काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्म न्यून रहेको सुनको आयात मङ्सिरसम्म आउँदा भने बढेको छ । चालू आवको पहिलो त्रैमास अर्थात् असोजसम्म १०० केजी मात्र सुन आयात भएको थियो । तर, मङ्सिरसम्म आउँदा १ हजार केजीभन्दा बढी सुन आयात भइसकेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार चालू आवको पहिलो ५ महीनामा १ हजार ५० केजी सुन आयात भएको छ । कात्तिक शुरू भएदेखि सुनको आयात बढेको तथ्यांकले देखाउँछ । दशैं तिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको सिजन भएका कारण उक्त समय सुनको आयात बढेको हो ।
कोरोना भाइरसका कारण मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्प जस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो । तर, पछिल्लो समय विवाहको सिजनका कारण मूल्य बढी भए पनि सुनको माग बढेपछि आयात पनि बढाइएको व्यवसायीहरूको भनाइ छ । तथ्यांकअनुसार कात्तिकमा ४०० र मङ्सिरमा ५५० केजी सुन आयात भएको छ ।
नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आवश्यक समन्वयन गर्दै आएको छ । महासंघले बजारको मागअनुसार बैंकहरूलाई सुन आयात गर्न सिफारिश गर्दै आएको छ ।
दशैंतिहार र विवाहजस्ता कार्यक्रममा सुनका गरगहना लगाउने, आदानप्रदान गर्ने प्रचलन छ । फलस्वरूप यो समयमा सुनको कारोबार बढी हुने गर्छ । चालू आवको कात्तिक र मङ्सिरमा पनि यसैको कारणले कारोबार बढ्दा आयात पनि बढाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
कात्तिकसम्म भएको सुनको आयात गत आवको सोही अवधिको भन्दा कम हो । गत आवको सोही अवधिमा १ हजार २५० केजी सुन आयात भएको थियो । अहिले त्योभन्दा १६ प्रतिशत अर्थात् २०० केजी कम सुन आयात भएको छ ।
पुसदेखि सुनको आयात कम हुने उनले बताए । ‘अब यो वर्ष विवाहको लगन छैन, अहिलेदेखि नै माग शून्यमा झरिसकेको छ । त्यसअनुसार अब सुनको आयात कम हुन्छ,’ उनले भने, ‘आगामी वैशाखमा हुने विवाहको सिजनलाई लक्षित गरेर चैतमा भने बढी मात्रामा सुन आयात हुन सक्छ ।’
परिमाणका आधारमा सुनको आयात घटे पनि रकम भने बढेको छ । रकमको आधारमा सुनको आयात १० दशमलव ८७ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आवको ५ महीनामा रू. ६ अर्ब ७९ करोडको सुन आयात भएको थियो । चालू आवमा भने रू. ७ अर्ब ५३ करोडको सुन आयात भएको छ । मूल्य अत्यधिक मात्रामा बढ्दा कम परिमाणका सुन आयात भए पनि मूल्य भने बढी परेको हो । समीक्षा अवधिमा टर्कीबाट रू. १ अर्ब ४१ करोड बराबरको २०० केजी सुन आयात भएको छ । यूएईबाट भने रू. ६ अर्ब १२ करोड बराबरको ८५० केजी सुन आयात भएको विभागको भनाइ छ ।
गतवर्षको असारसम्म सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँको हाराहारीमा थियो । अमेरिका र चीनको व्यापार युद्धलगायत कारण त्यो बढेर गत आवमा ८० हजार रुपैयाँको हाराहारीमा पुगेको थियो । कोरोना भाइरसको प्रभावले सुनको मूल्य बढेर १ लाख ३ हजार ५०० सम्म पुगेको थियो । अहिले भने सुनको कारोबार प्रतितोला ९४ हजार रुपैयाँको हाराहारीमा भइरहेको छ । यसरी मूल्य बढेपछि नेपाली बजारमा सुनको कारोबारमा ठूलो मात्रामा उतारचढाव आएको हो ।