ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अदालतद्वारा बैंक अफ काठमाण्डूका तत्कालिन शाखा प्रवन्धक दोषी ठहर

२०७७ पौष, १६  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

पुस १६, धनगढी । धनगढीका १४ जना विरुद्ध ठगी मुद्दा दायर गर्ने बैंक अफ काठमाण्डू (बीओके) धनगढीका तत्कालीन शाखा प्रबन्धकलाई अदालतले दोषी ठहर गरेको छ । 

जिल्ला अदालत कैलालीले बैंकका तत्कालीन शाखा प्रबन्धक दीपक खनालले विसं २०७५ साल भदौमा धनगढीकै १४ जना विरुद्ध दायर गरेको सरकारी कागज, छाप, दस्तखत किर्ते र ठगी मुद्दामा दोषी ठहर गरेको छ ।

जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुन्जेडाका अनुसार अदालतका न्यायाधिश बाबुकाजी श्रेष्ठको इजलासले खनालले मालपोत कार्यालयका लेखनदास, बैंककै कर्मचारी र केही जग्गाधनी बिरुद्ध दायर गरेको मुद्दामा जाहेरीवालालाई दोषी ठहर गरी अन्य १३ जनालाई सफाइ दिएको बताए ।

अदालतले खनालको जाहेरीले प्रतिवादी बनेका धनगढीका जग्गाधनी रामबहादुर कुवँर, दीपक कुवँर, प्रभा तामाङ, दोर्जे लामा, कमलबहादुर तामाङ र धनबहादुर तामाङलाइ सफाइ दिएको छ । अर्का जग्गाधनी दीपक खड्काको मुद्दा भने तामेलीमा राखिएको अदालतले बताएको छ ।

अदालतका श्रेस्तेदार कुन्जेडाका अनुसार खड्का नेपाल बाहिर भएकाले स्वदेशमा भेटिने बितिकै मुद्दा चलाउने गरी मुद्दा तामेलीमा राखिएको छ । धनगढीको क्याम्पस चोकमा डेरी सञ्चालन गर्दै आएका खड्का मिटर ब्याज धन्दामा फसेका थिए ।

यस्तै अदालतले बैंकका तत्कालिन शाखा प्रवन्धक खनालले प्रतिवादी बनाएका मालपोत कार्यालय कैलालीका लेखनदास प्रकाश पन्त, खेमबहादुर बिष्ट, भोजबहादुर थापा र हरीप्रसाद जोशीले पनि सफाइ पाएका छन् । खनालकै सहकर्मीहरु महेश जोशी, बुझाउन चौधरी र प्रकाशदत्त भट्टले पनि सफाइ पाएको अदालतले बताएको छ ।

अदालतले जाहेरी दिने बैँकका तत्कालीन प्रबन्धक खनाललाई दोषी ठहर गरेपनि सजाय भने तोकेको छैन । आउँदो पुस २३ गते मात्र सो मुद्दामा दोषी ठहर भएका खनालाई सजाय तोकिने बताइएको छ ।

खनालले मुद्दा दायर गर्दै किर्ते छाप, दस्खत र कागजपत्र तयार गरि जग्गाधनीहरुले ऋण लिएर आफूलाई ठगी गरेकाले सजायको माग दाबी सहित मुद्दा दायर गरेका थिए । उनले किर्ते कागजपत्र पेश गरी ती जग्गा धनीहरुले दुई करोड २४ लाख ऋण लिएको भन्दै असुलउपर गराउन माग दाबी गरेका थिए । तर अदालतले उल्टै खनाललाई दोषी ठहर गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)