काठमाडौं । लामो समयदेखि अधिक तरलताको स्थिति रहँदै आएको र अपेक्षाअनुसार कर्जा माग समेत हुन नसक्दा अन्ततः बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने रणनीति अपनाएका छन् । नेपालमा कोभिड शुरू हुनुअघि अर्थात् गत चैतअघि अधिकतम करीब साढे ९ प्रतिशतसम्म रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएर अहिले वाणिज्य बैंकहरूले अधिकतम ७–८ प्रतिशत हाराहारीमा र न्यूनतम ३ प्रतिशतसम्म झारेका छन् ।
खर्च नियन्त्रण गर्न निक्षेपको ब्याजदर घटाउनुपरेको तर्क बैंकहरूको छ । एकातर्फ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षामार्फत बचतको ब्याजदर मुद्दती निक्षेपको भन्दा ५ प्रतिशतको फरकमा हुनुपर्ने निर्देशन जारी गरेको थियो । अर्कोतर्फ बजारमा अधिक तरलता खेपिरहेका बैंकहरूले खर्च घटाउने उद्देश्यले साधारण बचतको ब्याजदरसँग मिलाउन मुद्दती निक्षेपको ब्याजदर घटाउन उपयुक्त ठाने । अधिकांश बैंकले तीनमहीने मुद्दती निक्षेपदेखि २–३ वर्षे मुद्दती निक्षेपको ब्याजदर घटाउन बाध्य भएको
बताएका छन् ।
२७ वाणिज्य बैंकमध्ये पुस १ गतेयता मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम निर्धारण गर्नेमा नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएका छन् भने सबैभन्दा बढी ब्याजदर निर्धारण गर्नेमा सीभिल बैंक अगाडि छ । नेपाल एसबिआईले ३ देखि साढे ६ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेको छ भने स्ट्याण्डर्ड चार्टर्डले तीनमहीने मुद्दती निक्षेपको ब्याजदर ३ साढे ४ प्रतिशतदेखि २ वर्षका लागि ६ प्रतिशत निर्धारण गरेको छ ।
वाणिज्य बैंकमध्ये अधिकतम ब्याजदर निर्धारण गरेको सिभिल बैंकले तीनवर्षे मुद्दती निक्षेपमा सबैभन्दा बढी अर्थात् ९ प्रतिशत ब्याज तोकेको छ । बैंकले ३ वर्षभन्दा कम अवधिका निक्षेपमा भने न्यूनतम ७ प्रतिशतसम्मको ब्याजदर निर्धारण गरेको छ ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा साढे ५ देखि ७ प्रतिशत, नेपाल इन्भेष्टमेण्टले ५ देखि ७ दशमलव २७ प्रतिशत, सानिमाले साढे ६ देखि ७ दशमलव २५ प्रतिशत र एनआईसी एशियाले साढे ६ प्रतिशत ब्याजदर तोकेका छन् भने हिमालयनले एकवर्षे अवधिको निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै नेपाल बैंकले साढे ५ देखि ७ प्रतिशत, कृषि विकासले ६ दशमलव २५ देखि ७ दशमलव २५ प्रतिशत, नबिलले ५ देखि साढे ६ प्रतिशत, नेपाल बंगलादेशले ६ दशमलव २५ देखि ८ प्रतिशत, सिटिजन्सले ७ दशमलव ७५ देखि साढे ८ प्रतिशत, एभरेष्टले ५ देखि ७ प्रतिशत, सिद्धार्थले साढे ५ देखि साढे ७ प्रतिशत र ग्लोबल आईएमईले साढे ६ देखि साढे ८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
मुद्दती निक्षेपमा अवधिअनुसार न्यूनतम ५ प्रतिशतदेखि अधिकतम साढे ७ साढे प्रतिशत ब्याजदर निर्धारण गरेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन बैंकहरूले अहिले खर्च घटाउने उद्देश्यले मुद्दती निक्षेपको ब्याजदर कस्ने रणनीति लिएको बताउँछन् । ‘अहिले बैंकहरूसँग पर्याप्त तरलता रहेको र बजारमा कर्जाको खासै माग नभएकाले खर्च घटाउन निक्षेपको ब्याजदरमा कटौती गरिएको हो,’ उनले भने । यो वर्तमान परिस्थितिलाई व्यवस्थापन गर्न बैंकहरुले छोटो अवधिका लागि लिएको रणनीति भएको उनको तर्क छ । यद्यपि मूल्यवृद्धिकै हाराहारीमा साधारण बचतको ब्याजदर हुनुपर्ने भनिए पनि अहिले त्यसो भएको छैन । पछिल्लो समय मूल्यवृद्धि करीब ४ प्रतिशत हाराहारीमा हुँदा बैंकहरूको साधारण बचतको ब्याजदर यसको आधा रहेको छ । प्रभु बैंककै साधारण बचतको ब्याजदर करीब २ प्रतिशत भएको बताउँदै सीईओ शेरचनले भने, ‘सामान्यतया मूल्यवृद्धिकै हाराहारीमा ब्याजदर हुँदा बजारको मूल्यलाई सामान्य व्यक्तिले पनि थेग्न सक्छन् भन्ने हो । तर हाम्रो जस्तो अर्थतन्त्रमा यो सम्भव देखिँदैन ।’
बैंकविज्ञ अनलराज भट्टराई केन्द्रीय बैंकले बचतको ब्याजदर बढ्ने अपेक्षाले मुद्दती निक्षेपसँगको ५ प्रतिशत अन्तर हुनुपर्ने व्यवस्था गरे पनि अहिलेको परिस्थितिमा बैंकले अपनाएको नीति उपयुक्त भएको तर्क गर्छन् । अधिक तरलता हुँदा बैंकसँग धेरै पैसा आइडल रहने भएकाले यतिबेला खर्च कटौती गर्नु नै व्यवसायको दायित्व भएको उनको भनाइ छ । ‘बैंकले स्थायित्व कायम गर्न खर्च कटाउँछन् । अहिलेको अवस्थामा खर्च कटाउने सजिलो उपाय बचतको ब्याजदर कम गर्ने हो,’ उनले भने, ‘केन्द्रीय बैंकको यो व्यवस्थाले अहिलेलाई नभए पनि दीर्घकालीन रूपमा राम्रो प्रभाव पार्छ ।’ यसअघि ब्याजदर युद्ध हुँदा अर्थात् साधारण बचतमा ५ प्रतिशत र मुद्दती निक्षेपमा १३–१४ प्रतिशत दिने अवस्था समेत भएको उदाहरण दिँदै भट्टराईले केन्द्रीय बैंकको ५ प्रतिशत अन्तरको व्यवस्थाले दीर्घकालमा ब्याजदरलाई निश्चित सीमामा ल्याउने बताए । यसले भविष्यमा ब्याजदरको लडाइँ समेत अन्त्य गर्ने उनको भनाइ छ ।