ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

२०७७ पौष, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा author avatar काशीराम बजगाईं

काठमाडौं । पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।

चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो भनेको जेनेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो ।

यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पुगेकोमा यस वर्ष २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

विभागका महानिर्देशक सुमन दाहालले तथ्यांकअनुसार जेनेरेटरको आयात बढेको बताए । उनले भने, ‘फेरि लोडशेडिङ हुने हल्लाकै कारण हो वा अन्य कारणले हो भन्न सकिन्न गतवर्षको तुलनामा जेनेरेटरको आयात भने बढेको देखिन्छ ।’

कुलमान घिसिङको कार्यकाल सकिएसँगै विस्तारै पहिलेको तुलनामा बढी बिजुली काटिन थाल्दा सर्वसाधारणमा लोडशेडिङ फेरि शुरू हुने हो कि भन्ने आशंका बढ्दै गएपछि प्राधिकरणले दुईपटक विज्ञप्ति नै निकालेर लोडशेडिङ नहुने बताइसकेको छ । गत साता केही ठाउँमा बत्ती जाने क्रम बढेको र ललितपुरका केही स्थानमा लोड कम गर्न विद्युत् काटिने सूचना नै प्राधिकरणले निकालेको थियो । यद्यपि, प्राविधिक समस्या, विद्युत् मर्मत र मौसमका कारण सामान्य विद्युत् कटौती गरिएकोमा लोडशेडिङ नहुने भन्दै गत साता प्राधिकरणले पुनः विज्ञप्ति निकालेको छ ।

गतवर्षको तुलनामा यस वर्ष कम बिजुली कटौती भएको दाबी प्राधिकरणको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले विद्युत् कटौतीको समय घटेको बताए । जाडो बढेसँगै विद्युत्को माग बढ्दै गएको उनको भनाइ छ । सोमवार विद्युत्को उच्च माग करीब १५ सय मेगावाट रहेकोमा यो अघिल्लो वर्षको भन्दा बढी हो । सामान्यतया गर्मी मौसममा भन्दा चिसोमा विद्युत्को माग उच्च हुने गरेको छ । हाल भारतबाट दैनिक ६ सय २० मेगावाट विद्युत् आपूर्ति गरिरहेको प्राधिकरणले माग बढेपछि थप विद्युत् आपूर्ति गर्ने योजनासमेत बनाइरहेको छ ।

प्राधिकरणले विज्ञप्ति निकाल्दै अहिले लोडशेडिङ गर्नुपर्ने अवस्था नरहेको बरु उपभोक्तामा थप विद्युत् आपूर्ति गर्न प्राधिकरण प्रतिबद्ध रहेको उल्लेख गरेको छ । लोडशेडिङ बढ्यो भन्ने हल्ला भए पनि यस वर्ष गतवर्षको तुलनामा कम बिजुली काटिएको दाबी प्राधिकरणको छ ।

यद्यपि, चालू आवको शुरूदेखि नै जेनेरेटर ब्याट्रीको आयात भने निरन्तर बढ्दै गएको छ । यसअघि आव २०७४/७५ सम्म जेनेरेटर, ब्याट्री र इन्भर्टरको आयात बढ्दै गएकोमा आव २०७५/७६ मा ह्वात्तै घटेको थियो । अघिल्लो आवमा यस्ता उपकरणको आयात छिटपुट भएको थियो ।

प्राधिकरणले २०७५ वैशाखदेखि देशभर लोडशेडिङ अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछिको पहिलो १० महीनामा जेनेरेटर र इन्भर्टरको आयात उल्लेख्य नघटे पनि ब्याट्रीको आयात भने क्रमशः घट्दै गएको थियो । लोडशेडिङ अन्त्य भएकै वर्षको माघपछि इन्भर्टरको आयात क्रमशः घट्दै गएको थियो ।

चालू आवमा भने जेनेरेटर र ब्याट्रीको आयात पुनः बढ्न थालेको देखिन्छ । जेनेरेटर र ब्याट्रीको आयात बढे पनि आफूहरूले आयात नगरेको उद्योगीहरूको दाबी छ ।

बन्दाबन्दीयता उद्योगहरू पनि प्रायः बन्द भएको र उत्पादन पनि घटाएको कारण उद्योगीहरूले जेनेरेटर आयात नगरेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए । जेनेरेटरको आयात बढ्नु अस्वाभाविक भएको बताउँदै उनले लोडशेडिङ हुने त्रासका कारण व्यक्तिगत रूपमा वा स्टक राख्न कुनै व्यापारीले जेनेरेटर र ब्याट्रीको आयात गरेको हुन सक्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)