ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकाताको सीएफएस सञ्चालनको पहल

२०७७ माघ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारतको कोलकातामा निर्माण भएको कन्टेनर फ्रेट स्टेशन (सीएफएस) सञ्चालनमा ल्याउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल थालेको छ ।

मन्त्रालय मातहतको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड (एनटीडब्ल्यूसी) का महाप्रबन्धकसहितको टोलीले कोलकाता पुगेर सरोकारका पक्षसित सीएफएस सञ्चालनका लागि समन्वय गरेको हो ।

 एनटीडब्ल्यूसीको कोलकातास्थित कार्यालयका प्रमुख हिमनाथ पौडेलले महाप्रबन्धकसहितको ४ सदस्यीय टोलीले श्यामाप्रसाद मुखर्जी बन्दरगाह र बन्दरगाह भन्सार प्रशासनसँग सञ्चालनको प्रक्रियाबारे समन्वय गरेको जानकारी दिए ।

कोलकाता बन्दरगाह भन्सारले केही दिनअघिमात्रै सीएफएसलाई आफ्नो कार्यक्षेत्राधिकारमा समेटेको थियो । भन्सारले क्षेत्राधिकारमा राखेपछि नेपाली पक्षले यो संरचना उपयोगको प्रक्रिया बढाएको हो ।

कोलकाता बन्दरगाहले क्षेत्राधिकारमा नसमेट्दा उद्घाटनको करीब डेढ वर्षसम्म आयातकर्ताले सीएसएस उपयोग गर्न पाएका छैनन् । बन्दरगाह भन्सारले श्यामाप्रसाद मुखर्जी पोर्टअन्तर्गत रहने गरी सीएफएसलाई आफ्नो क्षेत्राधिकारमा राखेपछि त्यहाँ राखिने मालसामानको भन्सार प्रक्रिया हुने भएको हो ।

कोलकातामा ४ हजार ८८६ वर्गमीटरको सीएफएस निर्माण भएको छ । जग्गा लिजमा लिएको साढे ४ दशकपछि एनटीडब्ल्यूसीले २२ लाख भारतीय रूपैयाँ (भारू) खर्च लगाएर सीएफएस निर्माण गरेको हो । सरकारले यो जग्गाका लागि भारतलाई मासिक ५५ हजार ७ सय भारू तिर्दै आएको छ । सीएफएसमा एक पटकमा ५०० ओटा कण्टेनर भण्डार गर्न सकिने जानकारी एनटीडब्ल्यूसीले दियो ।

कोलकाताबाट १५० किलोमीटर टाढाको हल्दिया बन्दरगाहमा समेत बल्क कार्गोका लागि बेग्लै सीएफएस बनाउने तयारी भइरहेको छ ।

तेस्रो मुलुकबाट हल्दिया बन्दरगाह हुँदै आयात हुने कोइला, जिप्सम, सिमेन्टको कच्चा पदार्थलगायतका कार्गो राख्न सीएफएस बनाउन लागिएको प्रमुख पौडेलले बताए ।

सरकारले हल्दियामा सन् १९८४ देखि ७ हजार ८ सय ९५ वर्गमीटर जग्गा लिजमा लिएको छ । यो जग्गाको बीचमा पर्ने ७ सय ६ वर्ग मीटर जग्गासमेत लिजमा लिने प्रक्रिया अघि बढाएको जानकारी पौडेलले दिए । हल्दियाको जग्गाको प्रतिमहीना २ लाख २३ हजार ९१० भारू भाडा तिर्नु पर्दछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)