ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एशियाली पर्यटक ल्याउने रणनीतिमा होटेल व्यवसायी

२०७७ माघ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले सृजित समस्याका कारण सबैभन्दा बढी प्रभावित मुलुकको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन होटेल व्यवसायीहरू लागिपरेका छन् ।

आन्तरिक पर्यटनमा केही सुधार देखिए पनि बाह्य पर्यटक आगमन नहुँदा सुस्ताएको हस्पिटालिटी क्षेत्रलाई लयमा फर्काउन उनीहरूले एशियाली देशका पर्यटकलाई नेपाल ल्याउन विशेष प्याकेज तथा मार्केटिङ रणनीति बनाउन थालेका हुन् ।

अध्यागमन विभागका अनुसार कोरोना भाइरसको प्रभावकै बीच भारत, चीन, थाइल्यान्ड र म्यान्माबाट आउने पर्यटकको संख्या धेरै छ । सन् २०२० मा अत्यन्त न्यून २ लाख ३० हजार पर्यटक मात्र नेपाल आएका छन् । सन् २०१९ मा नेपाल आउने पर्यटकको संख्या भने ११ लाख ९७ हजार थियो ।

होटेल व्यवसाय सञ्चालन गर्नैपर्ने भएकाले व्यवसायीहरू छुट्टै रणनीति बनाएर मार्केटिङ गर्ने तयारीमा रहेको होटेल एशोसिएशन नेपाल (हान) का महासचिव साजन शाक्यले बताए । यूरोप तथा अमेरिकालगायत देशबाट अहिले पर्यटक आइहाल्ने अवस्था नभएपछि चीन, भारत, श्रीलंका, सिङ्गापुर, भियतनाम, थाइल्यान्डलगायत देशबाट पर्यटक ल्याउन आवश्यक तयारी गरिएको शाक्यको भनाइ छ ।

नेपाल आउने बौद्ध पर्यटक पनि धेरै भएकाले त्यस्ता देशमा मार्केटिङ तथा केही छूटका प्याकेजहरू ल्याउने तयारी गरिएको उनले बताए । अहिले होटेलको अवस्था दयनीय रहेको छ । होटेलहरू खुले पनि पर्यटक नआएकाले काठमाडौंका होटेलहरूको अकुपेन्सी दर नै उल्लेख्य रूपमा खस्किएको छ । होटेल खोले पनि खर्च व्यवस्थापन गर्न होटेल सञ्चालकलाई निकै धौधौ भएको शाक्य बताउँछन् ।

अन्य पर्यटकीय स्थानहरूमा आन्तरिक पर्यटकले व्यवसायलाई उत्साह दिए पनि पर्याप्त भने नभएको होटेल व्यवसायीको भनाइ छ । शून्य प्रायः रहेको समग्र हस्पिटालिटी व्यवसायलाई सकारात्मक प्रभाव पारे पनि काठमाडौंका होटेल व्यवसायमा भने सकारात्मक अवस्था नदेखिएको उनीहरूको गुनसो छ ।

शून्य प्रायः रहेको काठमाडौंका होटेलको अकुपेन्सी दरमा भने केही समययता झीनो रूपले सुधार हुँदै औसतमा ३ प्रतिशतमा उक्लेको हानले जानकारी दिएको छ ।

‘काठमाडौंभन्दा बाहिर चितवन, पोखरा, नगरकोट, लुम्बिनी तथा धुलिखेललगायत क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल छ,’ शाक्यले भने, ‘तर, काठमाडौंमा भने अवस्था सजिलो छैन किनभने मार्च–अप्रिलसम्मको सिजनमा विदेशी पर्यटक आउने अपेक्षा थियो । तर, यूरोप र अन्य देशमा दोस्रो चरणको बन्दाबन्दी हुँदा व्यवसायले लय लिन गाह्रो परेको छ ।’ हाल मासिक रूपमा होटेल क्षेत्रले मासिक रू. २ अर्बको नोक्सानी बेहोर्नुपर्ने अवस्था रहेको ती व्यवसायीले बताए ।

पर्यटक आगमन न्यून हुँदा होटेलका कर्मचारी तथा अन्य खर्च धान्न नै मुश्किल परेको व्यवसायीहरू बताउँछन् । चैतमा नेपालमा भएको बन्दाबन्दीको अवधिदेखि डिसेम्बर (मध्य पुस)सम्म गरेको सम्झौताअनुसार होटेलमा कार्यरत कर्मचारी तथा श्रमिकहरूलाई पारिश्रमिक व्यवस्थापन गरेका होटेल सञ्चालक र सम्बद्ध ट्रेड युनियनका अधिकारीबीच अहिले नियमित छलफलमा छन् । हानका अनुसार नेपालको होटेल व्यवसायबाट ११ लाखले रोजगारी पाइरहेका थिए । तर, बन्दाबन्दी तथा कोरोना भाइरस (कोभिड–१९) पछि होटेलहरूले स्वैच्छिक अवकाशजस्ता योजना ल्याएर कर्मचारी कटौती गरेका छन् भने कतिपय होटेलले व्यवसाय नै बन्द गरिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)