ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण व्यवसायीको लापरबाहीले विकासका काम अलपत्र

२०७७ पौष, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । ठेकेदार कम्पनीको लापरबाहीले म्याग्दीमा विकास निर्माणका अधिकांश योजना अलपत्र परेका छन् । कोरोना, वर्षात् र अन्य बहाना बनाएर निर्माण व्यवसायले जिल्लाका ठूला विकास आयोजना अलपत्र छाडेका हुन् ।

२०७७ सालभित्र र २०७८ साल जेठभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याग्दीका पाँच ठूला आयोजनाको प्रगति न्यून छ । बेनी–बागलुङ, बेनी दरवाङ, बेनी–गलेश्वर, गलेश्वर–राखु भगवती, पोखरेबगर–चित्रे लगायत मुख्य सडकका लागि सरकारले बजेट विनियोजन गरेर काम शुरू भए पनि ठेकेदारको ढिलासुस्तीले समयमै सम्पन्न हुन सकेका छैनन् । जिल्लाका मुख्य सडक, जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, भवन र मोटरेबल पुल लगायतको पूर्वाधार समयमै सम्पन्न नहुँदा म्याग्दी विकास निर्माणमा पछाडि परेको छ ।

२०७७ असोज मसान्तसम्ममा सक्नुपर्ने बेनी–बागलुङ सडक खण्डको ठेक्का नागार्जुन देवेन सायर बीएन जेभी पाएको छ । १३ करोडमा ठेक्का सम्झौता भएको सो सडकको प्रगति गतवर्ष ९० प्रतिशत रहने भनिएको थियो । तर, सडक वर्षा र पहिरोका कारण निर्धारित लक्ष्य हासिल हुन सकेको छैन ।

त्यस्तै २०७८ जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने बाबियाचौर दरबाङ खण्डको सडकको प्रगति ४० प्रतिशत मात्र छ । बाँकी ५ महीनामा सो सडक निर्माण सम्पन्न गर्न असम्भव देखिएको छ । बिरुवा काराभान जेभीले सो सडक निर्माणको ठेक्का पाएको छ ।

यसैगरी ४७ करोडमा ठेक्का सम्झौता भएको बेनी बाबियाचौर साढे १३ किलोमिटर सडक निर्माण ५० प्रतिशत मात्र सकिएको छ । २०७७ असोज मसान्तमा सम्पन्न गर्ने सम्झौता बमोजिम लामा समान्तर जेभीले ठेक्का लिएको सो सडकको निर्माण अधुरै छ ।

गलेश्वर–पिप्ले–भगवती–बेग सडक पनि ४३ प्रतिशत मात्र सम्पन्न भएको छ । ८ किलोमिटर यो सडक स्तरोन्नतिको काम २०७८ जेठ मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता भएको थियो । यसको ठेक्का १८ करोड ४१ लाख रुपैयाँमा एपेक्स खड्का कृष्ण जेभीले पाएको थियो । सडकका लागि हालसम्म ६ करोड २४ लाख ३९ हजार रुपैयाँ भुक्तानी भइसकेको पूर्वाधार कार्यालयका इन्जिनीयर सन्तोष अर्यालले जानकारी दिए ।

यसैगरी बेनी–गलेश्वर सडक निर्माण गत कात्तिक मसान्तसम्ममा सम्पन्न गर्नेगरी गौरी पार्वती रुपल जेभीले आव २०७४÷७५ मा ठेक्का लिएको थियो । ४ करोड लागतको उक्त योजनाको प्रगति ७५ प्रतिशत मात्र रहेको पूर्वाधार कार्यालयले बताएको छ । यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ म्याग्दीले २७ करोड ९१ लाख ३५ हजार रुपैयाँमा मोतिदान–जयमाता जेभीसँग ठेक्का सम्झौता गरेको पोखरेबगर–चित्रे सडक कालोपत्रको काम ३८ प्रतिशत मात्र पूरा भएको छ । साथै राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक आयोजना पनि अलपत्र छ । अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने सो सडक आयोजनाको प्रगति ५० प्रतिशत मात्र छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)