ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थोपार्जनमा जोडिंदै भीमदत्तका विपन्न वर्ग

२०७७ पौष, १६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

पुस १६, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ बनगाँउकी ४२ वर्षीय पार्वती थापाले व्यावसायिक तरकारी खेती शुरू गरेकी छिन्  । यसअघि घरायसी उपभोगका लागि तरकारी फलाउँदै आएकी पार्वती नगरपालिका र दातृ निकायबाट प्राविधिक सहयोग पाएपछि व्यावसायिक खेतीमा जोडिएकी हुन् । 

भीमदत्त नगरपालिका र यूएनडीपीको आर्थिक सहयोगमा निड्स नेपालले कोभिड–प्रतिकार्य तथा सामाजिक आर्थिक पुनर्लाभ परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरेपछि लक्षित वर्गका स्थानीय व्यावसायिक तरकारीखेतीमा लागेका छन् । नगरपालिकाले  एकल महिला, दलित, जनजाति र विदेशबाट फर्केका कोरोना प्रभावित युवालाई लक्षित गर्दै उक्त परियोजना सञ्चालन गरेको हो ।

त्रिपुरा एकल महिला समूहकी अध्यक्ष समेत रहेकी थापाको समूहका चार जना व्यावसायिक तरकारीखेतीमा जोडिएका छन् । सोही समूहकी सदस्य भगरथी कलौनीले पनि व्यावसायिक तरकारीखेती शुरू गरेकी छिन् । निड्सबाट पूर्णरूपमा प्राविधिक सहयोग पाएपछि आफू तरकारीखेतीमा लागेको उनको भनाइ छ । उनले भनिन्, ‘घरमा कमाउने मान्छे कोही छैन, तरकारी खेतीपछि आय आर्जन हुने आशा छ ।’

भीनपा ५ का लाल पहरीले पनि व्यावसायिक रूपमा नर्सरी शुरू गरेका छन् । यस्तै भीनपा १० हीरा तरप्दार व्यावसायिक आलुखेतीमा लागेका छन् । उनले निड्स नेपालबाट बिउसहित पाविधिक सहयोग पाएपछि स्थानीय ५ जनासँग मिलेर उनले करिब दुई बिघा जमीनमा आलु खेती लगाएका हुन् । 

परियोजना संयोजक नवीन भट्टका अनुसार निड्स नेपालले तरकारीखेतीका लागि किसानलाई पोली हाउस, सिँचाइका लागि मोटर, पाइप, बीउ, किटनाशक औषधि र अन्य प्राविधिक सहायता उपलब्ध गराएको छ । उनका अनुसार भीमदत्त नगरपालिका र यूएनडीपीको आर्थिक सहयोगमा नगरका ९, १० र १८ वडा बाहेक १६ ओटा वडामा परियोजना सञ्चालन गरिएको छ । 

परियोजना अन्तर्गत नर्सरी हाउस २० जना, आलु तथा प्याजखेतीमा ७०, पोली हाउस २० जना, च्याउखेतीमा ५८ जना र पोल्टी फार्मका लागि ७० जनालाई सहयोग गरिएको छ । ‘लक्षित वर्गबाट छनौट गरिएको परिवारलाई आर्थिक उपार्जनसँग जोड्न कार्यक्रम सहयोगी बनेको छ,’ भट्टले भने । 

त्यस्तै निड्स नेपाली अध्यक्ष अञ्जु जोशी भट्टले विपन्न वर्गलाई आयमूलक उत्पादनसँग जोड्न परियोजना सञ्चालन गरिएको बताइन् । ‘कोरोना संक्रमणपछि अधिकांशको आर्थिक अवस्था नाजुक बनेको छ,’ उनले भनिन्, ‘परियोजना सञ्चालनपछि लक्षित वर्गले आर्थिक लाभ पाउने र सामाजिक विकास तथा आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएका छौंं ।’ परियोजनाबाट ४०० भन्दा बढी परिवार लाभान्वित भएको उनले बताइन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)