ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अवैध सामग्री आयातले सुदूरपश्चिमका उद्योग पुनः संकटमा

२०७७ पौष, १७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । अवैध सामग्री आयातका कारण सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित उद्योग पुनः संकटमा परेका छन् । कैलालीको गौरीफन्टा नाका, कञ्चनपुरको गड्डाचौकी, बैतडी र दार्चुला सीमा नाकाबाट निर्वाध रूपमा आयात हुने अवैध सामग्रीका कारण ती उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उत्पादनले बजार पाउन समस्या भएको यहाँका उद्योगी व्यवसायीको गुनासो छ ।

‘भन्सार काटेर भित्र्याइएका वस्तुसँग हाम्रो उत्पादनले सहजै प्रतिस्पर्धा गर्न सक्छ । तर, भन्सार छलेर आएका वस्तुसँग प्रतिस्पर्धा गर्न सकिने अवस्था नहुँदा यहाँ सञ्चालित उद्योग संकट अवस्थामा रहेका छन्’, उद्योगपति एवं कैलाली उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष राजेन्द्र अग्रवाल भन्छन् । दैनिक लाखौं मूल्य बराबरको अवैध सामग्री कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला नाका हुँदै भारतबाट सहजै रूपमा सुदूरपश्चिमका बजारमा पुग्ने भएकाले यहाँ सञ्चालित चिनी, बिस्कुट, साबुन, डिटर्जेन्ट पाउडर, चामल, दाल, तेललगायत उद्योगबाट उत्पादित सामग्रीले बजार पाउन समस्या भएको उद्योगपति अग्रवालले जानकारी दिए ।

‘बन्दाबन्दीको करिब चार महिना हाम्रो उत्पादन दोब्बरले बढेको थियो । सीमा नाका बन्द हुनुका साथै आउजाउ र सामग्री ओसार–पसारमा पूर्ण प्रतिबन्धका कारण दैनिक २२ देखि २४ टन बिस्कुट उत्पादन गर्न सफल भएका थियौं’, सुदूर फुड इन्डष्ट्रिजका प्रबन्ध निर्देशक कविस अग्रवालले भने ।

असोज/कात्तिकदेखि पुनः भारतबाट अवैध सामग्री आउने क्रम ह्वात्तै बढेपछि अहिले  मुस्किलले ११/१२ टन मात्र उत्पादन गर्न सकिएको उनले बताए ।ठूलो परिमाणमा भारतका विभिन्न सहरबाट भन्सार छलेर बिस्कुट आउने हुँदा नेपाली उत्पादनले हामी प्रतिस्पर्धा गर्न नसकेको अग्रवालको भनाइ छ ।

दैनिक ३८ टन बिस्कुट उत्पादन क्षमता रहेको सुदूर फुड इन्डष्ट्रिजले सुरुमा तीन टन क्षमताको उद्योगबाट प्रदेशमै पहिलो पटक बिस्कुट उत्पादन सुरु गरेको थियो । एकातर्फ प्रदेशका चारै दिशाबाट भन्सार छलीका सामग्री निर्वाध भित्रनु र अर्कोतर्फ कञ्चा पदार्थमा भएको मूल्यवृद्धिका कारण यहाँका उद्योग दोहोर मारमा परेर बन्द हुने अवस्थामा पुगेको सञ्चालकको गुनासो छ ।

सरकारले उद्योगमैत्री वातावरण बनाउन परै जाओस्, भन्सार छलीका सामग्रीमा समेत निगरानी बढाउन नसक्दा लगानी डुब्ने खतरा बढेको भन्दै यहाँका उद्योगी व्यवसायीले सीमा नाका कडाइ गर्न माग गरेका छन् । ‘बन्दाबन्दीको अवधिमा भारतबाट भन्सार छलीका कुनै पनि बिस्कुट आउन नसकेपछि हामीले एक सय जना स्थानीयलाई थप रोजगारी दिएर दिनमा मात्र नभएर रातभर बिस्कुट उत्पादन गरेका थियौं,’ प्रबन्ध निर्देशक अग्रवालले भने । अहिले पुनः भारतबाट भन्सार छलीका बिस्कुट आउन थालेपछि बिक्री हुन नसक्दा उत्पादन क्षमतामा आधा कमी आएको उनले जानकारी दिए ।  यसले गर्दा थप गरिएका एक सय जना श्रमिकलाई कसरी रोजगारीमा टिकाइराख्ने भन्ने द्विविधामा रहेको उनको गुनासो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)