ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय अनुदानको खोप आज आइपुग्दै

आउँदो साताबाटै लगाउन शुरू गरिने

२०७७ माघ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको पहिलो चरणको १० लाख डोज कोरोनाविरुद्धको खोप बिहीवार (आज) नेपाल आइपुग्दै छ । बुधवार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी पहिलो चरणको खोप बिहीवार नेपाल आइपुग्ने जानकारी दिएका हुन् । सोमवार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै बुधवारदेखि छिमेकी मुलुकमा खोप उपलब्ध गराउने बताएको थियो । स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी खोप आउन लागेको जानकारी गराए । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप लगाउन सबै तयारी पूरा भइसकेको जानकारी दिए । ‘भारतले दिएको कोरोनाविरुद्धको खोप अनुदान नेपाल भारत मित्रताको अनुपम उदाहरण हो,’ उनले भने, ‘खोप ल्याउनका लागि कुनै पनि कानूनी र आर्थिक जटिलता छैन ।’ खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न मन्त्रालय, कर्मचारी र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले खोप लगाउनका लागि तथ्यांक संकलन, खोप स्टोर व्यवस्थापन र खोप लगाउने विधि आदि सबै तयारी पूरा भइसकेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने योजना छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, सफाइकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकतामा राखेर ३ प्रतिशतको नाम संकलन गरिएको छ । मन्त्रालयले पुस अन्तिम साता मात्र कोरोना खोपका लागि नामावली संकलन गरेको थियो ।

सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने तयारी गरिएको बताउँदै मन्त्रालयका प्रवक्ता गौतमले प्राथमिकताका आधारमा खोप दिँदै जाने बताए । उनले भने, ‘सबै तयारी पूरा भइसकेकाले आउँदो सातादेखि नै खोप लगाउने कार्य शुरू हुन्छ ।’

खोप व्यवस्थापनका लागि खोप नियन्त्रण महाशाखाले सबै तयारी गरिसकेको बताएको छ । बिहीवार नेपाल आउने खोप भण्डारणका लागि पर्याप्त पूर्वाधार तयार भइसकेको खोप नियन्त्रण महाशाखाका प्रमुख झलक शर्मा गौतमले बताए । उनले भने, ‘खोप भण्डारणका लागि केन्द्रसहित प्रदेशमा पनि भण्डारण स्टोर निर्माण गरिसकेकोले यसमा समस्या छैन ।’

काठमाडौंबाट केन्द्रमा र केन्द्रबाट जिल्लामा खोप पठाउने गरी रेफ्रिजेरेटरसहितको भ्यान पनि तयारी अवस्थामा राखिएको उनले बताए ।

भारतले अक्सफोर्ड–अस्ट्राजेनिकाले सिरम इन्स्टिच्युटसँग मिलेर बनाएको कोभिडसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयलाई २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराउन पत्र लेखेको थियो । गत बिहीवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन गएको बेला खोप उपलब्ध गराउने विषयमा भारतसँग छलफल भएको थियो ।

गत शुक्रवार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले नेपाल आउँदै गरेको कोभिडसिल्ड खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । खोप परीक्षणकै क्रममा रहेकाले यसको प्रभावकारिता र असरबारे भन्न नसकिने जनस्वास्थ्यविद्को भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)