पुस १३, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावितलाई लक्षित गरी ल्याएको १५ करोडको स्वरोजगारमूलक कार्यक्रम प्रभावहीन बन्ने भएको छ ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको कोरोना प्रभावित तथा विदेशबाट फर्केका युवालाई लक्षित कार्यक्रमप्रति युवाको आकर्षण नदेखिएपछि तत्काल ५ हजारलाई स्वरोजगार बनाउने कार्यक्रम नै असफल बन्ने देखिएको हो ।
लक्षित वर्गले नै स्वरोजगारका लागि आवेदन नदिएकाले सो कार्यक्रमको औचित्य नै समाप्त हुने खतरा देखिएको छ । गोदावरी नगरपालिका–३ का शेरबहादुर धामी भारतबाट स्वदेश फर्किएर भैंसी पालनका लागि प्रदेश सरकारले अनुदान वितरण गरिरहेको सुनेपछि पशु सेवा विज्ञ केन्द्र धनगढीमा आवेदन दिए । तर छनोट भए पनि भैंसी पालनका लागि ६० हजार मात्र अनुदान पाउने सुनेपछि त्यो रकमले व्यवसाय गर्न नसकिने भन्दै निराश बनेका छन् ।
अनुदानबापत प्राप्त हुने ६० हजारले आफूले परिकल्पना गरेको व्यवसाय अघि बढाउन नसकिने उनले बताए । कोरोना महामारीपछि स्वदेश फर्किएका प्रायः युवा आफ्नै क्षेत्रमा व्यवसाय गर्ने मनस्थितिमा देखिए पनि रकम पर्याप्त नभएको भन्दै निराश बन्न थालेका छन् ।
गोदावरी नगरपालिका–१२ का स्थानीय सिद्ध कार्की व्यावसायिक बाख्रापालनका लागि उक्त कार्यक्रममा सहभागी भए पनि रकम निकै कम पाउने भएपछि यतिबेला कार्यक्रमको रकम ल्याएर व्यवसाय गर्ने कि नगर्ने अन्योलमा देखिएका छन् ।
प्रदेश सरकारले कोरोनाका कारण विदेशमा रोजगारी गुमाएकाहरुका लागि यो कार्यक्रममा समावेश हुन आवेदनसहितको आह्वान गरे पनि थोरै लगानीमा अपेक्षाकृत व्यवसाय गर्न नसकिने भन्दै कार्यक्रममा सहभागी युवाले गुनासो गर्न थालेका छन् । पशु सेवा विज्ञ केन्द्रमार्फत पशु पालन कार्यक्रममा अनुदानका लागि प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आवेदन मागेको थियो ।
यो कार्यक्रमका लागि विज्ञ सेवा केन्द्र कैलालीले १ करोड ८७ लाख अनुदान उपलब्ध गराएको छ । कैलालीका १३ वटै स्थानीय तहबाट पहिलो चरणमा पशु सेवा विज्ञ केन्द्रमा १२ हजार ८५९ युवाले पशुपालन गर्ने भन्दै इच्छापत्र पेश गरेका छन् ।
तर स्वरोजगार कार्यक्रम कार्यविधिको अनुसूची ३ अनुसार कार्ययोजनासहित ४४१ जनाको मात्रै दोस्रो चरणमा आवेदन परेको छ । अन्तिम नामावली भने केही दिनमा सार्वजनिक गर्ने पशु विज्ञ केन्द्र धनगढीका पशु विकास अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद जोशीले जानकारी दिए ।
कैलालीमा कृषितर्फ स्वरोजगार हुन चाहनेहरुका लागि कृषि ज्ञान केन्द्र धनगढीलाई ६३ लाख ५० हजार बजेट पठाइएको मन्त्रालयले जनाएको छ । कृषि ज्ञान केन्द्रमा पहिलो पटक इच्छापत्र माग गर्दा जिल्लाभरबाट एक हजार २५६ आवेदन परेकोमा थप प्रमाण माग्दा ९१ जनाको मात्रै आवेदन दर्ता भएको छ । ९१ निवेदन उपर छानबिन गर्दा ८८ जनाले अनुदान पाउने टुंगो लागेको र थोरै निवेदन आएको कारण आधा रकम मन्त्रालयलाई फिर्ता पठाउनुपर्ने अवस्था आउने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।
मन्त्रालयका अनुसार स्वरोजगार बन्न चाहने युवाले स्वीकृत कार्ययोजना प्रस्तावका आधारमा गाई/ भैंसी पालन गर्न ६० हजार, बाखा्र, बंगुर, कुखुरा पालन गर्न ४० हजार र माछा पालन गर्न ३० हजार अनुदान मा पाउने छन । त्यस्तै कृषि ज्ञान केन्द्रमार्फत तरकारी खेती, फलफूल, च्याउ खेती, मौरीपालन, पुष्प खेती र नर्सरीका लागि जनही ३० हजार अनुदान प्राप्त गर्ने मन्त्रालयले बताएको छ । अनुदान भुक्तानी माग्दा अनुदान रकमकै हाराहारीमा लगानी गरेको हुनुपर्नेछ ।
कृषि तर्फका कार्यक्रम कार्यान्वयनका लागि कृषि ज्ञान केन्द्र कैलालीलाई ६३ लाख ५० हजार, कञ्चनपुरलाई ४७ लाख ५० हजार, डँडेलधुरा ५२ लाख ५० हजार, डोटी ३२ लाख, अछाम ४७ लाख ५० हजार, बाजुरा ५२ लाख ५० हजार, बझाङ ४२ लाख ५० हजार, बैतडी ६३ लाख ५० हजार र दार्चुलालाई ३२ लाख बजेट अख्तियारी दिइएको छ ।
त्यस्तै पशुतर्फका कार्यक्रम कार्यान्वयनका लागि हरेक जिल्लाका पशु सेवा विज्ञ केन्द्रलाई समेत अनुदान रकम पठाइएको छ । पशु पालनका लागि कैलालीलाई १ करोड ८७ लाख, कञ्चनपुरलाई ९९ लाख, डडेल्धुरा १ करोड ४ लाख, डोटी १ करोड ५५ लाख, अछाम १ करोड ४ लाख ५० हजार, बाजुरा ९४ लाख ५० हजार, बझाङ ७९ लाख, बैतडी १ करोड ४६ लाख र दार्चुलालाई ६३ लाख ५० हजार बजेट पठाइएको छ । कुल १५ करोड बजेट मध्ये अनुगमनका लागि १० लाख बजेट निर्देशनालयलाई र २४ लाख मन्त्रालयलाई छुट्याइएको छ ।