ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ महीनामा बाहिरिए ७२ हजार नेपाली

२०७७ माघ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।

कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ ।

विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष (आव)को ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महीनाको तथ्यांक जोेड्दा चालू आवको ६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएको देखिन्छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष स्कीम नआउँदा कोरोना विपद्मा पनि नेपालीहरू विदेशिन बाध्य भएको बताए । ‘कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसमाथि अहिले राजनीतिक अस्थिरता आएको छ । त्यसको असरले पनि यस परिस्थतिमा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’

मुलुकमा राजनीतिक अस्थिरता देखिएका कारण सरकारबाट रोजगारी सृजनाका ठोस कार्यक्रम आउन सक्ने अवस्था छैन । त्यो अवस्थामा अधिकांश युवाहरू तत्काल बाहिरिन सक्ने उनको भनाइ छ ।

तथ्यांकअनुसार पछिल्ला महीनाहरूमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दो क्रममा रहेको छ । चालू आवको पहिलो महीना अर्थात् साउनमा मात्र ३ हजारको हाराहारीमा नेपाली कामदार विदेशिएका थिए । चालू आवको छैटौं महीना पुसमा मात्र १४ हजार ७५३ जना नेपाली कामदार विदेशिएका छन् ।

कोरोनाको जोखिमका बीच पनि वैदेशिक रोजगारी खुल्न थालेपछि विदेशिने कामदारको संख्या बढ्न थालेको विभागको भनाइ छ ।

प्रवक्ता नेउपाने वैदेशिक रोजगारीमा सहज वातावरण आउन थालेपछि विदेशिने कामदारको संख्या बढ्न थालेको बताए । साथै, बन्दाबन्दी अघि आएका माग भएका कामदारको माग फेरि कार्यान्वयन हुँदा पनि विदेशिने कामदारको संख्या बढेको उनको भनाइ छ ।

‘अहिले नयाँ माग पनि आउन शुरू गरेको छ । त्यसैको असरले पछिल्ला महीना विदेशिने कामदारको संख्या बढ्दै गएको हो,’ उनले भने, ‘विदेशिने कामदारको संख्या बढ्दो क्रममा नै रहनेछ ।’ नेपाल फर्किएका र यहाँ भएका कामदार पनि पूर्णरूपमा विदेशिन सक्ने उनको भनाइ छ ।

अहिलेको विदेश जानेको संख्या गत आवको सोही अवधिको भन्दा निकै कम हो । तर, कोरोना संकटमा पनि यतिका कामदार विदेशिनुलाई महŒवका साथ हेरिएको विभागको भनाइ छ । गत आवको ६ महीनामा २ लाख ७० हजार ८७४ नेपाली विदेशिएका थिए । त्यसमा १ लाख ३७ हजार ४०० जना कामदार भने नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएका थिए ।

कोरोनाको प्रभावले विश्व अर्थतन्त्र र श्रमगन्तव्य मुलुकको अर्थतन्त्र पनि संकटमा जाने देखिएको थियो । त्यो अवस्थामा रोजगारदाता कम्पनीहरूले कामदार कटौती गरेका थिए । कामदारको माग पनि शून्य थियो भने नेपाल सरकारले पनि श्रमस्वीकृति दिन स्थगन गरेको थियो । फलस्वरूप वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको हो । तर, अब भने बढ्दै जाने अनुमान गरिएको छ ।

कतिपय मुलुकबाट नयाँ कामदारको माग पनि आउन थालेको छ । कतार, जापानलगायत मुलुकबाट कामदारको माग आउने प्रक्रियामा छ । त्यसैले अबका दिनमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या उच्च मात्रामा बढ्ने विभागको अनुमान छ ।

सरकारले कोरोना संक्रमणलाई दृष्टिगत गर्दै गत फागुन २८ गते वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिन बन्द गरेको थियो । असार १४ गते पुनः श्रमस्वीकृति दिन शुरू गरेको सरकारले भदौ १७ गते नयाँ श्रमस्वीकृतिसमेत खुला गरेको थियो । त्यसयता वैदेशिक रोजगारमा जाने कामदारको संख्या बढ्दो रहेको छ ।

सरकारले श्रमस्वीकृति दिन स्थगन गरेपछि ३ लाख २८ हजारभन्दा बढी बिदामा आएका नेपालीहरू नेपालमै रोकिएका थिए । साथै, नयाँ भिषा आएर पनि श्रमस्वीकति नपाउँदा १ लाख १५ हजार कामदार वैदेशिक रोजगारमा जान रोकिएका थिए । श्रमस्वीकृति दिन शुरू गरेपछि उनीहरू वैदेशिक रोजगारीमा जान लागेको व्यवसायीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)