ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा समितिका अध्यक्षको कार्यकाल आज सकिँदै

नयाँ अध्यक्ष नियुक्तिको तयारी छैन , निकै उतारचढावका साथ काम गर्नुपर्‍यो : अध्यक्ष चापागाईं

२०७७ पौष, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको चारवर्षे कार्यकाल आज (बिहीवार) सकिँदै छ । २०७३ पुस १४ गते तत्कालीन मन्त्रिपरिषद् बैठकले उनलाई समितिको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यसपछि उनले २०७३ पुस २४ गते पदबहाली गरेका थिए ।

उनको कार्यकाल सकिएसँगै शुक्रवारदेखि उक्त पद रिक्त हुनेछ । तर, सम्बन्धित निकाय अर्थ मन्त्रालयले भने नयाँ अध्यक्ष नियुक्तिको विषयमा कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । समितिले पद रिक्त हुन लागेको यसअघि नै अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ । तर, मन्त्रालयले यस विषयमा कुनै पनि प्रक्रिया अगाडि नबढाएको वित्तीय महाशाखाका एक अधिकारीले बताए ।

बीमा समितिको अध्यक्ष नियुक्तिको विषयमा खास बलियो प्रावधान छैन । पद रिक्त भएको यति दिनभित्र अध्यक्ष नियुक्ति गर्नुपर्ने भनेर बाध्यकारी नियम पनि छैन । बीमा ऐनमा अध्यक्ष नियुक्तिका लागि छनोट समिति गठन गर्नुपर्ने समेत व्यवस्था छैन ।

अर्थमन्त्रीले समितिको अध्यक्ष नियुक्तिका लागि तीनजना व्यक्तिको नाम सीधै मन्त्रिपरिषद्मा सिफारिश गर्न सक्नेछन् र मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई समितिको अध्यक्षमा नियुक्त गर्नेछ । अर्थमन्त्री विष्णु पौडेलका प्रेस संयोजक भुवन केसीले यस विषयमा कुनै छलफल तथा तयारी नभएको बताए । यद्यपि, बीमा समितिमा अध्यक्ष बन्ने होडमा रहेका सम्बन्धित व्यक्तिले राजनीतिक रूपमा लबिङ गरिरहेको जानकारहरू बताउँछन् ।

बीमा क्षेत्रका सरोकारवालाहरूले अध्यक्ष चापागाईंको चारवर्षे कार्यकाल सफल भएका बताएका छन् । अध्यक्ष चापागाईंले बीमा क्षेत्रको व्यवसाय, सेवा तथा पहुँच विस्तार, नीति निर्माण, सुधार लगायत विषयमा प्रभावकारी काम गरेको उनीहरूको भनाइ छ । ४ वर्षअघि नेपालमा बीमाको पहुँच ७ प्रतिशत नेपालीमा थियो । अहिले त्यो करिब २३ प्रतिशत नेपालीमा पुगेको छ । यद्यपि, कतिपय विषयमा उनी असफल भएको पनि बताइएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अध्यक्ष चापागाईंको कार्यकाल सफल नै भएको बताए । ‘उहाँले जुन अठोट लिएर आउनु भएको थियो । विशेषगरी बीमाको दायरा बढाउने, बीमा क्षेत्रको विस्तार गर्ने लगायत काममा उहाँ सफल हुनु भएको छ,’ उनले भने, ‘साथै, बीमा क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा पनि उहाँले काम गर्नु भएको छ ।’

यस्तै, बीमा तालीम केन्द्रको स्थापना गर्ने, १२ वर्षदेखि थाती रहेको नयाँ कम्पनीको लाइसेन्स वितरण गर्ने, बीमा कम्पनीमा सुशासन कायम गर्ने, विभिन्न विषयमा नीति बनाउने, बीमा क्षेत्रमा नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम (एनएफआरएस) लागू गर्ने विषयमा अध्यक्ष चापागाईंले विशेष काम गरेको बताइन्छ ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुनीलवल्लभ पन्तले पनि अध्यक्ष चापागाईंको कार्यकाल सफल भएको बताए । विशेषगरी चापागाईंले बीमाको पहुँच बढाउने मामलामा ठूलो उपलब्धि हासिल गरेको उनको भनाइ छ ।

प्राइम लाइफ इन्स्योरेन्सका सीईओ मनोजकुमार भट्टराईले पनि अध्यक्ष चापागाईंको कार्यकाल सफल भएको प्रतिक्रिया दिए । यस अवधिमा अध्यक्ष चापागाईंले कुनै पनि बीमा कम्पनीलाई समस्यामा पार्नेगरी काम नगरेको उनको भनाइ छ ।

बीमाविज्ञ रवीन्द्र घिमिरेले भने अध्यक्ष चापागार्इं केही विषयमा असफल भएको टिप्पणी गरे । चापागाईंले गाउँ गाउँमा बीमा सेवा विस्तार गरे पनि गरीब नागरिकलाई बीमाको दायरामा ल्याउन नसकेको उनको भनाइ छ । साथै, बीमा तालीम केन्द्रलाई पनि प्रभावकारी सञ्चालन गर्न नसकेको उनले बताए ।

यस्तै, बीमा कम्पनीहरूका लागि आवश्यक मात्रामा बजार बनाउन मामलामा पनि चापागाईं असफल भएको उनको भनाइ छ । ‘नयाँ बीमा कम्पनीलाई लाइसेन्स त दिनुभयो । तर, उनीहरूलाई आवश्यक मात्रामा बजार बनाउन सक्नु भएन,’ उनले भने, ‘साथै बीमा क्षेत्रको सूचनाको विषयमा पनि काम भएको देखिएन । अझै पनि बीमा सम्बन्धी तथ्यांक लगायत सामग्री सहजै पाइँदैन ।’

यसका अलावा बीमा ऐन ल्याउने, बीमा समितिको नयाँ भवन बनाउने, बीमा सूचना केन्द्र स्थापना गर्ने, विश्वविद्यालयहरूमा बीमा कोर्सका लागि पहल गर्ने, लघुबीमा विस्तार गर्ने काम अध्यक्ष चापागाईंबाट हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।

स्वयम् अध्यक्ष चापागाईंले भने आफ्नो चारवर्षे कार्यकाल निकै उतारचढावपूर्ण भएको बताए । विभिन्न बहानामा अदालतमा मुद्दा हाल्ने गरेर स्वतन्त्र रूपमा आफूलाई काम गर्न नदिएको उनको भनाइ छ । ‘यति हुँदाहुँदै पनि केही राम्रो काम गरेँ जस्तो लाग्छ,’ उनले भने । बीमालाई वित्तीय क्षेत्रको मूल धारमा ल्याउन पनि आपूm सफल भएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)