ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माणाधीन मुख्य ३ राजमार्ग तोकिएको समयमै सम्पन्न हुनेमा आशंका

२०७७ पौष, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । निर्माणाधीन मुख्य ३ राजमार्ग तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका देखिएको छ । निर्माणाधीन मध्यपहाडी (पुष्पलाल), हुलाकी र मदन भण्डारी राजमार्ग सम्पन्न गर्न नियमित रूपमा काम गर्न नसकिएको र निर्वाचनको कार्यक्रम अघि ल्याइएकाले तोकिएको समयसीमा भेट्न समस्या हुने आयोजना प्रमुखहरूले बताएका छन् ।

गत आर्थिक वर्ष (आव) २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा पुष्पलाल र हुलाकी राजमार्ग ४ वर्ष अर्थात् २०७९/८० मा निर्माण गरिसक्ने घोषणा गरिएको थियो । साथै, पूर्वपश्चिम (महेन्द्र) राजमार्ग पनि विस्तार गरिसक्ने सरकारले घोषणा गरेको थियो । मदन भण्डारी रागमार्ग निर्माण ५ वर्ष अर्थात् २०८१/८२ सम्ममा सम्पन्न गर्ने घोषणा गरिएको थियो ।

निर्धारित लक्ष्य भेट्ने गरी काम गर्ने दाबी आयोजना प्रमुखहरूको छ । २०६५/६६ मा शुरू भएको र राष्ट्रिय गौरवको आयोजनासमेत रहेको हुलाकी राजमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । संशोधित कार्यतालिकाअनुसार २०७९/८० मा सम्पन्न गर्ने भनिए पनि कोरोना भाइरस (कोभिड–१९) र पछिल्लो समय विकसित राजनीति र निर्वाचनका कारण निर्माणमा समस्या हुने सम्भावना रहेको हुलाकी राजमार्ग आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

‘अझै वर्ष बाकी छ तर गतवर्ष पूर्णरूपमा काम गर्न सकिएन । विनियोजित बजेटको ६० झन्डै प्रतिशत बजेट खर्च गर्न नसक्दा सरकारलाई नै फिर्ता गर्नुपरेको थियो,’ बिसुरालले भने, ‘यस राजमार्गका कतिपय खण्डमा राष्ट्रिय निकुञ्ज तथा घना जङ्गल भएकाले त्यस्ता स्थानहरूमा वातावरणीय प्रभाव मूल्याकंन (ईआईए) गर्नै समय लाग्ने देखिन्छ ।’

कतिपय खण्डमा बस्ती नभएकाले पनि तत्काल नै सडक पुर्‍याउन आवश्यकता पनि नदेखिएकाले यो राजमार्ग समयमै सम्पन्न हुनेमा शंका देखिन्छ ।

यो राजमार्गका अधिकाश खण्डमा नियमित काम भइरहेको बिसुरालको भनाइ छ । राजमार्गको दूरीसहित फिडर रोडसमेत जोड्दा १ हजार ८५७ किलोमीटर (किमी) पुग्छ । आयोजनाका अनुसार हालसम्म ६१८ किमी सडक कालोपत्र भइसकेको छ ।

यसैगरी पुष्पलाल राजमार्ग आयोजना प्रमुख दीपक केसीले नीति तथा कार्यक्रमअनुसारको कार्ययोजना बनाइ तोकिएकै समयमा राजमार्ग बनाइ सक्ने लक्ष्य रहेको बताए ।

१ हजार ६६३ किमी लामो सो राजमार्गका केही खण्ड कास्की, लमजुङ जिल्ला र सुनकोशी र बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण ती स्थानमा समस्या रहेको उनको भनाइ छ ।

कोरोनाकै कारण काम गर्न नसकिएको भन्दै केसीले भने, ‘यद्यपि तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी ठेक्का व्यवस्थापन तथा निर्माण अघि बढाएका छौं ।’ हालसम्म सो राजमार्गमा ९१३ किमी सडक कालोपत्र स्तरमा स्तरोन्नति भइसकेको छ ।

भित्री मधेशका जिल्लाहरूलाई जोड्ने गरी २०७५ मा राजमार्गका रूपमा स्तरोन्नति गरिएको मदन भण्डारी राजमार्ग भने २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मदन भण्डारी राजमार्ग आयोजनाका सूचना अधिकारी शिवशरण तिमल्सिनाले कुल १ हजार २०० किमीमध्ये २६८ दशमलव ५ किमी सडक कालोपत्रमा स्तरोन्नति भइसकेको बताए । तोकिएकै समयमा राजमार्ग सम्पन्न गरिने उनको भनाइ छ ।

पूर्वपश्चिमी राजमार्गमा सडक विस्तार तथा निर्माण शुरू गरिएको छ । दातृ निकाय विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)को सहयोगमा सो राजमार्गका विभिन्न खण्ड नारायणघाट–बुटवल खण्ड, कमला–कञ्चनपुरलगायत खण्ड निर्माण तथा विस्तारको क्रममा रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)