ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा पहिलोपटक व्यावसायिक कागती खेती

२०७७ पौष, १६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

पुस १६, धनगढी । सुदूरपश्चिम प्रदेशभित्र पहिलोपटक व्यावसायिक कागती खेती शुरू गरिएको छ । गोदावरी नगरपालिका–४ खैराना अत्तरिया कैलालीमा स्थानीय दुई युवाले सामूहिक रूपमा व्यावसायिक कागती खेती गरेका हुन् । 

भूमिराज एग्रो सर्भिस नामक कम्पनी स्थापना गरेर ८ बिघा क्षेत्रफलमा भारतको गुजरातबाट ‘थाई लेमन’ प्रजातिको कागतीको बिरुवा ल्याएर स्थानीय पुष्कर पन्त र खेमराज भट्टले प्रदेशमै पहिलो पटक कागती खेतीको व्यावसायिक उत्पादन शुरू गरेका हुन् । यसका लागि १ करोड २३ लाख लगानी भएको बताइएको छ ।

अत्तरियास्थित खमौरामा रहेको सरस्वती आधारभूत प्राविको ९ बिघा जमीन १५ वर्षका लागि भाडामा लिएर ८ बिघामा कागती र एक बिघामा तरकारी खेती (भेडे खुर्सानी) लगाइएको छ । स्थानीय बजारमा कागतीको माग निकै बढी भएको र कागतीका लागि पनि भारतकै भर पर्नुपर्ने अवस्था देखेर शुरूमा गुजरातबाट बिरुवा ल्याएर कागत लगाइएको थियो । अहिले आफैले बेर्ना उत्पादन गर्दै आएको सञ्चालक पुष्कर पन्तले बताए ।

सुदूरपश्चिममा खपत हुने ७० प्रतिशतभन्दा बढी कागती भारतका विभिन्न शहरबाट आयात हुने गरेको भन्दै सञ्चालक पन्तले कागतीको बजारको राम्रो सम्भावना देखेर व्यावसायिक रूपमा यसको खेती शुरू गरिएको बताए ।

‘अहिले हामीले ७ हजार दुई कागतीका बिरुवा रोपेका छौं,’ उनले भने, ‘पहाडी कागतीभन्दा हाम्रो कागती ठूलो साइजको भएकाले शुरुमा बजार लिन समस्या देखिए पनि अहिले यहाँका होटलको रोजाइमा हाम्रो उत्पादन पर्ने गरेको छ ।’ आफ्नो फार्मको उत्पादनले बुटवलसम्म बजार लिएको सञ्चालक पन्तले बताए ।

यो वर्ष मात्र डेढ सय टन कागती उत्पादन गरेर विक्रीवितरण गरिएको उनको भनाइ छ । प्रतिकिलो सय रुपैयाँमा कागती विक्री गरिने भएकाले विस्तारै भारतीय कागतीभन्दा स्वदेशी कागती नै रोजाइमा पर्ने उनले बताए ।

‘हामीसँग उत्पादन पर्याप्त भइरहेकाले ५० प्रतिशत कम मूल्यमा कागती विक्री गर्दा पनि खासै नोक्सान छैन,’ सञ्चालक पन्तले भने । विद्यालयको जमीन प्रयोग गरेबापत प्रतिबिघा वार्षिक २३ हजार तिर्नेगरी १५ वर्षका लागि भाडामा लिएर कागती खेती गरिएको उनले बताए ।

सम्भावनाको पहिचान गरेर आफ्नै गाउँठाउँमा मेहनत गर्ने हो भने रोजगारीका लागि कुनै पनि युवाले विदेशिनु नपर्ने धारणा उनको छ । उनीहरूको कागती फार्ममा १० जना स्थानीय युवाले रोजगारी पाएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)