ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्दै घर कर्जाको माग

बैंकको स्किम/ब्याज प्रतिस्पर्धामा ग्राहकलाई छनोटको

२०७७ पौष, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । सुन्दर घरको परिकल्पना गरेका व्यक्तिसँग निरन्तर आम्दानीको स्रोत छ तर घर बनाउन एकमुष्ट रकमको खाँचो परेको छ भने यसको गर्जो टार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गर्दै आएका छन् ।

घर कर्जाका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकको नियममा टेकेर बैंक तथा वित्तीय संस्थाहरूले कर्जा तथा लगानी कार्यविधि बनाएर ग्राहकलाई घर कर्जा दिँदै आएका छन् । अहिले घर बनाउने मौसम भएकाले पनि बैंकहरूबाट घर कर्जाको माग बढ्न थालेको बैंकरहरू बताउँछन् । अहिले बैंकहरूबीच प्रतिस्पर्धामा कर्जा प्रवाह भइरहेको छ ।

पछिल्लो समय गत कात्तिकसम्म व्यक्तिगत तथा व्यावसायिक प्रकृतिका घर कर्जामा बैंक तथा वित्तीय संस्थाबाट ४ खर्ब २० अर्ब ९७ करोड ३८ लाख रुपैयाँ बराबरको प्रवाह भएको छ, जुन कुल कर्जा प्रवाहको १३ दशमलव ८१ प्रतिशत हो ।

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट रु. ३० खर्ब ४८ अर्ब ३६ करोड २० लाख रुपैयाँ कुल कर्जा प्रवाह भएको छ ।

घर कर्जाअन्तर्गत व्यावसायिकभन्दा व्यक्तिगतमा बढी आकर्षण छ । राष्ट्र बैंकको तथ्यांकअनुसार प्रवाह भएका घर कर्जामध्ये व्यक्तिगत साढे १ करोड रुपैयाँसम्मका व्यक्तिगत आवासीय घर कर्जा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको प्रवाह भएको छ ।

यसैगरी व्यावसायिक प्रयोजनका लागि रियल सेक्टर शीर्षकअन्तर्गत १ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह भएको छ ।

केही समयअघिसम्म कोरोना महामारीले ठप्प रहेको कर्जा कारोबार पछिल्लो समय बढेर घर कर्जामा समेत माग आउन थालेको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले व्यक्तिगत र व्यावसायिक दुवै खाले कर्जा क्रमशः जान थालेको बताए ।

‘अहिले सिमेन्टको मूल्य ठीकै छ । रडको भाउ बढ्न थालेको छ । यसका बाबजुद पनि घर कर्जा एकदमै बढेको छ । अहिले निर्माण कार्य बढ्ने सिजन भएकाले पनि कर्जा प्रवाहमा सुधार भएको हो,’ उनले भने ।

विगतका वर्षभन्दा यस वर्ष भने कर्जा आवेदन दिन अधिकांश बैंकले अनलाइन सुविधा पनि दिएका छन् । यसबीच कर्जा प्रवाहमा बैंकहरूको एकआपसमा ब्याजदर तथा स्किममा प्रतिस्पर्धा चलेको छ ।

बैंकहरूले पनि कर्जा प्रवाहका लागि आकर्षक स्किमसमेत ल्याए । यस्तो बैंकको प्रतिस्पर्धाले ग्राहकलाई छनोट गर्ने अवसर  जुटेको छ । केही बैंकहरूले आधार दरभन्दा कम ब्याजमा कर्जासमेत प्रवाह गरेका थिए ।

यसै क्रममा एनआईसी एशिया बैंकले घर कर्जा विशेष योजना ल्यायो । ‘एनआईसी एशिया बैंकको दसैं–तिहार उपहार, घर कर्जामा छुटैछुटको बहार’ नाम दिएर विशेष योजना ल्याएको हो ।

नेपालमै पहिलो पटक सुलभ रूपमा घर तथा जग्गा खरिद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न टेवा पुर्‍याउने उद्देश्यले नयाँ योजना अघि सारेको बैंकको भनाइ छ ।  

योजनाअन्तर्गत शून्य दशमलव ९ प्रतिशत प्रतिमहिनाको ब्याज दरमा घर कर्जा उपलब्ध गराइने तथा ग्राहकले सम्पूर्ण कागजात पेस गरेको ३ दिनभित्रै घर कर्जासम्बन्धी निर्णय भइसक्ने व्यवस्था छ ।

एनआईसी एशिया बैंकका अनुसार यो योजनाअन्तर्गत घर कर्जा लिँदा ब्याजदरबाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सूचनालगायतका कुनै पनि दस्तुर शुल्क लिने गरेको छैन ।

