ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ नाकाबाट आयात बढ्यो

२०७७ माघ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । चिनियाँ नाकाबाट हुने व्यापार विस्तारै पूर्वावस्थामा फर्किन थालेको छ । कोभिड महामारीका कारण गतवर्ष माघदेखि चिनियाँ नाका बन्द भएका थिए ।

बन्द नाका वैशाखदेखि नै खुलाउने पहल गरिए पनि पहिरोका कारण उत्तरी बाटाहरू अवरुद्ध भएकाले खुल्न सकेको थिएन । पहिरोले समस्याग्रस्त बाटाहरू निर्माण गरेपछि पनि असारपछि दैनिक पाँच कन्टेनरसम्म सामान नेपाल भित्रनेगरी गरी नाका खुलेका थिए । असोजमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा चीनसँग भएको वार्तामा आयात निर्यात बनाउने सहमति भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

माघको पहिलो सातापछि भने उत्तरी नाकाबाट हुने व्यापार बढ्दै गएको हिमालयन सीमापार व्यापार संघका सदस्य लोप्साङ शेर्पाले बताए । ‘तातोपानी नाकाबाट हाल दैनिक १६ कन्टेनरसम्म सामान आइरहेको छ,’ उनले भने, ‘रसुुवागढीबाट मुश्किलले दैनिक दुई कन्टेनर सामान आउने गरेकोमा केही दिनदेखि उक्त नाकाबाट पनि सामान आयात बढ्दै गएको छ ।’

हाल नेपाली कन्टेनर सीमा पारी जान पाएका छैनन् । चिनियाँ कन्टेनरले नै सीमावारिसम्म सामान ल्याइदिने गरेका छन् । चिनियाँ नाकाबाट कोरोना अघिको तुलनामा हाल ५० प्रतिशत सामान आयात भइरहेको व्यवसायीहरू बताउँछन् । यद्यपि, निर्यात भने अझैसम्म सुचारु हुन सकेको छैन ।

कोरोना अघिसम्म नेपाली कन्टेनर नै सीमापारि गएर सामान ल्याउने गर्थे । नेपाली कन्टेनर चीनपारि गएर सामान ल्याउँदा ७० हजारदेखि ८० हजारसम्म भाडा पर्ने गरेकोमा चिनियाँ कन्टेनरबाट सामान ल्याउन थालेपछि ढुवानी खर्च भने ह्वात्तै बढेको व्यवसायीको गुनासो छ । ‘चिनियाँ कन्टेनरबाट सामान ढुवानी गर्दा सामान्य भन्दा ५–७ गुणा बढी भाडा तिनुपर्ने बाध्यता छ,’ संघका अध्यक्ष बच्चु पौडेलले बताए । नेपाली कन्टेनरबाट सामान ल्याउन नपाउँदा ढुवानी खर्च बढेको र यातायात व्यवसायीले पनि रोजगारी गुमाउनु परेको उनको भनाइ छ । नेपाली कन्टेनरबाट सामान ल्याउन पाउने व्यवस्थाका लागि पहल गरिदिन सरकारी निकायसँग बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए ।

यसैबीच, तातोपानी नाका पुनः बन्द हुने भएको छ । भोटेकोशी नदीको बाढीले नेपाल–चीन नाकाको मितेरी पुलमा क्षति पुगेकाले मर्मतका लागि नाका बन्द हुने चिनियाँ पक्षले नेपाली र चिनियाँ व्यापारी तथा कम्पनीलाई जानकारी दिएको छ । चिनियाँ पक्षले जनवरी २० देखि एक महीनाका लागि नाका बन्द गर्ने जानकारी दिए पनि केही सातापछि मात्र मर्मतसम्भार शुरू हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)