ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनुदानको खोपको प्रतीक्षामा सरकार

२०७७ पौष, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ । खोप बन्न थालेसँगै विश्वमा विभिन्न मुलुकले प्रि–अर्डर गर्न शुरू गरिसकेका छन् भने अमेरिका, चीन, कोस्टारिका, रसिया, चिली, बेलारुसलगायत देशले खोप लगाउन थालिसकेका छन् । हाम्रै छिमेकी मुलुक भारतले पनि खोपको प्रिअर्डर गरेको छ भने आफै पनि खोप निर्माण गरिरहेको छ । अन्य देशहरूले कोरोना खोप खरीदको प्रक्रिया अघि बढाइसकेकोमा नेपाल भने अझै अनुदानको खोपको प्रतीक्षामा रहेको छ । नेपालले हालसम्म कुनै पनि खोपको प्रिअर्डर गरेको छैन । यतिबेला अमेरिकास्थित फाइजर कम्पनीले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबीसहित प्रयोगमा आइरहेकोमा नेपालले उक्त खोप प्राथमिकतामा राखेको छैन । यो खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुँदा त्यस्तो पूर्वाधार बनाउनै कम्तीमा ६ महीना लाग्ने भएकाले अन्य खोपलाई प्राथमिकतामा राखिएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए । उनका अनुसार अमेरिकी कम्पनी मोडेर्नाबाट पनि भ्याक्सिन खरीदका लागि कूटनीतिक पहल गरिएकोमा उक्त भ्याक्सिन महँगो भएकाले भारतीय खोपलाई प्राथमिकतामा राखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), ‘गाभी’ र ‘सेपी’ नामक तीन संगठनले ‘कोभ्याक्स सुविधा’अन्तर्गत पहिलो चरणमा ३ र दोस्रो चरणमा १७ प्रतिशत जनतालाई पुग्ने गरी नेपाललाई निःशुल्क खोप दिने निर्णय गरेको छ । सरकार उक्त खोपको प्रतीक्षामा रहेको छ । यद्यपि, डब्ल्यूएचओले २०२१ को अगस्टसम्ममा मात्र ‘कोभ्याक्स सुविधा’मा विभिन्न देशमा खोप पठाउन सकिने बताएको छ । ‘डब्ल्यूएचओबाट स्वीकृत भएपछि कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत खोप प्राप्त गर्छ,’ कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा. उप्रेतीले बताए । परराष्ट्र मन्त्रालयले भारतले कोभिड भ्याक्सिन खरीद गर्दा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप खरीद गर्न सहयोग मागेको छ । भारतले १ करोड ६० लाख खोप प्रिअर्डर गरेकोमा उक्त खोप खरीदपछि भारतले नेपाललाई सहयोग गर्ने विश्वास सरकारको रहेको छ ।

आगामी माघ पहिलो साता नेपाल भारत–संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली जाँदै छन् । उक्त भ्रमणमा खोप आयातको विषयमा केही सम्झौता हुन सक्ने विश्वास गरिएको छ । यसअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पनि भारतसँग खोप खरीदका लागि छलफल गरेकोमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा खोपको विषयमा केही निष्कर्षमा पुग्न सक्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । द हिन्दूस्तान टाइम्समा हालै प्रकाशित एक समाचारले भारतमा उत्पादित खोप नेपालमा निर्यात गर्नेबारे छलफल हुने बताएको छ । यसअघि पनि भारतले खोप उपलब्ध गराउने विषयमा एक चरणको सामान्य सहमति भइसकेको छ । त्यसैले भारतीय खोप प्राथमिकतामा राखिएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा. उप्रेतीले बताए ।

गत साता मात्र भारतमा खोप निर्माण गरिरहेको सेरम इन्स्टिच्युटका वरिष्ठ अधिकारी तथा भारतको नीति आयोग प्रमुख अमिताभ कान्तसँग राजदूत आचार्यले छलफल गरेकोमा भारत खोप पठाउन सकारात्मक देखिएको उप्रेतीको भनाइ छ । अर्थ मन्त्रालयले कोरोना खोप खरीदका लागि अनुमति दिइसकेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोप आयातका लागि स्रोत सुनिश्चितता गरिदिन अर्थमा पत्राचार गरिएकोमा अर्थले गत साता खोप खरीद गर्न स्वास्थ्यलाई अनुमति दिएको हो ।

स्वास्थ्य मन्त्रालयले ३ चरणमा खोप खरीद गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । उनका अनुसार पहिलो चरणमा ३ प्रतिशत नेपालीलाई पुग्ने गरी खोप खरीद गरिनेछ, जसको लागत करीब रू. ४८ करोड हुने अनुमान गरिएको छ । यद्यपि, मन्त्रालयले हालसम्म खोप खरीदका लागि प्रक्रिया अघि बढाइसकेको छैन ।

गौतमले भने, ‘नेपालमा खोप ल्याउने गृहकार्य भइरहेको छ तर अभैm कुन खोप राम्रो भनेर थाहा नभइसकेकाले ढुक्कका साथ प्रक्रिया अघि बढाउन सकिएको छैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)