ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा २२ औं सडक महोत्सव सुरु

२०७७ पौष, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरामा अंग्रेजी नयाँ वर्ष अवसर पारेर २२ औं सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले नयाँ वर्ष अवसरमा बुधबारदेखि शुक्रबारसम्म पोखराको लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव आयोजना गरेको हो ।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गरे । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले विनियोजन गरेको एक अर्ब रुपैयाँको व्यावसायिक जीवन रक्षा कोष सञ्चालनका लागि अब छिट्टै दरखास्त आह्वान गरिने बताए ।

‘कोरोनाबाट प्रभावित भएका व्यवसायीलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले सरकारले विनियोजन गरेको व्यावसायिक जीवन रक्षा कोषको रकम वितरणका लागि छिट्टै दरखास्त आह्वान गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘प्रभावित व्यवसायीको पहिचान गरी १–२ लाख दिन चाहन्थें तर एउटा कार्यविधिमा सबैका विचारलाई समेट्दै ५० हजारदेखि १५ लाखसम्म ब्याज मिनाहा गराउने गरी यो कोषको रकमलाई प्रयोग गर्ने योजनामा छौं,’ मुख्यमन्त्री गुरुङले भने ।

उनले केही समय पहिले दरखास्त आह्वान गरेपछि कोषको रकम बचत हुने अवस्था देखिए पुनः ठूला लगानीकर्तालाई समेत समेट्ने गरी आफूले योजना बनाएको उनको
भनाइ छ ।

मुख्यमन्त्री गुरुङले कोरोना कहरका कारण लामो समय घुमघाम गर्न नपाएका आन्तरिक पर्यटकलाई उत्साहित गरेको बताए । ‘कोरोना संक्रमणले लामो समयदेखि रोकिएका अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै पर्यटकीय गतिविधि बढ्ने छन्,’ उनले भने ।

रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेस्टुरेन्टलगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनसम्म महोत्सव गर्न लागिएको जानकारी दिए ।

‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन महोत्सवलाई निरन्तरता दिएका छौं,’ अध्यक्ष बरालले भने, ‘महोत्सवको आयोजनासँगै पोखरा र यस आसपासको पर्यटन व्यवसायलाई चलायमान गराउन  सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

महोत्सव संयोजक वसन्त गौतमले कोरोना प्रभावका कारण ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको र कतिपय व्यवसायी विस्थापित भइरहेको अवस्थामा ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषासहित सांस्कृतिक कार्यक्रम हुनेछन् । महोत्सवमा गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा चार वटा स्टेज रहेका छन् ।

सुन्तला, महलगायत हस्तकलाका गरी २० स्टल बुक भइसकेको संयोजक गौतमले बताए । महोत्सव विगतमा झै सहिदचोकदेखि हल्लनचोकसम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ । महोत्सवका अबसरमा पश्चिमाञ्चल होटल संघले कोठा भाडामा ५० प्रतिशत छुट दिने घोषणा यसअघि नै गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)