ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुलाकी सडक निर्माण कार्य सुस्त : तेस्रो पटक थपिएको म्याद पनि सकियो

२०७७ माघ, ५  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

माघ ५, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोके बजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको काम शुुरु भएको ४ वर्ष पूरा भयो । अढाई वर्षमै काम सक्नेगरी ठेक्का सम्झौता भएको उक्त सडकको पटक पटक म्याद थप्दा पनि काम भने सकिएको छैन । निर्माण कम्पनीको लापरवाहीका कारण हुलाकी सडक निर्माणले गति लिन नसकेको हो । 

कञ्चनपुरमा हुलाकी सडक निर्माणका लागि २०७३ मा तीन खण्डमा ठेक्का सम्झौता भएको थियो । ०७६ साल असार/साउनमा काम सक्ने समयावधि तोकिएको थियो । तीन ओटै चरणको समयावधिको पछिल्लो पटक थपिएको निर्माण अवधि पनि सकिएको आयोजनाले जानकारी दिएको छ ।’ अढाई वर्षमा सक्ने गरी सम्झौता भएपनि चार वर्षसम्म ७० प्रतिशत मात्रै प्रगति भएको छ,’ हुलाकी सडक आयोजना धनगढीका इन्जिनियर पदम मडैले भने, ‘अहिले पनि जुन गतिमा काम हुनुपर्थ्यो त्यो अनुसार भइरहेको छैन ।’ 

उनका अनुसार तीन ओटै चरणको ६२ किलोमिटर मध्ये हालसम्म १५ किलोमिटर मात्रै कालोपत्रे भएको छ । केहि समय सम्पर्कबिहिन बनेर निर्माण कार्य अलपत्र पारेका ठेकदार अहिले कार्यालयको सम्पर्कमा आएका छन् ।  

डोकेबजारदेखि बेलौरी नगरपालिकाको बुटाबारीसम्म २० किलोमिटर पहिलो खण्ड र बेलडाडीदेखि दैजी सम्मको २२ किलोमिटर तेस्रो खण्डको सडक निर्माणका लागि २०७३ साउनमा शर्मा राजेन्द्र जेभीसँग ठेक्का सम्झौता भएको थियो । २०७६ साउनमा काम सक्ने गरी पहिलो खण्डको ३५ करोड र तेस्रो खण्डको ४० करोडमा सम्झौता भएको हो । पहिलो चरणको योजनाको निर्माण अवधि तीन पटक थपिदाँ समेत सकिएको छैन । जसको समय सीमा यहि माघ २ गते समाप्त  भएको छ । त्यस्तै दोस्रो र तेस्रो चरणका योजनाको निर्माण अवधि दुईदुई पटक थप भइरहेको छ भने यिनिहरुको समयसीमा पनि क्रमशः गत मंसिर र साउन सकिएको आयोजनाका ईन्जिनियर मडैको भनाइ छ । 

यसैगरि बुटाबारीदेखि बेलडाडीसम्मको २० किलोमिटर सडक निर्माणका लागि ०७३ पुसमा बाबा हंश सिद्धि शाही जेभीसँग ४१ करोडमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डको म्याद ०७६ असारमै सकिएको हो । दुई पटक थप गरेको समय पनि सकिएको छ । 

पहिलो र तेस्रो खण्डमा भौतिक प्रगति बढी भएपनि दोस्रो खण्डमा एक÷डेढ वर्षदेखि काम रोकिएको छ । ठेकेदार दिपेन्द्र शाही लामो समय सम्पर्क बिहिन बनेपछि निर्माण कार्य नै अलपत्र परेको थियो । पटक पटक लिखित पत्र काट्दा बल्ल सम्पर्कमा आएको ईन्जिनियर मडैले बताए । ‘पछिल्लो पटक बैंक ग्यारेण्टी तान्ने प्रक्रियामा गइसकेका छौं,’ उनले भने, ‘जोइन्ट भेन्चरमा भारतीय निर्माण कम्पनी पनि भएकाले उसलाई पनि हामीले ताकेता गरिसकेका छौं ।’

तीनै चरणका योजनाको म्याद सकिएको उल्लेख गदै ईन्जिनियर मडैले भने ‘हालको कामको प्रगति सहित फाईल तयार हुँदैछ, म्याद थप्ने नथप्ने विषयमा विभागलाई पत्राचार गर्ने तयारी भइरहेको छ ।’ 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माणका लागि रू. एक अर्ब १५ करोड खर्च हुने अनुमान गरिएकोमा हालसम्म ७० करोड बढी बजेट निकासा भइ सकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)