ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वरोजगारमूलक कार्यक्रममा युवाको गुनासो ‘अनुदान रकम नै पर्याप्त भएन’

२०७७ पौष, १७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको स्वरोजगारमूलक कार्यक्रममा युवाहरू आकर्षित हुन सकेका छैनन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोना प्रभावित तथा विदेशबाट फर्केका युवालाई लक्षित ल्याएको उक्त कार्यक्रमबाट पाउने अनुदान रकम नै अपर्याप्त रहेको गुनासो युवाहरूले गरेका छन् ।

१५ करोड रुपैयाँको उक्त कार्यक्रमबाट तत्काल ५ हजारलाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ । तर लक्षित वर्ग नै आवेदन दिन उत्साहित नभएपछि कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठेको छ ।

भारतबाट  फर्किएका कैलालीको गोदावरी नगरपालिका–३ का शेरबहादुर धामीले प्रदेश सरकारले अनुदान वितरण गरिरहेको जानकारीपछि भैंसीपालनका लागि पशु सेवा विज्ञ केन्द्र धनगढीमा आवेदन दिए । अनुदानका लागि उनी छनोट पनि भए । तर त्यसबापत ६० हजार रुपैयाँ मात्र पाउने सुनेपछि उक्त रकमले व्यवसाय गर्न नसकिने भन्दै उनी निराश बनेका छन् ।

यस्तै गोदावरी नगरपालिका–१२ का स्थानीय सिद्ध कार्की व्यावसायिक बाख्रापालनका लागि उक्त कार्यक्रममा सहभागी भए पनि रकम निकै कम पाउने भएपछि व्यवसाय गर्ने÷नगर्ने अन्योलमा छन् ।

कोरोना महामारीपछि स्वदेश फर्किएका प्रायः युवा आफ्नै क्षेत्रमा व्यवसाय गर्ने मनस्थितिमा देखिए पनि प्रदेश सरकारले दिने अनुदान रकम पर्याप्त नभएको गुनासो उनीहरूको छ । प्रदेश सरकारले यो कार्यक्रममा समावेश हुन आह्वान गरे पनि थोरै लगानीमा अपेक्षित व्यवसाय गर्न नसकिने भन्दै कमै मात्र सहभागी छन् । पशु सेवा विज्ञ केन्द्रमार्फत पशु पालन कार्यक्रममा अनुदानका लागि प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आवेदन मागेको थियो ।
 
उक्त कार्यक्रमका लागि विज्ञ सेवा केन्द्र कैलालीले १ करोड ८७ लाख अनुदान उपलब्ध गराएको छ । कैलालीका १३ ओटै स्थानीय तहबाट पहिलो चरणमा पशु सेवा विज्ञ केन्द्रमा १२ हजार ८५९ युवाले पशुपालन गर्ने इच्छापत्र पेश गरेका छन् । तर स्वरोजगार कार्यक्रम कार्यविधिको अनुसूची ३ अनुसार कार्ययोजनासहित ४४१ जनाको मात्रै दोस्रो चरणमा आवेदन परेको पशु विज्ञ केन्द्र धनगढीका पशु विकास अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद जोशीले जानकारी दिए ।

कैलालीमा कृषितर्फ स्वरोजगार हुन चाहनेका लागि कृषि ज्ञान केन्द्र धनगढीलाई ६३ लाख ५० हजार बजेट पठाइएको मन्त्रालयले बताएको छ । कृषि ज्ञान केन्द्रमा पहिलोपटक इच्छापत्र माग गर्दा जिल्लाभरबाट १ हजार २५६ आवेदन परेकोमा थप प्रमाण माग्दा ९१ जनाको मात्रै आवेदन दर्ता भएको छ । ९१ निवेदन उपर छानबिन गर्दा ८८ जनाले अनुदान पाउने टुंगो लागेको र थोरै निवेदन आएको कारणले आधा रकम मन्त्रालयलाई फिर्ता पठाउनुपर्ने अवस्था आउने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।

मन्त्रालयका अनुसार स्वरोजगार बन्न चाहने युवाले स्वीकृत कार्ययोजना प्रस्तावका आधारमा गाई÷भैंसी पालन गर्न ६० हजार, बाख्रा, बंगुर, कुखुरा पालन गर्न ४० हजार र माछा पालन गर्न ३० हजार अनुदान पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)