ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको प्रधानमन्त्रीको जिकीर

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

२०७७ पौष, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकीर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संविधानको धारा ८५ अनुसार विघटन गर्न मिल्ने अधिकार प्रधानमन्त्रीलाई भएकाले उक्त अधिकार प्रयोग गरेर आपूmले प्रतिनिधिसभा विघठन गरेको दाबी गर्नुभएको हो ।

आइतवार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले संविधानमा प्रतिनिधिसभा विघटन हुन नसक्ने भन्दै सडकमा जात्रा गरेको आरोप लगाउनुभयो । प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिएकाले अब चुनावमा जानुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत दलको नेता आफू नै भएकाले बाँकी ३६ प्रतिशतले आफ्नै आधिकारिक र ठूलो भन्दै हिँड्नु हास्यास्पद भएको टिप्पणी उहाँको छ । अस्थिरताका लागि प्रतिनिधिसभा पुनःस्थापना नहुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा जस्तो असाधारण विकास यसअघि अरू कुनै पनि सरकारका बेला नभएको दाबी समेत गर्नुभयो । देशमा विकासको लहर आएको, मुलुक स्थायित्वतर्फ उन्मुख भएकोदेखि नसहेर आफ्नै पार्टीका नेताले सरकारविरुद्ध ‘षड्यन्त्र’ गरेपछि नै बाध्य भएर प्रतिनिधिसधा विघठन गरिएको उहाँको भनाइ छ ।

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने प्रचण्ड–नेपाल समूहका २३ जना सांसदले भने प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार गरेका थिए । प्रधानमन्त्री ओली राष्ट्रियसभामा सम्बोधनका लागि रोस्टममा जाँदै गर्दा प्रचण्ड–नेपाल समूहका सांसद हाजिरी गरेर बैठक स्थलबाट बाहिरिएका थिए । विभाजित कुनै पनि पक्षमा नगई पार्टी एकता अभियानको घोषणा गरेका सांसद वामदेव गौतम भने बैठकमा पूरै समय बसेका थिए । राष्ट्रियसभामा नेकपाका ४७ सांसद छन् ।

राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने जानकारी दिँदै भारत भ्रमणका क्रममा भारत र नेपालबीच रहेका सीमा विवादका विषय उठाउने बताउनुभयो । सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको लगायत विभिन्न विषयमा परराष्ट्रमन्त्रीले भारतसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो । भारतसँगको सम्बन्धलाई व्यावहारिक रूपमा अगाडि बढाउन परराष्ट्रमन्त्रीको भारत भ्रमणले सहयोग गर्नेसमेत उहाँले बताउनुभयो । भू–भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले आफू भारतसँग साँचो अर्थमा मित्रता चाहेको उल्लेख गर्नुभयो ।

यसैबीच, राष्ट्रियसभाको हिँउदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को आइतवार बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति भण्डारीबाट चालू अधिवेशन अन्त्यको घोषणा गरेको पत्र पढेर सुनाएका थिए ।

पत्रमा राष्ट्रपति भण्डारीले पुस २६ गते आइतवार राति १२ बजेदेखि राष्ट्रियसभा को अधिवेशन अन्त्य भएको उल्लेख गर्नुभएको छ । पत्र बढेर सुनाएपछि अध्यक्ष तिमल्सिनाले बैठक अन्त्य भएको घोषणा गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)