काठमाडौं । बैंकिङ प्रणालीमा लामो समयदेखि विद्यमान अधिक तरलता खिच्न नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनअन्तर्गत जारी गरेका उपकरणमा बैंक तथा वित्तीय संस्थाहरूबाट खर्बौंको बोल परेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष (आव) २०७७/७८ मा तरलता प्रशोचन गर्न जारी गरेको छोटो अवधिको उपकरण रिभर्स रिपोमा ४ पटकमा १ खर्ब १० अर्बको माग गर्दा रू. २ खर्ब ७८ अर्ब २५ करोडको बोल परेको छ । चालू आवको पुस १६ गतेसम्म विभिन्न समयमा ५ पटकसम्म २८ दिने अवधिको निक्षेप संकलन उपकरणमा रू. १ खर्ब ६० अर्बको मागमा ३ खर्ब ३३ अर्ब २० करोड रुपैयाँको बोल परेको छ ।
पछिल्लो समय बैंकहरू थोरै ब्याजमा भए पनि छोटो समयका लागि केन्द्रीय बैंकमा रकम पठाउन आतुर देखिन्छन् । बजारमा अपेक्षाअनुसार कर्जाको माग नहुँदा अधिक तरलताको स्थितिमा संकलित निक्षेप बैंकमा आइडल राख्नुभन्दा थोरै ब्याजदरमा लगानी गर्नु उपयुक्त देखिएकाले बैंकहरूले बोल लगाएका छन् । यस अवधिमा जारी एकहप्ते रिभर्स रिपोमा बैंकहरूले अधिकतम १ दशमलव ५४११ प्रतिशत, न्यूनतम शून्य दशमलव ०१०० प्रतिशत र भारित औसत शून्य दशमलव २०६० प्रतिशत ब्याजदरमा बोल लगाएका थिए । निक्षेप संकलन उपकरणको बोलमा बैंकहरूले भारित औसत ब्याजदर शून्य दशमलव ४९६७ प्रतिशत ब्याजदरको प्रस्ताव राखेका थिए ।
बजारमा अधिक तरलताको अवस्था हुँदा ब्याजदर न्यून स्तरमा झर्ने र यसबाट बचत प्रोत्साहित नहुने, उपभोग बढ्ने, माग बढ्न जाँदा त्यसले मुद्रास्फीति बढ्न सक्ने, न्यून ब्याजदरको कारण कमसल परियोजनाहरूमा कर्जा प्रवाह हुन सक्ने, पूँजी पलायन हुने जस्ता समस्या देखा पर्न सक्ने राष्ट्र बैंकले बताएको छ ।
यस्तो अवस्था आउन नदिन केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापन गर्ने गर्छ ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा बैंकिङ प्रणालीबाट अल्पकालीन (अधिकतम ७ दिनका लागि) अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण ‘रिभर्स रिपो’ हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको खाताबाट रकम झिकिने भएकाले तोकिएको समयावधिका लागि तरलता प्रशोचन हुन्छ । यसैगरी, बैंकिङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिन आएमा बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्न प्रयोग हुने अर्को उपकरण ‘निक्षेप संकलन’ हो । यो उपकरण अधिकतम ९० दिनका लागि निष्कासन गरिन्छ । यस्ता उपकरणको प्रयोग ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७१’ बमोजिम गरिन्छ ।
हाल बैंकिङ प्रणालीमा १ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको अधिक तरलताको स्थिति रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । पुनर्कर्जाले बजारमा तरलता बढाएको बताउँदै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट अहिले केन्द्रीय बैंकले ६० अर्ब रुपैयाँ बराबरको रकम बैंकहरूबाट खिचेको जानकारी दिए । ‘राष्ट्र बैंकले नखिचेको भए रू. २ खर्ब ४० अर्बको हाराहारीमा तरलता हुन्थ्यो । तत्काल भने केन्द्रीय बैंकले निक्षेप संकलनबाट मात्रै रू. ५० अर्ब प्रशोचन गरिरहेको छ । यस्तै करीब १० अर्ब रुपैयाँ रिभर्स रिपोबाट खिचेको छ,’ उनले भने, ‘पछिल्लो समय हामीले २० अर्बका निक्षेप संकलन आ≈वान गर्दा ७२ अर्ब रुपैयाँ बराबरको बोल परेको थियो ।’