ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर

२०७७ पौष, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो ।

प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिए ।

हाल प्राधिकरणले भारतको टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले बताए ।

‘त्यसमा प्रसारण लाइनलगायतका लागत पनि जोडिन्छ । तर, सोही दरलाई नै आधार मूल्य बनाएर एनभीभीएनमार्फत प्रस्ताव पेश गरिएको छ,’ उनले भने । टेन्डरमा खुल्ला प्रतिस्पर्धाबाट विद्युत्को दर टुंगो लाग्ने उनको भनाइ छ ।

टेन्डरमा पेश गर्ने आज (सोमवार) अन्तिम दिन रहेको थियो । प्राधिकरणले त्यसअगावै टेन्डरमा प्रस्ताव पेश गरेको हो ।

नेपालभित्र मात्र विद्युत् विक्रीमा सीमित भएको प्राधिकरण पहिलोपटक विदेशी बजारमा पनि प्रवेश गरेको छ । पछिल्लो केही वर्ष पावर एक्सचेन्जमार्फत भारतीय बजारमा प्राधिकरणले विद्युत् निर्यात गरे पनि व्यापारिक रूपमा निर्यात गरेको थिएन । तर, अब भने व्यापारिक रूपमा नै भारतीय बजारमा विद्युत् निर्यात गर्ने सम्भावना भएको प्रवक्ता तिम्सिनाले बताए ।

बीआरपीएल भारतको विद्युत् वितरण गर्ने कम्पनी हो । उक्त कम्पनीले २५ देखि ७०० मेगावाट सम्म विद्युत् आपूर्ति गर्नेगरी टेन्डर आह्वान गरेको थियो ।

त्यसमा प्राधिकरणले २५ मेगावाट विद्युत् आपूर्ति गर्नेगरी सहभागी भएको हो । प्राधिकरणले ढल्केवर–मुजप्mफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारतमा निर्यात गर्नेछ ।

भारतीय कम्पनीले नेपालको उक्त प्रस्ताव स्वीकृति गरेमा प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) नेपालको विद्युत् निर्यात गर्न सक्नेछ । तर, नेपालमा खपत नभएर बढी भएको विद्युत् मात्र निर्यात गर्न पाउने गरी आयोगले स्वीकृति दिएको छ । त्यसअनुसार नेपालमा खपत हुन नसकेको विद्युत् मात्र प्राधिकरणले भारतीय बजारमा विक्री गर्न पाउनेछ ।

प्राधिकरणले नेपालको विद्युत् मागमा असर नपर्ने गरी, जगेडा (सरप्लस) को ग्यारेन्टी गरेर भारतमा विद्युत् विक्री गर्न सक्छ । साथै, प्राधिकरणले नेपालमा बिजुली आवश्यक परेका बेला १० मिनेटभित्र आपूर्ति हुन सक्ने (स्पिनिङ रिजर्भ ) गरी व्यवस्था गर्नुपर्ने बताइएको छ ।

प्राधिकरणले आफैले विदेशी बजारमा विद्युत् निर्यात गर्न पाउने व्यवस्था छैन । यसमा सरकार र नियमन आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नै आयोगले उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

तीर्थभण्डारी

[Jan 11, 2021 11:37am]

देशमा रासायनिक मल कारखाना खोल्न प्रसश्त बिजुली आवश्यक हुन्छ। मल कारखाना देशमै खोल्ने तिर किन ध्यान दियिदैन।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)