ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वर्षौंदेखिको बाँझो जग्गा तरकारी र फलफूल खेतीले हराभरा

२०७७ पौष, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । मिहिनेत गरे के हुँदैन ? बेनीका एक व्यक्तिले वर्षौंदेखि बाँझिएर रहेको रुखो पाखोमा फलफूल र तरकारी खेती गरेर उर्बर भूमि बनाएका छन् ।

म्याग्दी सदरमुकाम बेनीमा अटो पार्टस्को व्यवसाय गर्दै आएका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित छविसमा १५ वर्षदेखि बाँझो रहेको जमिनलाई उपयोग गरी व्यावसायिक तरकारी र फलफूल खेती गरिरहेका हुन् ।

गाउँ छाडेर सहरमा व्यापार व्यवसायमा लागेलगत्तै बाँझो बसेको जग्गा झाडी र जंगल बन्न थालेपछि खेतीयोग्य जमिनलाई खेर जान नदिने अठोट लिएर कृषि उद्यममा लागेको केसीले बताए ।

गत वर्षको फागुनदेखि बाँझो जग्गालाई उपयोगमा ल्याउने अभियानमा लागेका केसीले अहिलेसम्म ५५ रोपनीमध्ये करिब २५ रोपनी जग्गामा तरकारी र फलफूल खेती विस्तार गरिसकेका छन् । ‘बाँझो जमिनमा झाडी फँडानी, खेतीयोग्य जमिन निर्माण र फलफूलका बिरुवा खरिदमा मात्रै ११ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ’, केसीले भने ।

एलभिन फलफूल तथा तरकारी फार्म स्थापना गरेका केसीले ६ सय कागती, १ हजार केरा, ४ सय आँप, १ सय ५० लिची, १ सय दाँते ओखर, अम्बालगायत बिरुवा लगाएका छन् ।

आलु, बन्दा, काउली, साग, गोलभेंडा, मटर, खुर्सानी, काँक्रो, घिरौला, करेलालगायत तरकारी खेतीसमेत सुरु गरेका केसीले अहिलेसम्म ५ लाख बराबरको तरकारी बिक्री गरिसकेको जानकारी दिए ।

‘बजारमा व्यवसायबाट राम्रै आम्दानी थियो तर यहाँ जग्गा बाँझो रहँदा पटक्कै मन मानेन । व्यवसायमा कर्मचारी राखेर  खेर गएको जमिनमा खेती गर्ने अभियानमा लागेको हुँ । गत वर्ष तीन महिनासम्म यहाँको झाडी फाँडें । अहिले तरकारी र फलफूल खेतीले हराभरा भएको छ । यो अभियानले आत्मनिर्भर उन्मुख व्यवसायतर्फ लाग्न प्रेरित गरेको छ’, केसीले भने ।

६ वर्ष वैदेशिक रोजगारीमा बिताएका जलजला गाउँपालिका–७ धाइरिङका केसीले १२ वर्षदेखि म्याग्दी सदरमुकाम बेनीमा अटो पार्ट्स व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

वरिपरि जंगलले घेरिएको फाँटमा तरकारी खेती र पाखामा गरिएको फलफूल खेती लोभलाग्दो बनेको छ ।

१० वटा घारबाट मौरीपालन र एभोगाडोको खेतीसमेत सुरु गरेका  केसीले केराबाट छिट्टै उत्पादन दिने भएकाले बाँझो जमिनमा गरेको लगानीबाट छिट्टै प्रतिफल आउने अपेक्षा गरेको बताए ।

फार्ममा प्रांगारिक मल मात्रै प्रयोग गरी आर्गानिक तरकारी उत्पादन गर्न थालेका उनले ग्राहकको सहजताका लागि बेनीमा आफ्नै तरकारी पसलसमेत सञ्चालनमा ल्याएका छन् ।

कतिपय उपभोक्ताले फार्ममै पुगेर तरकारी खरिद गर्ने गरेको उनले सुनाए । केसीले छिट्टै यहीँ क्षेत्रमा स्थानीय जातका कुखुरा, माछा, व्यावसायिक कालिजपालनलाई अघि बढाउने योजना रहेको सुनाए बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)