ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो कोरोना बीमा

२०७७ माघ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काडमाडौं । पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी ‘फास्ट ट्र्याक’मा भए पनि कोरोना बीमा गर्नेको संख्या भने ह्वात्तै घटेको छ । शुरुआती समयमा कोरोना बीमाको कारोबार उत्साहजनक थियो । तर, बीचको समयमा यसको दाबी भुक्तानीमा ढिलाइ भएपछि यसको कारोबार पनि प्रभावित भएको थियो । अहिले कोरोना बीमाको दाबी भुक्तानी चुस्तरूपमा भए तापनि बीमा गर्नेेहरू भने घटेका छन् ।

पहिले दैनिक हजारौंले कोरोना बीमा गर्ने गरेकोमा हाल ३–४ सय जनाले मात्र बीमा गर्ने गरेको कम्पनीहरू बताउँछन् । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले पछिल्लो समय कोरोना बीमा न्यून मात्रामा हुने गरेको बताए ।

कोरोना महामारी कम हुँदै गएको भन्ने बुझाइले बीमा गर्नेहरू घटेको हुन सक्ने उनको अनुमान छ । ‘वास्तवमा कोरोना कहर कम भएको छैन । तर, नेपालमा मानसिक रूपमा कोरोनाको कहर साम्य जस्तै भएको छ,’ उनले भने, ‘त्यसको असरले पनि बीमा गर्नेको संख्या घटेको हुन सक्छ ।’ बीमा पोलिसी परिवर्तन गर्दा पनि व्यवसाय घटेको हुन सक्ने उनले बताए ।

कोरोना बीमा दाबीतर्फ हालसम्म रू. २ अर्ब  ३७ करोड ३६ लाख भुक्तानी भएको छ । बीमा समितिको सोमवारसम्मको तथ्यांकले यस्तो देखाएको हो । संख्याका आधारमा २४ हजार ३८५ जनाले दाबी भुक्तानी पाएको बीमा समितिले जानकारी दिएको छ । साथै, १७९ ओटा दाबी आवेदन भने भुक्तानीका लागि अयोग्य प्रमाणित भएको समितिको तथ्यांकमा उल्लेख छ ।

विशेषगरी अर्थ मन्त्रालयले छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएपछि काम चुस्तरूपमा अगाडि बढेको कम्पनीको भनाइ छ । कात्तिक १८ गते अर्थमन्त्री विष्णु पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएका थिए । त्यसबेला १७९१ जनालाई मात्र दाबी भुक्तानी भएको थियो । तर, हालसम्म आउँदा २४ हजारभन्दा बढीले दाबी भुक्तानी पाएका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्ने बीमा कम्पनीहरू बताउँछन् ।

समितिका अनुसार कोरोना बीमामा हालसम्म ४८ हजार ६०७ ओटा पूर्ण कागजपत्र सहितको आवेदन आएको छ । यस्तै, थप १२ हजार १५४ आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । त्यसमा ५ हजार २५० ओटा आवेदन प्रमाणीकरण भएर आएको छ भने ८ हजार २०४ आवेदन प्रमाणीकरणको प्रक्रियामा छ ।

यसैगरी कागजपत्र पूरा नभएपछि २ हजार ६६२ ओटा आवेदन बीमा कम्पनीलाई पठाइएको छ भने ८ हजार ८६९ ओटा आवेदन बीमा पुलमा भेरिफिकेशन गर्ने काम भइरहेको समितिले बताएको छ ।

पछिल्लो समय कोरोना बीमाको दाबी आवेदन पनि उच्च मात्रामा बढ्दै गएको छ । एनएलजीका सीईओ पन्तले कोरोना बीमामा १० अर्ब रुपैयाँ बराबरको दाबी आउन सक्ने बताए ।

कोरोना बीमा मापदण्डअनुसार रू. १ अर्बसम्मको दाबी भुक्तानी निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीले गर्नुपर्ने हुन्छ । १ अर्बदेखि २ अर्बसम्मको दाबी भने नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नेछ । त्यसपछि २ अर्बदेखि २ अर्ब ५० करोडसम्मको दाबी भुक्तानी बीमा कम्पनीको महाविपत्ति कोष र थप १ अर्ब भने बीमा समितिबाट भुक्तानी गरिनेछ । त्यसभन्दा पनि बढी अर्थात् साढे ३ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेमा सरकारले नै दायित्व वहन गर्नेछ ।

बीमा समितिले गत वैशाखदेखि लघुबीमा अन्तर्गत कोरोना बीमा कार्यक्रम शुरुआत गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै कम्पनीलाई तोकिएको मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ । यसको व्यवस्थापन भने नेपाल बीमक संघले गर्दै आएको छ ।

यसमा गत भदौ २९ गतेयता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू. २५ हजार पाउनेछन् । संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलको आधारमा रू. ७५ हजारसम्म भुक्तानी पाउँछन् । समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर यस्तो व्यवस्था गरेको थियो । भदौ २९ गते अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांक बराबरको रकम नै भुक्तानी पाउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)