ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज आईसीपीमा पूर्वाधार बढाउँदै एनआईटीडीबी

२०७७ पौष, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्जको नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) मा आयातनिर्यातको चाप बढ्न थालेपछि भौतिक संरचना विस्तार गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) ले आईसीपीमा नयाँ पार्किड र गोदाम बनाएको हो ।

 वीरगञ्जको पुरानो इनर्वा नाकाबाट हुँदै आएको आयातनिर्यात आईसीपीमा केन्द्रित भएपछि पूर्वाधार अपर्याप्त भएकाले विस्तार गरिएको एनआईटीडीबी वीरगञ्जका प्रमुख कमल ज्ञवालीले बताए । आईसीपीबाट आयातनिर्यात कारोबार बढेपछि आईसीपीमा गोदाम, पार्किङलगायत संरचना साँघुरो बन्दै गएको थियो ।

ज्ञवालीका अनुसार आईसीपीमा ३०० देखि ३५० ओटा गाडी अटाउने नयाँ पार्किङ सञ्चालनमा आएको छ । ‘यसअघिको पार्किड साँघुरो भएकाले नयाँ पार्किङ बनाउनु परेको हो । आईसीपीबाट हुने आयातनिर्यातको आकार बढ्न थालेपछि २१ हजार वर्गमीटरको नयाँ पार्किङ थपिएको छ,’ उनले आर्थिक अभियानसँग भने ।

यसअघि २५० देखि ३०० गाडी अटाउने पार्किङ थियो । पार्किङमा नअटाएका गाडी सडकमा रोकेर राख्नुपरेको थियो । नयाँ संरचना सञ्चालनमा आएपछि सहज भएको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । ‘वीरगञ्ज भन्सारको करीब सबै कारोबार केन्द्रित भएपछि आईसीपी असहज बन्दै गएको छ । वैदेशिक व्यापार वर्षेनि बढ्ने भएकाले सिमानामा यस्ता पूर्वाधारको बलियो प्रबन्ध हुनुपर्छ,’ राजपाले भने ।

आईसीपीबाट अहिले दैनिक ५ सयदेखि ७ सय गाडी भित्रिएको आँकडा एनआईटीडीबीसँग छ । यो संख्या वीरगञ्ज नाकाबाट दैनिक भित्रिने कुल गाडीबराबर हो । इनर्वा नाकाबाट अहिले क्लिंकर, कोइला, भारतीय आयल निगमको रक्सौल डिपोबाट भित्रिने इन्धन र केही परिमाणमा औद्योगिक कच्चा पदार्थ भित्रिने गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सीमा बन्द भएयता अधिंकाश आयातनिर्यात आईसीपीतर्फ केन्द्रित भएको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । ३ वर्षअघि आईसीपी सञ्चालनमा आएपछि वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापार यही संरचनामा ल्याउने नीति सरकारले लिएको छ ।

सुक्खा बन्दरगाह भन्सारलाई आईसीपीमा गाभ्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

सरकारले सुक्खा बन्दरगाह र आईसीपीबीचको ६२ बिगाह जग्गा अधिग्रहण गरेर पूर्वाधार विस्तारको योजना पनि राखेको छ । तर, यी दुवै योजनाको कार्यान्वयनमा भने ढिलासुस्ती भइरहेको आयातकर्ता बताउँछन् । एनआईटीडीबीले आईसीपीमा एउटा गोदाम पनि थपेको छ । आयाततर्फ नयाँ गोदाम सञ्चालनमा ल्याइएको ज्ञवालीले बताए । यसअघि आयाततर्फ दुईओटा र निर्यातमा एउटा गोदाम सञ्चालनमा थिए । चालकहरूका लागि किचेन सेड पनि निर्माण गरिएको एनआईटीडीबीले बताएको छ । एजेन्ट भवन, क्वारेन्टाइनमा तला थप्ने काम भइरहेको ज्ञवालीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)