ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार : अब अनलाइनबाट श्रमस्वीकृतिको नवीकरण

२०७७ पौष, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली कामदारले अब अनलाइनबाट नै श्रमस्वीकृतिको नवीकरण (पुनः श्रमस्वीकृति) गराउन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले यही पुस १७ अर्थात् सन् २०२१ जनवरी १ तारीखबाट यस्तो सेवा सुचारु गर्न लागेको हो ।

पुस १७ देखि श्रमस्वीकृति नवीकरण गर्नुपर्ने कामदारहरूले अनलाइनबाट गर्न सक्ने विभागको भनाइ छ । तर, नयाँ श्रम स्वीकृतिका लागि भने यो व्यवस्था लागू गरिएको छैन । हाललाई पुनः श्रमस्वीकृतिको हकमा मात्र अनलाइन सेवा सुचारु गरिएको विभागको भनाइ छ ।

वैदेशिक रोजगार श्रमस्वीकृतिको अवधि २ वर्षको हुन्छ । त्यसपछि सम्बद्ध श्रम गन्तव्य मुलुकमा नै काम गर्ने कामदारले त्यसको नवीकरण गर्नुपर्ने हुन्छ । हालसम्म त्यस्तो श्रमस्वीकृति नवीकरण गर्न सम्बद्ध कामदारलाई नेपाल नै आउनुपर्ने बाध्यता छ । सम्बद्ध मुलुकको नेपाली दूतावासबाट उक्त सुविधा दिने भनिए पनि त्यो अझै कार्यान्वयन भएको छैन ।

अब नेपाली कामदारले अलाइनबाट नै श्रमस्वीकृति नवीकरण गर्न सक्ने विभागका प्रवक्ता टीकामणि नेउपानेले बताए । बिदा लिएर नेपालमै आएका तथा विदेशमै बसेका कामदारले यो सुविधा लिन सक्ने उनको भनाइ छ ।

अनलाइन सेवा लिन म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम पहिले नै भुक्तानी गर्नुपर्नेछ । हाल उक्त रकम भुक्तानी गर्न विभागले ईसेवा, खल्तीजस्ता भुक्तानी प्रदायक संस्थासँग सहकार्य गरिसकेको छ । कामदारले उक्त भुक्तानी सेवाप्रदायकबाट तोकिएको शुल्क भुक्तानी गरेर विभागको वेबसाइटमा रहेको ‘अनलाइन श्रमस्वीकृति’मा गएर श्रमस्वीकृतिको नवीकरणका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट रकम भुक्तानी गर्दा शुल्क नलाग्ने विभागको कथन छ । विभागको उक्त पोर्टलबाट कामदारले श्रमस्वीकृति नवीकरणका लागि आवेदन दिनुपर्ने हुन्छ ।

आवेदन दिँदा कामदारले युजर आईडी बनाउनुपर्ने हुन्छ । आवेदन प्राप्त भएपछि विभागले श्रमस्वीकृति नवीकरण भएको अर्थात् पुनः श्रमस्वीकृतिको प्रमाण इमेलमार्फत सम्बद्ध कामदारलाई पठाउनेछ । त्यसपछि कामदारले त्यसलाई आवश्यकताअनुसार प्रिन्ट गरेर काम चलाउन पनि सक्नेछन् । विभागका प्रवक्ता नेउपानेले यही कामका लागि कामदारलाई नेपाल आउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । साथै, रोजगारदाता कम्पनीबाट पाउने सेवासुविधाको जोखिम पनि अन्त्य भएको उनको भनाइ छ । ‘पहिला समयमा श्रमस्वीकृति नवीकरण नहुँदा रोजगारदाता कम्पनीबाट कामदारले पाउने सेवासुविधा पनि जोखिममा हुन्थ्यो । तर, अब त्यस्तो जोखिम हटेको छ,’ उनले भने, ‘अब कामदारले कुनै पनि ठाउँबाट श्रमस्वीकृति नवीकरण गरेर आप्mनो रोजगारीलाई निरन्तरता दिन सक्नेछन् ।’

उनले निकट भविष्यमा नयाँ श्रमस्वीकृति दिने कार्यलाई पनि अनलाइन प्रणालीमै लैजाने बताए । ‘अहिले हामीले पुनः श्रमस्वीकृतिलाई मात्र अनलाइन प्रणालीमा लगेका छौं । अबको केही समयमा सबै प्रकारका श्रमस्वीकृतिलाई अनलाइन प्रणालीमा लैजान्छौं,’ उनले भने । भुक्तानी सहज बनाउन सेवाप्रदायक संस्थाहरू पनि थपिँदै जाने उनले बताए । हाल कनेक्ट आईपीएससँग पनि यस विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)