पर्वत । पर्वतको कुश्मा बजारमा पार्किङ व्यवस्थित गरिने भएको छ । बस्ती बढ्दै गएको, बजारमा गल्ली साँघुरो रहेको र पर्यटकीय पूर्वाधारका कारण भीडभाड बढ्न थाले पनि यहाँ पार्किङ व्यवस्थित हुन सकेको छैन ।
बसपार्क समेत नहुँदा सडकमै यात्रु झार्ने र चढाउने गरिन्छ । सवारी पार्किङ क्षेत्र नहुँदा बजार अस्तव्यस्त भएको र दुर्घटनाको जोखिम बढ्ने देखिएपछि नगरपालिकाले पार्किङ व्यवस्थापन गर्न थालेको हो । कुश्मा नगरपालिकामा बुधवार बसेको बैठकले यातायात व्यवस्थापन समिति गठन गरेर पार्किङ क्षेत्र निर्माण गर्ने निर्णय गरेको छ ।
वडाध्यक्ष सुवासचन्द्र पौडेलको अध्यक्षतामा गठित समितिलाई पार्किङ क्षेत्र बनाउने जग्गा खोजी गरी अर्को बैठकमा प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । हाल पार्किङ क्षेत्र नभएकाले बजार क्षेत्रभित्र अन्य विकल्प प्रयोग गरी तत्काललाई सवारीसाधानको चाप कम बनाउने तयारी रहेको उनले बताए । बैठकले विद्यालय समय र सरकारी कार्यालयको कामकाजको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका साढे ३ देखि साढे ४ बजेसम्म बजार क्षेत्रमा मालवाहक तथा यात्रुवाहक ठूला सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । यो नियम पुस २५ गतेदेखि लागू हुनेछ ।
मध्यपहाडी लोकमार्गका छेउछाउमा यात्रु झार्ने र चढाउने सानाखाले बस बसौनी स्थल निर्माण गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख प्रसासकीय अधिकृत हरि पंगेनीले जानकारी दिए । बजारमा पैदलयात्रु हिँड्ने फुटपाथ मिचेर व्यवसायीले सामान विक्रीका लागि राख्ने गरेको र पाली बनाएर फुटपाथ अवरोध गरेको भन्दै उनले तत्काल हटाउन निर्देशन दिइएको उनले बताए ।