ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्वको लक्ष्य भेट्न कठिन

२०७७ पौष, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड–१९ का कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू वर्षमा लिएको लक्ष्य भेट्न नसक्ने अवस्था आएको छ ।

अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्ममा भन्सार महसुलमा लक्ष्यको २ अर्ब कम राजस्व संकलन भएको छ भने कर राजस्वतर्फ लक्ष्यको २५ अर्ब कम संकलन भएको छ । त्यस्तै, गैरकरतर्फ १२ अर्ब ९८ करोड राजस्व कम संकलन भएको छ । मङ्सिरसम्ममा कुल राजस्व लक्ष्यभन्दा करीब ३९ अर्ब कम संकलन भएको देखिएको अर्थका अधिकारीहरू बताउँछन् ।

संकटका बेला आयात बढ्ने अनुमान अर्थका अधिकारीहरूले गरे पनि पछिल्लो समय कतिपय वस्तुको आयात घटेको उनीहरू बताउँछन् । त्यसले पनि राजस्वको लक्ष्य भेट्न चुनौती थपिदिएको अधिकारीहरूको भनाइ छ ।

त्यसो त मुलुकमा कोभिडका कारण आर्थिक गतिविधि कमजोर हुँदा राजस्व संकलनमा सरकारलाई अप्ठ्यारो पर्दै आएको छ । विकासका गतिविधिहरूलाई सरकारले तीव्रता दिन नसक्दा पनि निर्माण सामग्री, उपकरण, पेट्रोलियम पदार्थलगायत वस्तुको आयात बढ्न नसकेको अर्थका अधिकारीहरू बताउँछन् ।

यससँगै, राजस्व संकलनको लक्ष्यलाई संशोधनसँगै नयाँ लक्ष्य भेटाउन थप रणनीतिसमेत चालू वर्षको बजेटको मध्यावधि समीक्षामार्फत गर्नुपर्ने दबाबमा सरकार परेको छ ।

‘कोभिड–१९ को प्रभाव र उत्तरी नाकामा देखिएको अवरोध कहिलेदेखि अन्त्य हुने हो भन्नेबारे नै अन्योल देखियो, यसले राजस्व संकलनमा प्रत्यक्ष असर गरिरहेको छ,’ राजस्व महाशाखा प्रमुख रामेश्वर दंगालले बताए । उनका अनुसार भन्सार, आन्तरिक राजस्व, गैरकरतर्फ लक्ष्य भेट्न सकिएको छैन । भन्सार बिन्दुमा देखिएको कतिपय अवरोध, आन्तरिक उत्पादनमा आएको गिरावट, सेवातर्फ कोरोनाले पारेको असरले गैरराजस्व संकलनमा ठूलो मात्रामा असर परेको दंगाल बताउँछन् ।

उनका अनुसार अहिले पर्यटन, शिक्षण संस्थातर्फको राजस्व संकलन पूर्णरूपमा प्रभावित भएको देखिन्छ । त्यस्तै, भन्सारतर्फ चालू वर्षको शुरुआतदेखि नै चीनतर्फको मुख्य नाका तातोपानी र रसुवागढीमा निरन्तर अवोध आइरहेको छ । नाका सुचारू हुन नसक्दा सामान बोकेका सयौं कन्टेनरहरू बीच बाटोमा नै अलपत्र परेको व्यवसायीहरूले बताउँदै आएका छन् । यसले समेत राजस्व संकलनमा ठूलो असर पारेको छ । अर्थ मन्त्रालयले उत्तरी नाका खुलाउनका समन्वयकारी भूमिका खेल्न परराष्ट्र र वाणिज्य मन्त्रालयलाई आग्रह गरे पनि अझैसम्म ती नाका सहज रूपमा कहिले खुल्ने हुन् भन्नेमा अन्योल कायमै रहेको अधिकारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)