ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ पर्यटनमन्त्रीको प्राथमिकता : थला परेको पर्यटन पुनरुत्थान र पूर्वाधार विकास

२०७७ पौष, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका भानुभक्त ढकालले थला परेको पर्यटन पुनरुत्थान र पूर्वाधार विकास आफ्नो प्राथमिकता रहेको बताएका छन् । आइतवार पर्यटन मन्त्रालयमा पदभार ग्रहण गर्दै पर्यटनमन्त्री ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारको रूपमा रहेको पर्यटन क्षेत्र पछिल्लो समय कोभिडका कारण शिथिल बनेको भन्दै देशको आर्थिक विकासका लागि पर्यटन पुनरुत्थानको आवश्यकता औंल्याएका छन् । यसका लागि नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने उनले बताए ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा ९ सदस्य थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दा ढकाल स्वास्थ्य मन्त्रालयबाट पर्यटमा आएका हुन् । ओली सरकारमा मन्त्री ढकालको यो तेस्रो हेरफेर हो । यसअघि उनी करीब १४ महीना न्याय, कानून तथा संसदीय मामिला मन्त्रालय र पछिल्लो पटक १३ महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका थिए ।

पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उनले बताए । यद्यपि सरोकारवालासँगको समन्वयबाटै यस्ता चुनौती पार लगाउन सकिने धारणा उनले राखे । मन्त्रालयसँग सम्बन्धित कतिपय नीतिगत सुधारका विषय प्रक्रियामै रहेको र पूर्वाधारका काम पनि पाइपलाइनमा रहेकाले यी दुवै क्षेत्रको विकास गर्दा पर्यटनले नयाँ गति लिने विश्वास उनले गरे । ‘मन्त्री बदलिएर पनि सरकार र कार्यनीति बदलिएको छैन । सगग्र विकासका लागि सबै क्षेत्रको सहयोग र समन्वयको खाँचो छ । त्यसबाट मात्र साझा लक्ष्यमा पुग्न सकिन्छ,’ उनले भने ।

मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपाटीको विकास गर्न मातहत निकायलाई निर्देशन समेत दिए । ‘मन्त्री फेरिँदा कोही झस्किनुपर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु । म सपना देखाउँदिनँ, परिणाममा विश्वास गर्छु, त्यसैले व्यावहारिक योजना निर्माण र त्यसको कार्यान्वयन महत्त्वपूर्ण हुनुपर्छ ।’

स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा लिनु र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेको भन्दै उनले मन्त्रालयभित्रका विकास योजना आर्थिक रूपमा मितव्ययी र पारदर्शी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोभिडपछि नेपालमा उल्लेख्य संख्यामा पर्यटक आउन सक्ने भएकाले सोही अनुरूप पर्यटकीय पूर्वाधार विकासमा मन्त्रालय लागिरहेको जानकारी दिए । मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिताका लागि विशेष ध्यान दिइने समेत उनले बताए । मन्त्रालय अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाका रूपमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, बारामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थलका साथै पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषका काम भइरहेका छन् । सरकारले सन् २०२० को अन्त्यसम्ममा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम सक्ने भने पनि निर्धारित लक्ष्य हासिल नहुने देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)