ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ढल्केवर सबस्टेशनको क्षमता विस्तार

२०७७ पौष, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले देशकै सबैभन्दा ठूलो सबस्टेशन ढल्केवरमा ३१५ एमभीए क्षमताको थप ट्रान्सफर्मर जडान गरेको छ । प्राधिकरणले सबस्टेशनको स्तरोन्नति गर्न सो क्षमताको ट्रान्सफर्मर जडान गरेको हो ।

जडान गरिएको ट्रान्सफर सोमवारदेखि नै सञ्चालनमा ल्याइएको छ । अब त्यस सबस्टेशनमा भएका ट्रान्सफर्मरहरूको कुल क्षमता ६३५ एमभीए पुगेको छ । यसअघि सबस्टेशनमा २२० केभी र १३२ केभीका २ ट्रान्सफर्मर थिए, उनीहरूको कुल क्षमता भने ३२० एमभीए रहेको थियो । सबस्टेशनमा अर्काे ट्रान्सफर्मर जोड्ने काम पनि भइरहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।

ट्रान्सफर्मर जोडिएसँगै भारतबाट थप १०० मेगावाट विद्युत् आयात गर्न सकिने भएको छ । हाल उक्त सबस्टेशनबाट २५० मेगावाट विद्युत् आयात गर्न सकिन्छ । अब भने थप १०० मेगावाट गरेर ३५० मेगावाटसम्म विद्युत् आयात गर्न सकिने प्रवक्ता तिम्सिनाले बताए । उक्त सबस्टेशनमा ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् आयात गरिँदै आइएको छ ।

भारतसँग भएको सम्झौताअनुसार पूर्ण रूपमा विद्युत् आयात गर्न सकिने भएको छ । त्यस प्रसारण लाइनबाट विद्युत् ल्याउने गरी भारतको एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन) सँग विद्युत् खरीद विक्री सम्झौता (पीपीए) गरेको थियो ।

पीपीएअनुसार प्राधिकरणले जुलाईदेखि नोभम्बरसम्म २५० मेगावाट र डिसेम्बरदेखि अप्रिलसम्म ३५० मेगावाट विद्युत् सोही प्रसारण लाइनबाट ल्याउन सकिन्छ । मेदेखि जुनसम्म २०० मेवा विद्युत् लिने गरी उक्त पीपीए भएको थियो ।

आवश्यक पूर्वाधार नहुँदा हिउँदको समयमा सम्झौताअनुसारको विद्युत् आयात गर्न सकिएको थिएन । तर, अब ३५० मेगावाट विद्युत् नै आयात गर्न सकिने प्राधिकरणको भनाइ छ । प्राधिकरणले भारतको विद्युत् निगमसँग गरेको पीपीएको अवधि यही जुन ३० तारीखसम्म रहेको छ ।

साथै, उक्त सबस्टेशनबाट वर्षा याममा बढी हुने नेपालको बिजुली भारततर्फ पनि निर्यात गर्न सकिनेछ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् सोही सबस्टेशनमार्फत भारततर्फ निर्यात गर्न सकिनेछ प्राधिकरणको भनाइ छ । वर्षा याममा बढी हुने विद्युत् सीधै भारतीय बजारमा पठाउन सकिने प्राधिकरणकोभनाइ छ ।

हाल माथिल्लो तामाकोशी आयोजना निर्माणको अन्तिम चरणमा छ । साथै, प्राधिकरणले २२० केभीको खिम्ती–ढल्केवर प्रसारण लाइनलाई पनि पूर्णरूपमा सञ्चालन गर्ने काम गरिरहेको छ । उक्त आयोजनाको विद्युत् सोही प्रसारणलाइनमार्पmत ढल्केवर सबस्टेशनमा जोड्न सकिनेछ । सोही सबस्टेशनले उक्त विद्युत्लाई नेपालको पूर्व– पश्चिमतिर सप्लाइ गर्नेछ ।

यहाँ खपत नभएको विद्युत् भने भारतीय बजारमा विक्री गरिने बताइएको छ । यस्तै, उक्त सबस्टेशनको क्षमता अभिवृद्धि गरेसँगै अब दुई मुलुकबीच इनर्जी बैंकिङको काम गर्नसमेत सहज हुने प्राधिकरणको विश्वास छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)