ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजी एकीकृत गरेर लगानी गर्न आवश्यक : अर्थमन्त्री

विद्युत् खपत बढाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड

२०७७ पौष, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले छरिएको पूँजी एकीकृत गरी उत्पादनमूलक काममा लगाए देशको अर्थतन्त्र चलायमान बनाउन सकिने बताएका छन् । विकासका लागि ठूला लगानीका साथै देशमै रहेको पूँजीको पनि परिचालन आवश्यक भएको उनले बताए । मंगलवार भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभा भर्चुअल रूपमा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले कोभिडले थलिएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकार र निजीक्षेत्र दुवैको सहकार्यको आवश्यकता औंल्याए ।

छरिएको पूँजी एकीकृत गरेर उत्पादनमा लगाउने उक्त कम्पनीको जस्तो अभ्यास अरूले पनि अनुसरण गर्नुपर्ने धारणा उनले राखे ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अहिले विद्युत् उत्पादन धेरै हुँदै गएकाले तत्काल विद्युत् खपत बढाउनुपर्नेमा जोड दिए । आफू अहिले दोस्रोपटक ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रहँदा मन्त्रालयका चुनौतीहरू फेरिएको उनले बताए । कम्पनीको साधारणसभामा उनले ऊर्जा खपत बढाउन मन्त्रालयले अहिले विभिन्न योजना तथा नयाँ नीतिहरू बनाउँदै गरेको जानकारी दिए । आगामी भदौसम्ममा ५०० मेगावाट बिजुली खेर जानेगरी उत्पादन भइरहेको भन्दै उनले स्वदेशमा खपत बढाउने अभियानसँगै विदेशमा विक्री गर्ने गृहकार्य भइरहेको पनि बताए ।

करीब १ हजार जनाको सामूहिक लगानीमा स्थापित भई विभिन्न ९ ओटा क्षेत्रमा काम गर्नेगरी स्थापना भएको कम्पनीले अहिले पोखराको कास्कीमा २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सामूहिक लगानीमा निर्माण भइरहेको सेतीनदी जलविद्युत् आयोजनाका लागि सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले कुल स्वपूँजीमध्ये १८ दशमलव ५२ प्रतिशत (२० करोड रुपैयाँ) लगानी गर्ने सम्झौता गरेको छ । कम्पनीले पारदर्शिता, सुशासन र जवाफदेहितासहित सामूहिक लगानीमा काम गरिरहेकाले निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने धेरै आधार देखेर लगानी गरेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।

सेतीनदी हाइड्रोमा एनएमबि बैंक लिमिटेडको अगुवाइमा तीन बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । यसमा एनएमबि बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् । कुल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष पोखरेलले बताए ।

आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेशनमा जोडिनेछ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरीद सम्झौता पीपीए अनुसार प्राधिकरणले बर्खामा प्रतियुनिट ४ दशमलव ८० रुपैयाँ र हिउँदमा ८ दशमलव ४० रुपैयाँमा विद्युत् किन्नेछ । हालसम्म करीब २५ प्रतिशत निर्माण पूरा भइसकेको आयोजनाबाट वार्षिक १४८ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । रसुवा लुना जेभी कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको छ । नदी प्रवाही प्रकृतिको उक्त आयोजनामा ५ मिटर उचाइ र १३ मिटर लम्बाइको बाँध निर्माण हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)