ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा पहिलोपटक व्यावसायिक कागती खेती

२०७७ पौष, २१  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र पहिलोपटक व्यावसायिक कागती खेती शुरू गरिएको छ । गोदावरी नगरपालिका–४ खैराना अत्तरिया कैलालीका दुई युवाले सामूहिक रूपमा व्यावसायिक कागती खेती गरेका हुन् ।

स्थानीय पुष्कर पन्त र खेमराज भट्टले भूमिराज एग्रो सर्भिस नामक कम्पनी स्थापना गरेर ८ बिघा क्षेत्रफलमा ‘थाई लेमन’ प्रजातिको कागती खेती गरेका छन् । यसका लागि १ करोड २३ लाख लगानी भएको बताइएको छ ।

अत्तरियास्थित खमौरामा रहेको सरस्वती आधारभूत प्राविको ९ बिघा जमीन १५ वर्षका लागि लिजमा लिएर ८ बिघामा कागती र एक बिघामा तरकारी खेती (भेडे खुर्सानी) लगाइएको छ । स्थानीय बजारमा कागतीको माग निकै बढी भएको र कागतीका लागि पनि भारतकै भर पर्नुपर्ने अवस्था देखेर शुरूमा गुजरातबाट बिरुवा ल्याएर कागती लगाइएको थियो । अहिले आफैले बेर्ना उत्पादन गर्दै आएको सञ्चालक पन्तले बताए ।

सुदूरपश्चिममा खपत हुने ७० प्रतिशतभन्दा बढी कागती भारतका विभिन्न शहरबाट आयात हुने गरेको भन्दै सञ्चालक पन्तले कागतीको बजारको राम्रो सम्भावना देखेर यसको व्यावसायिक खेती शुरू गरिएको बताए । ‘अहिले हामीले ७ हजार कागतीका बिरुवा रोपेका छौं,’ उनले भने, ‘हामीले लगाएको कागती ठूलो आकारको भएकाले शुरूमा बजार लिन समस्या देखिए पनि अहिले यहाँका होटलको रोजाइमा पर्न थालेको छ ।’

आफ्नो फार्मको उत्पादनले बुटवलसम्म बजार लिएको सञ्चालक पन्तले बताए । यो वर्ष मात्र डेढ सय टन कागती विक्री गरिएको उनको भनाइ छ । प्रतिकिलो सय रुपैयाँमा कागती विक्री गरिने हुँदा मूल्यका हिसाबले पनि भारतीय कागतीभन्दा स्वदेशी कागती नै सबैको रोजाइमा पर्ने अपेक्षा उनले गरे ।

‘हामीसँग उत्पादन पर्याप्त भइरहेकाले ५० प्रतिशत कम मूल्यमा कागती विक्री गर्दा पनि खासै नोक्सान छैन,’ सञ्चालक पन्तले भने । विद्यालयको जमीन प्रयोग गरेबापत प्रतिबिघा वार्षिक २३ हजार रुपैयाँ तिर्नेगरी लिजमा लिएर कागती खेती गरिएको उनले बताए । सम्भावनाको पहिचान गरेर आफ्नै गाउँठाउँमा मेहनत गर्ने हो भने रोजगारीका लागि कुनै पनि युवाले विदेशिनु नपर्ने धारणा उनको छ । उनीहरूको कागती फार्ममा १० जना स्थानीय युवाले रोजगारी पाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)