ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठ संकलन र घाटगद्दीमा रोक : काठ आयातलाई प्रोत्साहन

२०७७ पौष, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । वन विनाश नहोस् भनेर सरकारले गत जेठ महीनादेखि जंगलबाट कुनै पनि किसिमको काठ संकलन तथा विक्री गर्न रोक लगाएपछि त्यसको असर काठको बजारमा देखिएको छ । नेपाली बजारमा काठको मूल्य प्रतिक्यूविक फिट ७०० ले बढेको छ भने मलेशिया, थाइल्यान्ड र भारतबाट यो अवधिमा विराटनगर नाकाबाट मात्रै ४० करोडको काठ भित्रिएको छ ।

संघीय सरकारले लगाएको प्रतिबन्ध फुकुवा नहुँदा नेपाली बजारमा काठको अभाव हुन थालेपछि मूल्यसमेत बढेको हो । रेग्मी समिलका सञ्चालक कुसुम रेग्मी सरकारले वनबाट काठको संकलन, उत्पादन र विक्री वितरणमा रोक लगाएपछि विदेशी काठमा निर्भर हुनुपरेको बताए । उनका अनुसार पछिल्लो समय काठको मूल्य सखुवाको प्रतिक्यूविक फिटमा ७ सयले बढेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार ७ महीनामा भारत, मलेशिया र थाइल्यान्डबाट ४० करोड बराबरको काठ भित्रिएको छ । विराटनगर भन्सार नाका भएर ८ लाख ५५ हजार ९०७ स्क्वायर फुट काठ आयात भएको छ । तेस्रो मुलुकबाट खासगरी मलेशियाबाट सालको काठ बढी आयात भइरहेको छ ।

वैशाख महीनादेखि असारसम्म नेपालमा पूर्ण बन्दाबन्दीको अवस्था रहेको भए पनि त्यस अवधिमा करीब १५ करोड रुपैयाँ बराबरको काठ आयात भएको छ । केन्द्रीय अनुगमन टोलीले अनुगमन गरी जंगलबाट सखुवाको काठ निकाल्न नदिएपछि आपूmहरू मलेशियाको काठमा निर्भर हुनु परेको गुनासो सुनसरीको इनरुवामा रहेको राधाकृष्ण काठमिलका सञ्चालक प्रदीप कोइरालाले गुनासो गरे । उनका अनुसार सरकारले कुकाठ मात्र निकाल्न दिने र सखुवाको काठ जंगलमै सडाउने नीति लिएपछि समस्या निम्तिएको उनले बताए ।
विराटनगरको बजारमा प्रतिक्युविक फिट ४ हजार ८ सयका दरले पाइने सखुवा काठको मूल्य अहिले ५ हजार ५ सय क्यूविक फिट पुगेको छ । भारतका काठ बजारमा सालको काठको मूल्य प्रतिक्युविक २ हजारदेखि २ हजार ८ सय र बंगलादेशमा २ हजार ५ सय रहेको उनले बताए ।

जिल्ला वन कार्यालय मोरङका प्रमुख अनिरुद्धकुमार शाहका अनुसार नेपालमा घर निर्माणलगायतमा सखुवाको काठ नै रोज्ने चलन र अन्य मुलुकबाट आयात गरिएको काठभन्दा यहाँको सखुवाको गुणस्तर राम्रो भएकाले सखुवाको खपत अन्य कुकाठको तुलनामा बढी रहेको बताए । जिल्ला वन कार्यालय मोरङका अनुसार गत जेठ १५ गतेसम्म मोरङको जंगलमा वार्षिक कार्ययोजनाअन्तर्गत कटान भएका ६० हजार क्युविक फुट सालका काठ संकलन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार जंगलबाट सालका काठ संकलन र घाटगद्दी गर्न रोक लगाएका कारण काठको आन्तरिक उत्पादन ठप्प भएको हो । यसले बजारमा काठको माग र जंगलमा चोरी तस्करीको चाप एकैचोटि बढेको र लामो समयसम्म एकनास रहेको मूल्य बढ्न थालेको व्यवसायीले बताएका छन् ।

वन अधिकारीका अनुसार केन्द्रबाट आएको अनुगमन टोलीले अनुगमन गर्दा जंगलका ढलापडा रूखहरू छाट्ने काम भइरहेको थियो । अनुगमन समितिले त्यसलाई अन्यथा ठानेर जेठ १५ गते मन्त्रिपरिषद्बाटै काठ संकलन र विक्री वितरणमा रोक लगाएको हो ।

मन्त्रिपरिषदले काठ कटानी, संकलन र ढुवानी गर्न समेत रोक लगाएपछि संकट उत्पन्न भएको थियो । तर, त्यो निर्णयलाई पुनः जेठ ३२ गते परिमार्जन गर्दै सालका काठबाहेक अन्य कुकाठको संकलन र घाटगद्दी गर्न फुकुवा गरेको थियो । असारदेखि वर्षा शुरू भएको कारण वन कर्मचारी र प्राविधिकहरू जंगलभित्र पस्न नसेकेको कारण काटिएका र लडेका काठ जंगलमै अलपत्र परेका छन् । यसरी खेर गएका काठको व्यवस्थापन गर्न नसक्दा वर्षेनि अर्बौं रुपैयाँको काठ आयात हुने गरेको छ र आयातको परिमाण बढ्दो छ ।

जिल्ला वन प्रमुख शाहका अनुसार कार्यालयले कात्तिक लागेपछि मात्रै ३५ हजार क्यूविक फुट कुकाठका काठ–दाउरा घाटगद्दी गरिसकेको छ । तर, ४ पटकसम्म त्यसको विक्रीको टेन्डर गर्दा पनि कसैले फारम भरेनन् । सखुवाको काठबाहेक कुकाठमा व्यवसायीले खासै चासो नदिँदा विक्री हुन नसकेको हो । सरकारले सखुवाको काठको संकलन, उत्पादन र विक्रीमा रोक लगाएका कारण घर बनाउने, मर्मत गर्ने र आगलागी पीडितले समेत सहुलियत दरमा काठ पाउन सकेका छैनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)