ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जा प्रवाह तीव्र

सातामै २२ अर्ब कर्जा लगानी बढ्यो

२०७७ पौष, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । वाणिज्य बैंकहरूको कर्जा वृद्धि गतवर्षको तुलनामा तीव्र रूपमा बढ्न थालेको छ । चालू आर्थिक वर्ष (आव)को शुरूमै कोभिड महामारीबाट उद्योग तथा व्यवसायहरू थला परेको भए पनि गतवर्षको तुलनामा कर्जा प्रवाह वृद्धिदर उत्साहजनक देखिन थालेको हो ।

पुसको शुरूदेखि साप्ताहिक कर्जा प्रवाह रू. १७ अर्बदेखि रू. २२ अर्बको हाराहारीमा बढिरहेको छ । गतवर्षको यही अवधिमा यस्तो वृद्धि रू. ३ अर्बदेखि ७ अर्बसम्म मात्र भएको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ । कोभिडबाट थलिए पनि अहिले बजारमा चहलपहल बढेसँगै कर्जा प्रवाहमा राम्रो सुधार देखिएको बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार पुसको पहिलो र तेस्रो साता समानान्तर रूपमा २२ अर्ब रुपैयाँले कर्जा वृद्धि भएको छ । पुसको तेस्रो साता सो रकममा कर्जा थपिँदा कुल कर्जा ३१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, पुसको दोस्रो साता रू. १७ अर्बले कर्जा वृद्धि हुँदा कुल ३१ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गतवर्षको तुलनामा चालू आवमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह झन्डै २० प्रतिशतले बढी भएको संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । उनका अनुसार कोभिडले लामो समय अर्थतन्त्र चलायमान हुन नसके पनि चाडपर्वपछि भने आर्थिक गतिविधिहरू एकदमै बढ्न थालेकाले कुनै बेला ऋणात्मक भएको कर्जा वृद्धिमा अहिले धेरै सुधार आउन थालेको छ । ‘गत चैतदेखि भदौसम्मको ६ महीनामा कर्जा प्रवाह खासै हुन सकेको थिएन । असोजदेखि यता मात्र कर्जामा माग बढ्न थालेको हो,’ उनले भने, ‘पर्यटनबाहेक सबैतिर कर्जाको माग बढी आएको छ । साथै, प्रतीतपत्र (एलसी)हरू धेरै खुल्न थालेका छन् । बैंकहरूमा सबै खालका कारोबार बढ्न थालेको छ ।’

चालू आवको शुरूमा कर्जा प्रवाहमा संकुचन आउँदा गत साउन महीनामा २५ अर्ब रुपैयाँले कर्जा प्रवाह ऋणात्मक भएको थियो । भदौमा भने रू. २६ अर्ब कर्जा वृद्धि भई रू. २९ खर्ब ४ अर्ब रुपैयाँ पुगेको थियो । यस्तै, असोजमा रू. १ खर्ब ३१ अर्ब थप कर्जा वृद्धि हुँदा रू ३० खर्ब ३५ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह भएको थियो । मङ्सिरमा थप ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको थियो ।

अझै पनि कर्जाको माग अपेक्षाअनुसारको नबढेको हुँदा बजारमा अधिक तरलताको स्थिति आएको बैंकरहरूको भनाइ छ । बजारमा अभैm १ खर्ब ७६ अर्ब रुपैयाँको हाराहारीमा लगानीयोग्य पूँजी (तरलता) को स्थिति छ । अधिक तरलताका कारण कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) खुकुलो छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आइतवारसम्म बैंकहरूको सीसीडी ७३ दशमलव ६३ प्रतिशतसम्म रहेको छ । बैंकहरूले कुल निक्षेपको ८५ प्रतिशतसम्मको कर्जा लगानी गर्न पाउने व्यवस्था छ ।

निक्षेप संकलनमा पनि सुधार
पछिल्लो समय कर्जा प्रवाहसँगै निक्षेप संकलनमा समेत सुधार देखिएको छ । बैंकहरूले पुसदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदरलाई ह्वात्तै घटाएर अधिकतम ८ प्रतिशत ब्याजदरमा सीमित पारे पनि निक्षेप संकलनमा भने घटेको देखिँदैन ।

संघको तथ्यांकअनुसार पुसको तेस्रो साता (पुस ११ देखि १७ गते) मा मात्रै निक्षेप संकलन रू. २७ अर्ब रुपैयाँले वृद्धि भई कुल निक्षेप रू. ३७ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, गत कात्तिकमा निक्षेप संकलन ऋणात्मक भएको वाणिज्य बैंकहरूको मङ्सिरमा भने सुधार भएको थियो । मङ्सिरसम्ममा २७ ओटा वाणिज्य बैंकको मासिक निक्षेप संकलन ४६ अर्ब रुपैयाँले वृद्धि हुँदा कुल निक्षेप संकलन रू. ३६ खर्ब ९४ अर्ब पुगेको थियो । गत कात्तिकमा यस्तो निक्षेप ६ अर्बले ऋणात्मक हुँदा कुल निक्षेप रू. ३६ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)