धनगढी । राष्ट्रिय वाणिज्य बैंकले कञ्चनपुरको अमर बस्तीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । पुनर्बास नगरपालिका–११ स्थित अमर बस्तीका स्थानीयलाई बैंकिङ सेवा प्रवाह गर्ने उद्देश्यले शाखारहित बैंकिङ सेवा सञ्चालन गरिएको बैंकको धनगढी शाखाका शाखा प्रबन्धक मानबहादुर साउदले बताए ।
शाखारहित बैंकिङ सेवाको पुनर्बास नगरपालिका प्रमुख जीवन थापाले उद्घाटन गरे । बैंकले सुरु गरेको शाखारहित सेवामार्फत ग्रामीण क्षेत्रका वासिन्दालाई घरगाउँबाटै बैंकिङ सुविधा लिन सहज हुने उनले बताए ।
अमर बस्तीसहित बैंकको शाखारहित सेवा सञ्जाल १ सय ४९ र शाखा संख्या १ सय ६० छन् । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा बैंकले ११ शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।
बैंकले अमर बस्तीमा खोलिएको शाखारहित सेवाका लागि स्थानीय व्यवसायी मीना भण्डारी महतलाई प्रतिनिधि नियुक्त गरेको छ ।