बैंकले नयाँ घर निर्माण गर्न, घरजग्गा खरिद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्नसमेत उक्त कर्जा उपलब्ध गराइने बताएको छ । बैंकले २ वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने सर्तमा  घर कर्जा अधिकतम २५ वर्षसम्मका लागि दिँदै आएको छ ।

अहिले घर कर्जा छिटो र सहज तरिकाले पाउने व्यवस्थासमेत गरेको बैंकहरू बताउँछन् । ग्राहकले आवश्यक कागजात सबै नियमअनुसार पूरा गरे छिट्टै कर्जा दिने व्यवस्था गरेको एनएमबी बैंकले बताएको छ ।

बैंकका बिजनेस एन्ड स्ट्राटेजी अफिसर सुदेश उपाध्यायका अनुसार कोभिडको सुरुआती अवस्थाभन्दा तिहारपछि कर्जा माग बढी आएको छ । सबैभन्दा बढी अर्थात् ३५ वर्षसम्मको घर कर्जा प्रवाह गर्ने पहलो बैंक भएको दाबी गर्दै उनले पछिल्लो समय ७ दशमलव ९९ प्रतिशत ब्याज दरमा घर कर्जा दिँदै आएको बताए ।

एनएमबी बैंकले भने व्यक्तिगत घर कर्जामा केन्द्रित भएर कर्जा प्रवाह गरिरहेको उनको भनाइ छ ।

‘घर कर्जा लिन कठिनाइ छैन तर ग्राहकले आवश्यक डकुमेन्ट भने पूरा गर्नुपर्छ । यसो गरे छिटो कर्जा दिने गरेका छौं । हामी ३५ वर्षे घर कर्जा लञ्च गर्ने पहिलो बैंक हौं । यसैले पनि हाम्रोमा यस्तो कर्जा लिने आकर्षण छ,’ उनले भने ।

अहिले घर बनाउने मौसम पनि भएकाले यसमा बढी कर्जा गएको उनको दाबी छ । राष्ट्र बैंकले यस वर्षदेखि व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा स्थिर ब्याजदरको नीति लागू गरेपछि बैंकहरूले  यसलाई अपनाएका छन् ।

एनएमबी बैंकले १ देखि ५ वर्षसम्मको स्थिर ब्याजदरका घर कर्जासमेत अफर गरेको उपाध्यायले बताए । ‘योसँगै बैंकले घर कर्जामा सुरुमा थोरै किस्ता तिर्ने र पछि आम्दानी बढ्दै गएपछि किस्ता  रकम पनि बढाउँदै जाने व्यवस्था  छ ।  ग्राहकले इच्छा र आवश्यकताअनुसार यस्तो सुविधा उपयोग गर्न सक्छन्,’ उनले भने ।

बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति आएपछि बैंकरहरू कर्जा प्रवाहमा थप जोड दिइरहेका छन् । अधिक तरलताले कम ब्याजमा कर्जा दिने प्रतिस्पर्धा पनि चलेको छ ।
यसले गर्दा पनि ग्राहकलाई कम ब्याजमा कर्जा पाउने अवसर जुटेको छ । बर्सेनि एउटै ब्याजदरमा कर्जा लिन पनि अहिले स्थिर ब्याजदर लागू भएको छ । तर, अहिले सस्तो ब्याजमा कर्जा पाउने अवस्थामा महँगो स्थिर ब्याजदरको कर्जामा ग्राहक आकर्षण भने खासै नभएको बैंकरहरू बताउँछन् ।

प्रत्येक वर्ष घर कर्जा प्रवाहको वृद्धि दर बढिरहेको छ । विगत पाँच आर्थिक वर्षलाई हेर्दा प्रत्येक वर्ष अर्बौं रुपैयाँमा यस्तो कर्जाको माग भएको छ । पाँच वर्षअघिको तुलनामा चालू आर्थिक वर्षको कात्तिकसम्म आइपुग्दा यस्तो कर्जा प्रवाहको वृद्धि झन्डै दोब्बर हाराहारी भएको तथ्यांकले देखाउँछ ।

गत आव ०७३/७४ मा कुल घर कर्जा रु. साढे २ खर्ब रुपैयाँ बराबरको प्रवाह भएको थियो । यसैगरी आव ०७४/७५ मा रु. २ खर्ब ९३ अर्ब,  आव ०७५/७६ मा रु. ३ खर्ब ४३ अर्ब, आव ०७६/७७ मा ३ खर्ब ८४ अर्ब र आव ०७७/७८ मा ४ खर्ब १६ अर्ब रुपैयाँ प्रवाह भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)