ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खल्ला–मसेट्टीको मुहार फेरिदैँ, २५ वर्षपछि विद्युतीकरण

२०७७ पौष, २५  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

पुस २५, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतीय सीमा क्षेत्रमा पर्ने बस्ती खल्ला–मसेट्टी र टुडिखेल नगरकै दुर्गम बस्ती मानिन्थे । विकासका पुर्वाधारबाट बञ्चित रहेका उक्त बस्तीमा सडक सञ्जाल, विद्युत र सञ्चारलगायतका सेवा सुविधा थिएनन् । 

स्थानीय तहको सरकार बनेपछि खल्ला–मसेट्टी र टुडिखेलले विकासको गति लिएका छन् । विकास निर्माणका पुर्वाधारबाट पछाडि परेका बस्तीमा विकास निर्माणका कार्यले गति लिएको हो । 

भीमदत्त नगरपालिकाको पहलमा गत वर्ष नै सडक सञ्जालमा जोडिएको खल्ला–मसेट्टीमा अहिले विद्युतीकरण गरिएको छ । शुक्रवार नगर प्रमुख सुरेन्द्र बिष्टले विद्युतीकरणको औपचारिक उद्धघाटन गरे । २०५२ सालदेखि बस्ती विकास भएको खल्ला– मसेट्टीमा २५ वर्षपछि पहिलो पटक विद्युत पुगेको हो । 

‘सधै विकासबाट पछाडी परेको भनिने खल्ला–मसेट्टी स्थानीय सरकारको नेतृत्व आइसकेपछि हाम्रो प्राथमिकतामा पर्‍यो ।’ नगर प्रमुख सुरेन्द्र विष्टले भने ‘नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा लामो सयमपछि त्यहाँ विद्युतीकरण गरिएको छ, सडक विस्तार भइसकेको छ, अब चाँडै सञ्चार सेवा पनि सञ्चालनमा आउँछ ।’ भीमदत्त नगरपालिकाको ११ लाख र बाँकी प्राधिकरणका सहयोगमा खल्ला–मसेट्टीमा विद्युतीकरण सेवा विस्तार गरिएको उनको भनाइ छ । 

विद्युतीकरण भएपछि स्थानीयले जिविका सञ्चालन सहज हुने अपेक्षा गरेका छन् । खल्ला–मसेट्टीको विकासका लागि पुर्वाधार निर्माणसँगै खानेपानी, सिचाँईका बोरिङ, सहज स्वास्थ्य उपचारका लागि स्वास्थ्य केन्द्र स्थापना गरेको छ भने स्थानीय युवालाई स्वरोजगार बनाउन महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालनको तयारी भइरहेकोे छ । 

त्यस्तै, भीनपा–९ का वडाध्यक्ष राम नाथले लामो समयको प्रयासपछि दुर्गम वस्तीले विकासको काचुली फेरेको बताए । उनले २०५२ सालदेखि बस्ती बस्दै आएकोमा स्थानीय सरकारको नेतृत्वपछि विकासले गति लिएको उनको भनाइ छ । 

उनका अनुसार ३०० परिवार रहेको खल्ला–मसेट्टी र टुडिखेलमा पूर्ण रुपमा विद्युत विस्तार गरिएको र सञ्चारका लागि नेपाल टेलिकमको टावर निर्माण भइसकेको छ । सञ्चारका लागि भारतीय सीमकार्ड प्रयोग गर्दै आएका स्थानीयले केही समयपछि आफ्नै स्वदेशी नेटवर्क प्रयोग गर्न पाउने भएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)