ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा व्यवसाय : मङ्सिरसम्म आधा खर्ब बीमाशुल्क संकलन

२०७७ पौष, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ५ महीनामा जीवन बीमा कम्पनीहरूले करीब ५० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त मङ्सिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । ती कम्पनीले चालू आवको ५ महीनामा कुल रू. ४९ अर्ब २९ करोड बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
गत कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले रू. ३९ अर्ब २२ करोड बीमाशुल्क संकलन गरेका थिए । असोजमा मात्र १० अर्बभन्दा बढी बीमाशुल्क संकलन भएको देखिन्छ ।

कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको कारण गत आवको चैत, वैशाख र जेठमा बीमाशुल्क संकलन नराम्रोसँग प्रभावित भएको थियो । तर, असारदेखि बन्दाबन्दी खुकुलो बनाएपछि भने बीमा व्यवसाय विस्तारै चलायमान हुँदै गएको छ । पछिल्लो समय जीवन बीमा व्यवसाय बढ्दै गएको कम्पनीहरूको भनाइ छ । कोरोना विपद्का बीच पनि आर्थिक क्षेत्र चलायमान भएकाले व्यवसाय सन्तोषजनक रहेको कम्पनीहरू बताउँछन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा रू. १४ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

बढी बीमा शुल्क संकलन गर्नेमा दोस्रो लाइफ इन्स्योरेन्स (एलआईसी) नेपाल रहेको छ । कम्पनीले रू. ७ अर्ब १२ करोड बीमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले रू. ५ अर्ब ५३ करोड बीमाशुल्क उठाएको छ ।

पछिल्लो ३ वर्षमा सञ्चालनमा आएका १० नयाँ बीमा कम्पनीमध्ये युनियन लाइफ बीमा शुल्क संकलनमा अगाडि देखिएको छ । कम्पनीले नयाँसहित केही पुराना कम्पनीलाई पनि पछि पार्दै रू. २ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले कोरोना विपद्मा पनि जीवन बीमा व्यवसायमा उत्साहपूर्ण व्यवसाय भएको बताए । ‘यद्यपि, व्यवसाय सामान्य अवस्थाको जस्तो चुस्त गतिमा छैन । तर, कोरोनाले अर्थतन्त्रका अन्य निकायको व्यवसाय प्रभावित भएको अवस्थामा जीवन बीमा व्यवसाय बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने, ‘हाम्रो हकमा मात्र भन्ने हो भने यो ५ महीनामा बीमाशुल्क संकलन ४६ प्रतिशतले बढेको छ । प्रथम बीमाशुल्क संकलन त ६० प्रतिशतले बढको छ ।’

पुस महीनापछि अबको व्यवसाय कस्तो गतिमा अगाडि बढ्न भनेर अनुमान गर्न सकिने उनको भनाइ छ । ‘कात्तिक मङ्सिर जीवन बीमा व्यवसायका लागि त्यति उपयुक्त समय होइन । पुसपछि भने जीवन बीमा व्यवसाय राम्रै अगाडि बढेको विगतको इतिहास छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)