ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपार्टमेन्ट निर्माणमा सिईको पुनरागमन : ३५ करोड लगानीमा लुम्बिनीको ‘माया अपार्टमेन्ट’ निर्माण

२०७७ पौष, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । दुई वर्षअघि काठमाडौंको महाराजगञ्जमा प्रिमियर अपार्टमेन्ट निर्माण गरिसकेको सिई कन्स्ट्रक्सनले पुनः अपार्टमेन्ट निर्माण सुरु गरेको छ । कम्पनीले प्रिमियर अपार्टमेन्ट निर्माण गरेपछि पाइपलाइनमा रहेको ‘द हब लुम्बिनी’ प्रोजेक्टअन्तर्गतको ‘माया अपार्टमेन्ट’ निर्माण माघ ५ गते शिलान्यास गर्दै छ ।

०७६ पुसदेखि  ‘माया अपार्टमेन्ट’ निर्माण सुरु गर्ने योजनामा कोरोना महामारीले ब्रेक लगाएपछि सिईले अपार्टमेन्ट निर्माण स्थगित गरेको थियो ।

रियलस्टेट तथा अपार्टमेन्ट व्यवसायलाई विस्तार गर्दै उपत्यका बाहिरको धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुदाबजारमा सिईले ३५ करोड लगानीमा सो अपार्टमेन्ट निर्माण सुरु गर्न लागेको हो ।

सिई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारीले कोरोना संक्रमणको जोखिमकै बीच पनि पाइपलाइनमा रहेको प्रोजेक्ट अघि बढाएको बताए ।

‘कोरोनाबाहेक अपार्टमेन्ट निर्माण तथा सिंगो प्रोजेक्ट स्वीकृत गर्न समय लाग्दा काम अघि बढाउन सकिएको थिएन,’ राजभण्डारीले भने, ‘अब सम्बन्धित निकायबाट पनि अनुमति पाइएकाले माघदेखि अपार्टमेन्ट निर्माण सुरु गर्दै छौं ।’

‘माया अपार्टमेन्ट’ को सो लगानीबाट ४० अपार्टमेन्ट बन्ने कम्पनीले बताएको छ । यद्यपि यसअघिको योजनाअनुसार ३८ अपार्टमेन्ट बनाउने तयारी कम्पनीको थियो ।

कम्पनीका अनुसार हालसम्म ६० प्रतिशतले अपार्टमेन्ट बुकिङ गरिसकेका छन् भने ३ वर्षभित्र सो प्रोजेक्ट तयार हुनेछ । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहँदा लुम्बिनी वरपर पर्यटकीय पूर्वाधारमा लगानी गर्ने क्रम तीव्र भएको छ ।

यसै क्रममा निर्माण तथा पर्यटन क्षेत्रका व्यवसायीको संयुक्त लगानीमा लुम्बिनी नजिकै ८ अर्ब रुपैयाँको ‘द हब लुम्बिनी’ प्रोजेक्ट सुरु गरिँदै छ । यही प्रोजेक्टअन्तर्गत नै सो अपार्टमेन्ट बन्न लागेको हो ।

एस होटल्स एन्ड रिसोर्ट, सीई कन्स्ट्रक्सन प्रालि र ग्रान्डी होल्डिङ्सलगायत ४० लगानीकर्ताको लगानी रहने यो प्रोजेक्ट करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । अपार्टमेन्टका साथै यो प्रोजेक्टमा एस होटल तथा रिसोर्ट प्रालि (होटल एम्बास्डर) ले भने शाक्यमुनि होटल बनाउँदै छ ।

यस प्रोजेक्टको गुरुयोजनाअनुसार दुई वटा तारे होटल, अपार्टमेन्ट, मल्टिप्लेक्स, वाटरपार्कका साथै दर्जनौं रेस्टुराँ स्थापना हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)