालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरी असंवैधाानिक तथा अलोकतान्त्रिक काम गरेको भन्दै पार्टी अध्यक्ष र संसदीय दलबाट नेकपाकै प्रचण्ड–नेपाल समूहले ओलीलाई कारबाही गरेलगत्तै ओली समूहले कार्यकारी अध्यक्ष प्रचण्डलाई कारबाही गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको ओलीे समूहको बैठकले प्रचण्डले पार्टीले दिएको जिम्मेवारी पूरा नगरेको भन्दै कार्यकारी अध्यक्षबाट हटाएको छ । कुन नेकपा आधिकारिक हुने भन्ने निक्यौल बाँकी रहँदै गर्दा नेकपाको दुवै समूह एक अर्को पक्षलाई कारबाही गर्दै आपूmहरू नै आधिकारिक भएको दाबी गर्दै आएका छन् । ओली समूहको बैठकले पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी प्रचण्डलाई दिएको भए पनि उनले एकताको काममा कुनै ध्यान नदिएको भन्दै कारबाही गरिएको जानकारी दिएको छ ।

यसअघि, प्रचण्ड–नेपाल नेतृत्वको ओलीले प्रतिनिधिसभा भंग गरेको कदमलाई संवैधानिक ‘कू’ को संज्ञा दिँदै उनलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो ।

सो समूहले ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो ।
 
ओली पक्षको बैठकले पार्टी प्रदेश संयोजकहरूको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरू तोकेको छ । यसअनुसार प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौं उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ । त्यस्तै, जनसङ्गठन संयोजकको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले बताए ।

प्रचण्ड–नेपाल समूहद्वारा संघर्षको घोषणा
नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी संघर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध संघर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टीविरुद्ध भइरहेका सबै प्रकारको षड्यन्त्र असफल पारेर एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातर्पm अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनलाई जनताको ठूलो संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको कदम भएको बताए ।

बैठकले यही पुस १० गते पार्टी केन्द्रीय कमिटीका सदस्य र पार्टीका सांसद–पूर्वसांसदको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने, पार्टी अध्यक्षद्वयबाट शुक्रवार नै पत्रकारसँग अन्तरक्रिया गर्ने र पुस ११ गते प्रदेश कार्यालयको संयोजनमा विभिन्न कार्यक्रम र ७ दिनभित्र प्रदेश कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कांग्रेसले पुस १३ मा विरोध प्रदर्शन गर्ने
नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध पुस १३ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ । बिहीवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरिएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)