पुस १३, पर्वत । पर्वतको बाँसखर्कमा सुन्तलामा औँसा किराले आक्रमण गरेपछि किसान चिन्तामा परेका छन् । सुन्तला पाकेर बजार पठाउने तयारी भइरहेको समयमा कीराका कारण दाना पहेँलो भएर झर्ने समस्या देखिएको छ ।
जिल्लाको सबैभन्दा बढि सुन्तला खेती हुँदै आएको बाँसखर्कमा विगत वर्षमा राम्रो उत्पादन भए पनि यो वर्ष औँसा कीराको प्रकोप देखिएको अगुवा किसान जगतबहादुर खत्रीले बताए । ‘ बोटमा पाके जस्तो देखिने फल आफै झरेर सकिन थाल्यो,’ खत्रीले भने ।
गतवर्ष यो गाउँबाट ५ करोडको सुन्तला विक्री भएको थियो । यो वर्ष फूल फुल्नेदेखि पाक्ने बेलासम्म मौसम राम्रो भए पनि पाक्ने बेलामा भने अनौठो किसिमले फल कुहिने समस्या देखिएको खत्रीले जानकारी दिए । सुन्तलाका दाना कुहिएर झर्न थालेपछि किसानले संकलन गरेर मालखादमा पुर्दै आएका छन् । यहाँका २६१ घर परिवारमध्ये करीब २ सय घरपरिवारले अन्य खेतीपाती छोडेर सुन्तला उत्पादन गर्दै आएका छन् । किसानहरू सुन्तलाबाटै घरखर्च चलाउँदै आएका छन् भने कतिपयले घरघडेरी जोडेका छन् ।
कीराका कारण किसानहरूले आधा पनि आम्दानी गर्न नसक्ने अवस्था रहेको चन्द्रकुमारी भण्डारीले बताइन् । उनले गतवर्ष आठ लाख रुपैयाँ आम्दानी गरकी थिइन् । यो वर्ष भने मंसिरदेखि फल झर्ने समस्या देखिएको उनको भनाइ छ । ‘यो वर्ष मौसम राम्रो भएकाले आम्दानी धेरै हुने अपेक्षा थियो,’ उनले भनिन्, ‘टिप्ने बेला कुहिएर फतफत दाना झरेर सकिए । लगानी र मिहेनत सबै खेर गयो ।’ किसानले मल, काँटछाँट र बगैंचा व्यवस्थापनमा वर्षेनि लाखभन्दा बढी खर्च हुने किसानले बताए ।
सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा विक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौंदेखि चितवनसम्मका बजारमा पु¥याउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने चन्द्रकुमारीले बताईन् ।
किसानले सुन्तला बेचेबापत प्रतिकिलो रू. पाँचका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो ।
जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गरे । पाक्ने बेलामा कीरो लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताए । किरा फल लाग्ने बेला नै लागेको हुनाले फल लागिसकेपछि समाधानको कुनै उपाय नरहेको थापाले बताए ।