ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भैरहवाभन्दा पहिले पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने

२०७७ पौष, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ ।

विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका अनुसार हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटीसी टावर, सातओटा भवन, एउटा ह्याङगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधारमा फिनिसिङको काम जारी छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ । विमानस्थलमा जडान हुने ५० प्रतिशतभन्दा बढी उपकरण आइसकेको र बाँकी पनि केही समयभित्रै आइसक्नेछन् । ती सामग्री आएको ६ महीनाभित्रै जडानको काम सकिने विमानस्थल आयोजना प्रमुख इन्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए । कोभिड–१९ को समस्या नभएको भए यो अझै छिट्टो सम्पन्न हुन सक्थ्यो । कोभिडकै कारण करीब ३ महीना पूर्णरूपमा काम रोकियो ।

नयाँ वर्ष मनाउन आफ्नो देश गएका चिनियाँ कामदार कोरोनाका कारण उतै रोकिए । ‘अहिले उनीहरू विस्तारै आउन थालेका छन्,’ उनले भने, ‘प्रविधि जडानका लागि आवश्यक पर्ने अन्य विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको छ । उनीहरू आउनासाथ जडानको काम शुरू हुनेछ । यस हिसाबले हामीले निर्धारित समय अर्थात् सन् २०२१ को जुन महीनाभित्र आयोजना सक्छौं ।’ प्रविधि जडानका लागि चीनसहित यूरोप, अस्ट्रेलियाबाट पनि प्राविधिक ल्याउनुपर्ने उनले जानकारी दिए ।

विमानस्थलनजिकैको डाँडा काटिँदै
ठूला विमानको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको विमानस्थलनजिकै रिट्टेपानी डाँडा काट्ने तयारी भएको उनले बताए । आयोजना प्रमुख मुनकर्मीका अनुसार यसको ईआईए प्रतिवेदन १ महीनाभित्र आइसक्ने र त्यसलगत्तै यसको ठेक्का प्रक्रिया अगाडि बढ्नेछ ।

‘विमान अवतरण एवं उडान गर्ने मार्गमा अवरोध हुन हुँदैन । त्यो डाँडा धावनमार्गको ‘अप्रोच’मा परेको छ । त्यसले उडान तथा अवतरणमा अवरोध पुर्‍याउने भएकाले काट्नुपर्छ । हाम्रो मार्गमा ‘४० मीटर ‘अप्स्ट्रयाकल’ परेकोले रिट्टेपानी डाँडा काटेर समतल बनाइनेछ,’ उनले भने ।

मुनकर्मीका अनुसार अन्तरराष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट र आन्तरिकतर्फ धावनमार्गको दुवै एप्रोचबाट उडान तथा अवतरण हुनेछ । डाँडो काट्दा दुवै खाले उडानलाई सहज हुनेछ ।

सन् २०१७ मा नै सकिने भनिएको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण पटकपटक म्याद थप्दै सन् २०२० को अन्त्यसम्ममा सम्पन्न गर्ने भनिए पनि सन् २०२१ लागिसक्दा पनि निर्माण पूरा भएको छैन । ९० देखि ९३ प्रतिशत काम सकिएको भनिए पनि अहिलेसम्मको कामको समग्र प्रगतिको गति र अब सम्पन्न हुने चरणमा रहेका काम हेर्दा भैरहवाभन्दा पोखरा नै चाँडै सञ्चालनमा आउने देखिएको हो ।

करीब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न हुन लागेको पोखरा विमानस्थल करीब ३९ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । वार्षिक ८ लाख यात्रुहरूलाई सेवा दिने क्षमताको यो विमानस्थलमा तीनओटा न्यारोबडी, चारओटा एटीआर जहाज र चारओटा ट्वीनअटर जहाज गरी ११ ओटा जहाज पार्किङ गर्न सकिने क्षमता छ ।

विमानस्थल निर्माणमा हाल १६० चिनियाँ र ६० नेपालीसहित २२० जना कर्मचारीले निरन्तर काम गरिरहेको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)