ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समुद्री कार्गाेको भाडा बढ्यो

उपभोक्तामाथि भार थपिने

२०७७ पौष, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । तेस्रो मुलुकबाट समुद्री मार्ग भएर आउने कच्चा पदार्थ र दैनिक प्रयोगमा आउने सामानको ढुवानी भाडा बढेपछि नेपाली बजारमा थप मूल्यवृद्धि हुने भएको छ । तोरी, भटमास, प्लास्टिकको दाना, कोइला, फलामलगायत औद्योगिक कच्चा पदार्थ र विद्युतीय वस्तुको ढुवानीमा भएको मूल्य वृद्धिले नेपाली बजारमा असर पार्ने उद्योगीहरूले बताएका छन् ।

तेस्रो मुलुकबाट आउने प्लास्टिकको दानामा एक टनमा नै ४ सय डलर मूल्य बढेको छ । कोरोना अघि प्रतिटनको ८०० डलर ढुवानी भाडा रहेकामा अहिले कोभिडको महामारीको कारण देखाउँदै ढुवानी कम्पनीहरूले १२ सय डलर लिन थालेको बागमती प्लास्टिकका सञ्चालक एवं उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्दकिशोर राठीले बताए । उनका अनुसार ढुवानी भाडा बढेका कारण अब प्रत्येक वस्तुमा किलोमा ८ देखि १० रुपैयाँ मूल्य वृद्धि हुने अवस्था छ । एउटा कन्टेनरमा १६ देखि १७ टनसम्म सामान ढुवानी हुन्छ । प्लास्टिकको दाना यूएई, दक्षिण अफ्रिका, सिंगापुर र भारतबाट आयात हुन्छ ।

चीनबाट हुने समुद्री ढुवानीको भाडासमेत आकाशिएको छ । पहिले ४० फिटे कन्टेनरको भाडा १६ सय यूएस डलर थियो । अहिले ५४ सय डलर पुगेको छ । भाडा निकै बढेपछि उद्योगी र व्यापारी आप्mनो सामान होल्ड गराउन बाध्य भएका छन् ।

मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य पवन शारडाले कोरोनाको कारण देखाएर पानी जहाज कम्पनीहरूले मनोमानी भाडा बढाएकाले नेपाली उपभोक्ताहरूले महँगीको सामना गर्नुपर्ने अवस्था आएको छ । पहिलो १५ देखि २० दिनमा तेस्रो मुलुकबाट आइपुग्ने माल अहिले ३० देखि ४० दिनसम्म लागिरहेको छ । यसै कारणले अहिले उद्योगहरूमा कच्चा पदार्थको समेत कमी हुन थालेको छ ।

रिफाइन तेल, खानेतेल, विद्युतीय सामग्री, औद्योगिक कच्चापदार्थलगायतमा ढुवानी भाडाका बढ्दाको असर देखिन थालेको छ । यसअघि नै खाने तेलको मूल्य प्रतिलिटर १० रुपैयाभन्दा बढी बढेको छ । त्यसैगरी फलामका सामग्री, सिमेन्ट, प्लास्टिकका सामग्रीमा समेत प्रतिकिलो १० रुपैयाँ मूल्य बढेको छ ।

राठीका अनुसार प्लास्टिक दानामा भएको मूल्य वृद्धिले प्याकेजिङ मेटेरियलको समेत मूल्य बढ्ने र त्यसले चेन इफेक्ट पर्ने छ । प्याकेजिङमा मूल्य बढ्नेबित्तिकै सबैजसो औद्योगिक उत्पादन महँगो हुने उनको भनाइ छ ।

विश्व बजारमा अक्टोबर अगाडि भएको उत्पादनको कटौती र हाल कन्टेनरको कमी भएसँगै अन्तरराष्ट्रिय बजारमा उत्पादनको समेत मूल्य वृद्धि भएको छ । ढुवानीको र अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले नेपालको बजारमा कम्तीमा ६ महीनासम्म अस्थिरता पैदा हुने उद्योग संगठनका उपाध्यक्ष सुयश प्याकुरेल बताउँछन् । उनी भन्छन्, ‘कोरोनाको भ्याक्सिनको सहज उपलब्धता र बन्दाबन्दी खुल्दै गएपछि विश्व बजारमा वस्तुको मूल्य घट्न सक्छ । मूल्यमा कमी आउन कम्तीमा पनि ६ महीना लाग्छ ।’

भन्सार एजेन्ट संघ विराटनगरका उपाध्यक्ष नवलकिशोर उपाध्यायले अहिले कन्टेनर बोक्न पहिले जस्तो ठूला पानी जहाज नभए साना र थोरै सामान आट्ने खालका जहाज मात्र सञ्चालनमा रहेकाले ढुवानीको मूल्य बढेको हो । पहिले ठूला पानी जहाजले हजारौं कन्टेनर लिएर आउँथे, जसले गर्दा भाडा सस्तो पथ्र्योे । तर, अहिले साना जहाजले चार्टरको तरीकाले कन्टेनर बोक्न थालेकाले भाडा वृद्धि भएको हो ।

भाडा तीन गुणभन्दा बढी बढेपछि त्यसमा आउने सामानको मूल्य स्वाभाविक रूपमा बढ्ने उनले बताए । ढुवानी भाडा बढेकाले आयात मात्र होइन, निर्यात गर्दा पनि निकै समस्या उद्योगी व्यवसायीले बेहोर्नु परिरहेको उपाध्यायले बताएका छन् ।

बेलायतका लागि पठाएको कार्गो कोभिड संक्रमणको शंकामा श्रीलंकामा गएर डम्प भएको छ । उनका अनुसार अहिले कार्गाे आउने र पुग्ने समयको कुनै तालिका छैन । समुद्री ढुवानी सेवा तालिकाविहीन बनेको छ ।
 
उद्योगी व्यवसायीहरू अंग्रेजी नयाँ वर्षपछि भाडा केही घट्ने आशामा छन । विकसित मुलुकहरूमा कोरोनाको भ्याक्सिन उपलब्ध हुन थालेसँगै ढुवानी र कच्चा पदार्थमा भएको मूल्य वृद्धि क्रमशः घट्नेमा आशावादी हुन सकिने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)