ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलोपल्ट शेयर खण्डीकरण

नेपाल लाइफले प्रतिशेयर मूल्य रू. ५० मा झार्दै

२०७७ माघ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपालको धितोपत्र बजारको इतिहासमै पहिलोपटक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर टुक्राई प्रतिशेयर अंकित मूल्य घटाउने भएको छ ।

कम्पनीले हाल कायम प्रतिशेयर अंकित मूल्य रू. १०० लाई घटाएर रू. ५० कायम गर्ने भएको हो । कम्पनीले आगामी माघ २८ गते हुने वार्षिक साधारणसभामा प्रतिशेयर अंकित मूल्य घटाएर लैजाने तयारी गरेको हो ।

दोस्रो बजारमा सबै लगानीकर्ताको खरीद पहुँच पुर्‍याउने उद्देश्यले शेयर संख्या बढाउन लागिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले जानकारी दिए । प्रतिकित्ता अंकित मूल्य रू. १० गर्ने योजना भए पनि कम्पनी ऐनले नदिएको उनको भनाइ छ ।

ऐनले तोकेबमोजिमको न्यूनतम रकम कायम गर्ने तयारी कम्पनीले गरेको हो । हाल कायम चुक्तापूँजी र बजार पूँजीकरणमा परिवर्तन नहुने गरी शेयर संख्या टुक्र्याउन लागिएको उनको भनाइ छ । सभाले पारित गरेपश्चात् कम्पनी रजिस्ट्रार कार्यालयसहितका नियामक निकायमा स्वीकृतिको प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

नेपाल लाइफले यसअघि पनि प्रतिशेयर अंकित मूल्य घटाउने योजना बनाएको थियो । यस अघिको योजना कम्पनी ऐनमा निश्चित मूल्य तोकिएका कारण अन्योल बनेको र हाल कम्पनी ऐनले स्पष्ट व्यवस्था गरेका कारण योजना अघि बढाएको प्रसाईंको बताए । कम्पनी ऐनमा पब्लिक कम्पनीको शेयरको अंकित मूल्य रू. ५० भन्दा कम हुन नहुने व्यवस्था छ । त्यसभन्दा बढीका लागि वा १० अंकले भाग जाने त्योभन्दा बढी अंक हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुने उल्लेख छ ।

बीमा कम्पनीहरूमध्येकै सर्वाधिक चुक्तापूँजी रहेको यस कम्पनीले हाल रहेको शेयर कित्तालाई दोब्बर बनाउने भएको हो । यसले गर्दा कम स्रोत भएका लगानीकर्ताको पनि कम्पनीको शेयर खरीदमा पहुँच पुग्ने विश्वास गरिएको छ । दोस्रो बजारमा सर्वाधिक रकमको कारोबार गरिरहेको यस कम्पनीको प्रतिशेयर अंकित मूल्य घटे पनि कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ । दोस्रो बजारमा हाल कम्पनीको प्रतिकित्ता अन्तिम मूल्य रू. २ हजार ६८९ रहेको छ ।

कम्पनीको रू. ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार ८०० बराबरको ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत रहेको छ । पूँजीबजार नियामक निकायले यो क्षेत्रमा सबै नेपालीको समान पहुँच पु¥याउने उद्देश्य लिइरहेको अवस्थामा नेपाल लाइफको यो प्रयास प्रभावकारी हुने विश्वास बोर्डले गरेको छ । पूँजीबजारको हालसम्मकै इतिहासमा नयाँ विषय भएकाले नेपाल लाइफको यो प्रयासलाई व्यावहारिक बनाउन भने थप छलफल आवश्यक रहेको बोर्ड र नेप्सको भनाइ छ ।
 
कम्पनीले पनि सम्बद्ध निकायबाट स्वीकृति पाएपश्चात् मात्र यो व्यवस्था लागू गर्ने बताएको छ । नेपालमा सूचीकृत कम्पनीहरूमध्ये हाल सोल्टी होटेलको मात्र प्रतिशेयर अंकित अंकित मूल्य रू. १०० भन्दा कम छ । सोल्टी होटलको प्रतिशेयर अंकित मूल्य रू. १० रहेको छ ।

‘व्यवहारमा चुनौतीपूर्ण’
नेपाल लाइफको प्रतिशेयर अंकित मूल्य घटाएर लैजाने प्रस्ताव राम्रो रहेको जानकारहरू बताउँछन् । यसले बजारमा थप कित्ताको आपूर्ति र बजारमा कारोबारलाई सहज बनाउने पूँजीबजार अध्येता एवम् लगानीकर्ता दिलीप मुनकर्मीको भनाइ छ ।

तर, विद्यमान कारोबार प्रणालीमा प्रचलित रू. १०० अंकित मूल्यको धितोपत्र भए १० कित्ता, रू. १० अंकित मूल्यको भए १०० कित्ता तथा रू. ५० अंकित मूल्यको भए २० कित्ता कारोबार गर्नुपर्ने हुन्छ । यस अवस्थामा नेपाल लाइफको कारोबारका लागि विद्यमान प्रणालीमा २० कित्ताको व्यवस्था थप परिमार्जन र नियमन गर्नु आवश्यक पर्ने मुनकर्मी बताउँछन् ।

उनी सबै कम्पनीको प्रतिकित्ता अंकित मूल्य रू. १०० र नेपाल लाइफको रू. ५० हुँदा झुक्किने र कारोबारमा त्रुटि हुने सम्भावनालाई पनि उनी औंल्याउँछन् । यसर्थ, अहिलेको अवस्थामा अंकित मूल्य घटाउँदा रू. १० गर्न उपयुक्त हुने नभए रू. १०० मै रहनु उपयुक्त हुने धारणा उनको छ । साथै, शेयरको आपूर्तिको समस्या नरहेको नेपाल लाइफको अंकित मूल्य घटाउनुपर्ने आवश्यकता किन ? भन्ने प्रश्न धेरै उठ्ने प्रतिक्रिया पनि उनले दिएका छन् ।

पूँजीबजारका अग्रज लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले पनि नेपाल लाइफको प्रतिशेयर अंकित मूल्य रू. १० गर्न माग गर्दै आएको बताए । तर, कम्पनी ऐनको हालको व्यवस्थाका कारण आप्mनो माग पूरा हुन नसकेको घिमिरे बताउँछन् ।

दोस्रो बजारमा बढी मूल्य भएका कम्पनीहरूको शेयर खरीदमा सबैको पहुँच पु¥याउने मद्दत गर्ने नेपाल लाइफको यो प्रयास स्वागतयोग्य भएको घिमिरेको भनाइ छ ।

कम्पनीहरूले आप्mनो स्वामित्वमा रहेको शेयर टुक्र्याउने यो प्रक्रियालाई शेयर खण्डीकरण (स्प्लिट) भनिन्छ । अन्तरराष्ट्रिय मुलुकमा पनि बढी मूल्य भएका कम्पनीहरूको शेयरको कारोबार बढाउने अभ्यास स्वरूप यो प्रक्रिया अपनाउने गरिएको छ । एप्पल कम्पनीले पनि अगस्ट २०२० मा स्प्लिट गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)